नेपालगन्जः रोल्पा माडी गाउँपालिका वडा नंं २ घर्तिगाउँकी गौमती घर्ती मगर दुई वर्षदेखि खुट्टा दुख्ने समस्याले पीडित थिइन् । स्थानीय स्वास्थ्य संस्थामा गएर देखाइन् । स्वास्थ्यकर्मीले औषधी पनि दिए । तर दुखाईको पीडा कम भएन् । पीडा झन बल्झदै गयो । ३७ वर्षीया गौमतीको देव्रे साइडको खुट्टामा नसा छाला बाहिरै गुजुल्टो अर्थात फुलिएको थियो ।
जिल्लामा उपचार सम्भव नभएपछि उनी थप उपचारका लागि घोराही झरिन् । त्यहाँका चिकित्सकहरुले शल्यक्रिया गर्न सुझाव दिए । गौमतीलाई लिएर उनकी दिदी नाता पर्ने रश्मी बुढामगर नेपालगन्ज आइन् । नेपालगन्जको न्यूरो हस्पिटलमा उनको सफलतापूर्वक लेजर प्रविधिबाट शल्यक्रिया गरिएको छ । ‘शल्यक्रिया नगर्दा उठ्न वस्नै गाह्रो थियो उनले स्वास्थ्य पेजलाई भनिन् -‘अहिले बहिनीको स्वास्थ्य अवस्था सुधार भएको छ ।’
शरीरको बाहिरी छालाबाटै नसा फुल्लिएको वा गुजुल्टिएको देखिने यो समस्यालाई मेडिकल भाषामा ‘भेरिकोज भेन’ भनिन्छ । यस्तो समस्या अक्सर ट्राफिक, सेक्युरिटी गार्ड, नर्स, सेफ, वेटर, शिक्षक आदिमा हुने जोखिम बढी हुन्छ । यही रोगले पीडित घर्तिको न्यूरो हस्पिटलमा सफलतापूर्वक शल्यक्रिया गरिएको वरिष्ठ कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. निरज भट्टराईले स्वास्थ्य पेजलाई बताए ।
शल्यक्रियाको नेतृत्व गरेका भट्टराईका अनुसार यो शल्यक्रियालाई चिकित्सकीय भाषामा इन्डोभास्कुलर लेजर एब्लेसन (इभिएलए) भनिन्छ । उनका अनुसार लेजर प्रविधिबाट गरिएको यो शल्यक्रिया पश्चिम नेपालमै पहिलो हो । डा. भट्टराईको नेतृत्वमा, एनेस्थेसियोलोजिस्ट डा.अशोक गौतम लगायत स्वास्थ्यकर्मीहरु संलग्न थिए । लेजर प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीलाई त्यसैदिन डिस्चार्ज गर्न सकिने डा. भट्टराई बताउँछन् ।
के समस्या हो यो ?
पिँडुला वा छालाको कुनैपनि सतहमा गाढा निलो(हरियो रङको नसा फलेको देखिन्छ । झट्ट हेर्दा यो गँड्यौला जस्तै गुजुमुज्ज परेको हुन्छ । यस्तो समस्या खासगरी पिँडुलामा हुन्छ। यद्यपि शरीरको अन्य भागमा पनि हुनसक्छ । प्रायस्जसो निरन्तर रुपमा ७ देखि ८ घण्टासम्म उभिएर वा लामो समय बसेर काम गर्नेमा यो समस्या देखिने भएकोले यसलाई पेशागतजन्य रोग पनि भन्ने गरिन्छ । पेशागतजन्य रोगमध्ये एक हो, भेरिकोज भेन ।
कसलाई हुनसक्छ ?
प्रायजसोः लामो समयसम्म उभिएर वा बसेर काम गर्ने पेशामा आवद्ध हुने मालिसहरुमा भेरीकोज भेनकोे समस्या देखिन्छ । जस्तैः सेक्युरिटी गार्ड, सैनिक, प्रहरी, ट्राफिक, शिक्षक, नर्स, डाक्टर, बैंक वा कर्पोरेट अफिसमा काम गर्ने व्यक्ति, रेष्टुरेन्ट तथा होटलमा काम गर्ने सेफ, वेटर, भरिया जस्ता लामो समयसम्म उभिएर वा निरन्तर रुपमा बसेर काम गर्नुपर्ने पेशाका व्यक्तिहरुमा धेरैजसोमा कालान्तरमा यो समस्या देखा पर्दछ।
यी बाहेक गर्भवती महिलामा हर्मोनमा गडबडी र पेट ठूलो भएर तल्लो भागको नसा च्याप्पिँदा पनि नसाहरु फुल्ने समस्या देखिन्छ । साथै, वृद्ध अवस्थामा, कब्जियत भैरहने, वंशाणुगतको कारणले पनि यो समस्या देखिन्छ । अन्य अवस्थाहरुमा रगत जम्ने समस्या र असामान्य रक्तनलीहरु भएकामा पनि यो रोग देखा पर्न सक्छ।
प्रायः यो ४० वर्ष उमेर कटेकामा जोखिमपूर्ण हुनसक्छ । तर, हर्मोनको समस्या र उभिएर काम गर्ने महिलालाई ४० वर्ष उमेर अगावै पनि देखिन सक्छ ।
लक्षणहरु
– खुट्टा हल्का सुन्निनु, खुट्टाको मांसपेशी बाँउडिनु, झमझमाउनु
— पिँडुला फर्किनु,
— खुट्टामा पोलेको महसुस हुनु
— रातिको समयमा खुट्टामा दुखाई महसुस हुनु
— खुट्टा भारी हुनु
— छाला सुख्खा हुँदै पातलो हुनु
— खुट्टाको छाला चिलाउनु, छालाको रङ्गमा परिवर्तन भई कालान्तरमा कालोपन देखिनु वा घाऊ हुनु
के छ उपचार ?
यस्ता समस्या देखिएमा पहिचानको लागि अल्ट्रासाउन्ड गराउनुपर्छ । अल्ट्रासाउन्डबाट सतही नसा र भित्री नसाको अवस्था कस्तो छ ? कति बिग्रिएको छ ? कति बाङ्गोटिङ्गो छ ? त्यो सबै पत्ता लगाउन सकिन्छ । पहिचानबाटै उपचारको योजना अघि बढ्छ ।
भेरीकोज भेनको उपचार पहिला शल्यक्रियाबाट मात्र सम्भव हुन्थ्यो । जहाँ छालालाई चिरेर गुजुल्टिएको तथा अनावश्यक नसालाई तानेर निकालिन्थ्यो । चिरफारबाट गरिने उपचारले विरामीहरुमा केहि जटिलताहरु देखापर्ने, घाऊ निको हुन समय लाग्ने, कुनै विरामीहरुको नसाहरुमा रगत जम्ने, उपाचार पछि काममा चाँडै फर्कन सहज नहुने जस्ता समस्या हुन सक्छन् ।
तर, पछिल्लोसमय भेरिकोज भेनको लागि सबैभन्दा प्रभावकारी उपचार लेजर पद्धति बन्दै गएको छ । यसमा बिना कुनै चिरफार भेरिकोज भेनको जरैसम्म उपचार सम्भव हुन्छ ।