नेपालगन्जः बाँकेमा मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्न स्वास्थ्यकर्मीहरु आजदेखि घरघरमा खटिएका छन् ।
महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले लुम्विनी प्रदेश सरकारले बाँकेसहित पाल्पा र अर्घाखाँची जिल्लामा पाइलटिङ् कार्यक्रमका रुपमा पारिवारिक स्वास्थ्य विवरण संकलन गर्न सुरु गरेको हो ।
पारिवारिक स्वास्थ्य विवरण संकलन गर्न आजदेखि बाँकेका ८ वटा पालिकाका ८१ वटै वडामा १६२ जना स्वास्थ्यकर्मी खटिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले ४० दिन लगाएर जिल्लाका १ लाख २९ हजार २३४ घरधुरीमा पुगेर विवरण संकलन गर्नेछन् । यो २०७८ सालको जनगणना अनुसारको घर संख्याको तथ्यांक हो ।
घरघरमा पुग्ने स्वास्थ्यकर्मीहरुले घरमुलीको विवरणसहित मुख्यगरी गर्भवती, सुत्केरी र दुई वर्ष मुनिका बालबालिकाहरुलाई बढी प्राथमिकता दिनेछन् । उनीहरुको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने र मातृ तथा शिशु मृत्युदर रोक्ने यो अभियानको मुख्य उद्देश्य रहेको श्रेष्ठको भनाइ छ ।
घरघरमा आउने स्वास्थ्यकर्मीहरुलाई विवरण उपलब्ध गराएर सहयोग गर्न पनि श्रेष्ठले आग्रह गरेका छन् । पारिवारिक स्वास्थ्य विवरण संकलन गर्नका लागि घरघरमा खटिने स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिएको छ ।