गर्भावस्थामा सानोदेखि ठूला समस्या सबै देखिन्छन्। केही यस्ता समस्या हुन्छन् जो सबैजसो गर्भवतीलाई देखिन्छ। अर्थात् सामान्य र स्वस्थ गर्भावस्थामा समेत देखिने केही समस्या छन्। जसको उपचार हामी आफैले गर्न सक्छौं।
गर्भावस्थामा आउने समस्यालाई हामीले पहिलो तीन महिना, बीचको तीन महिना र अन्तिमको तीन महिना गरेर विभाजन गर्न सकिन्छ।
पहिलो तीन महिनामा बिरामीलाई हुने समस्या भनेको खान मन नलाग्ने र वाकवाक लाग्ने हो।
सकेसम्म वान्ता रोक्ने औषधि खान हुँदैन। बरू सुख्खा, गुलियो खाना खाने अलिअलि खाने अनि धेरैपटक खाइरहने गर्नुपर्छ। एकैचोटि धेरै खाएमा तत्कालै बाहिर निस्किन सक्छ।
सुरूआती तीन महिनामा बच्चाको विकासको लागि खानुपर्ने धेरै हुँदैन। अलि अलि गुलियो खाएर आफ्नो शरीरलाई सन्तुलनमा राख्दा हुन्छ। पेटको बच्चा साह्रै सानो हुने भएकाले धेरै खान जरूरी पर्दैन। बिरामीले सुख्खा खाने हो, गुलियो खाने हो अनि खाइरहने हो।
कब्जियत पनि धेरैलाई हुन्छ। धेरैले दिसा भएको छैन कडा भइरहेको छ भनेर भनेका हुन्छन्। त्यस्तो छ भने सकेसम्म फाइबर र झोलिलो खाना खानुपर्छ। त्यसले पनि सहज भएन भने चिकित्सकको सल्लाहमा कब्जियत नगराउने औषधि खान सकिन्छ। त्यसले गाह्रो हुँदैन अनि दिसा पनि सहज तरिकाले हुन्छ।
अर्को भनेको ढाड दुख्ने समस्या हुन्छ। त्यसको लागि एउटै पोजिसनमा बस्ने अनि सुत्ने गर्न हुँदैन। साह्रै गाह्रो भयो भने विभिन्न खालका मल्हम र स्प्रेको प्रयोग गर्न सकिन्छ।
कहिले कहिले रगत देखिन सक्छ। यो राम्रो लक्षण होइन। रगत देखिने, धेरै पेट दुख्ने, गाह्रो हुने भएको छ भने चिकित्सकको सल्लाहमा अल्ट्रा साउण्ड गर्ने अनि आवश्यक उपचार गर्ने लगायत गर्नैपर्छ।
बीचको तीन महिना गर्भवतीलाई एकदमै सहज हुन्छ। बिरामीलाई म गर्भवती छु भन्ने अनुभव नै हुँदैन। त्यो बेलामा सामान्य काम गर्ने अनि खाना खान हुन्छ। धेरैलाई निम्न रक्तचाप हुने, रिंगटा लाग्ने लगायतका सामान्य समस्या देखिन्छन्। यस्तो हुनु राम्रो संकेत हो। यस्तो हुनेहरूलाई पछि उच्च रक्तचापको समस्या हुने सम्भावना कम रहन्छ। अन्तिमको तीन महिना एकदमै जटिल समय हो।
सबभन्दा महत्वपूर्ण समय त्यही हो। तपाईंलाई आराम र बिदा चाहिने भनेको अन्तिमको तीन महिना हो। यही समयमा बच्चाको विकास राम्रो हुन्छ। जति आराम गर्नुहुन्छ, जति उच्च प्रोटिन खानुहुन्छ बच्चालाई त्यति राम्रो हुन्छ। सुत्केरीको सुधार त आफै पनि यत्तिकै भइहाल्छ।
कहिले कहिले हिँड्न गाह्रो हुने, खुट्टा दुख्ने, ढाड दुख्ने अनि खुट्टा मर्किने हुन्छ। क्याल्सियम खाने र सन्तुलित भोजन गर्नेहरूलाई सामान्यत समस्या हुँदैन। एकैचोटि लामो समय एकै ठाउँमा नबस्ने अनि सुत्दा पनि उत्तानो नपर्ने, कोल्टो परेर सुत्न पर्छ। जेहोस् आफ्नो पोजिसन बदलिरहनु पर्छ। खुट्टा सुन्निने पनि अर्को समस्या हो। बस्दा पनि अर्को कुर्सीमा खुट्टा राखेर बस्नुपर्छ। यदि तपाईंको खुट्टा सुन्निरहेको छ भने टाउकोको तल एउटा र खुट्टाको तल दुइटा सिरानी राख्नुपर्छ। खुट्टा उठाएर सुत्यो भने सुन्निने समस्या कम हुन्छ।
सुन्निने समस्या छ भने प्रेसर धेरै हुनसक्छ त्यसैले प्रेसरको परीक्षण गरिरहनुपर्छ। प्रेसर धेरै छ भने पिसाबको परीक्षण गर्नुपर्छ भने चिकित्सकको सल्लाहमा उच्च रक्तचापको औषधि लिनुपर्छ। अर्को मधुमेहको परीक्षण गर्नुपर्छ। यदि मधुमेह छ भने गुलियो खाना खाना कम खाने, प्रोटिन भएको खाना खाने गर्नुपर्छ। यति गर्दा पनि सुगर कम नभएमा चिकित्सकको सल्लाहमा औषधि खानुपर्छ।
कहिलेकाहीँ पेट दुख्न थाल्यो भने तत्कालै चिकित्सकलाई भेट्नु पर्छ। थाइरोइडको पनि परीक्षण गर्नुपर्छ। अन्तिममा रगतको सबै खाले परीक्षण गरिन्छ।अन्तिमको तीन महिनामा बच्चाको मस्तिष्क विकास हुने भएकाले प्रोटिन भएका खाना धेरै खानुपर्छ।
कतिपयलाई रिस उठ्ने, रिंगटा लाग्ने हुन्छ। पहिलो तीन महिना र अन्तिमको तीन महिनामा छिनछिनमै गर्भवतीको ‘मुड स्विंग’ हुने हुन्छ। यस्तो अवस्थामा श्रीमान र घरका परिवारले साथ दिनुपर्छ। कहिले रून मन लाग्ने, कहिले यो गर्छु, त्यो गर्छु लगायतका समस्या हुनसक्छ। त्यो बेलामा भावनात्मक साथ चाहिन्छ।