बैतडीः बैतडीमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट क्षयरोग जाँच सुरु भएको छ । एआईले सुर्नया गाउँपालिकामा चार जना, पुर्चौडी नगरपालिकामा तीन जना र बैतडी कारागारका दुई जना बन्दी गरि नौ जना क्षयरोगी पत्ता लगाएको छ ।
थपिएका नयाँ बिरामीसँगै बैतडीमा १०७ जना क्षयरोगी उपचारको दायरामा आएका छन् । क्षयरोग पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बोकेर पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकामा खटिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताए।
उनले भने “आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेको डिजिटल कम्प्युटर रोबर्ट हो । यसले मानिसको एक्स–रे गरेर सम्भावित क्षयरोग पत्ता लगाउँछ । एआईले एक्स–रेबाटै सम्भावित बिरामीको पहिचान गर्छ । सुदूरपश्चिम प्रदेशमा यस्तो एआई उपकरण प्रदेश स्वास्थ्य निर्देशनलायमा मात्रै छ ।”
एआईले पत्ता लगाएका सम्भावित क्षयरोगीको दोश्रो चरणमा खकार परीक्षण गरेर बिरामीको निःशुल्क उपचार सुरु भएको उनले बताए । क्षयरोगीको खोजपड्तालका लागि एआईको प्रयोग गर्न दक्ष जनशक्तिसहित स्वास्थ्यकर्मीको टोली बैतडी र बझाङका गाउँमा घुमिरहेको प्रदेश स्वास्थ्य निर्देशनायका क्षयकुष्ठरोग अधिकृत मनोज ओझाले बताए । उनले यही चैत २४ गतेदेखि बैतडी र बझाङमा क्षयरोग खोजपड्ताल भइरहेको बताए ।
बझाङमा पनि क्षयरोगका बिरामी नियमित उपचारमा भएकाले थप रोगीको पहिचान गर्न स्वास्थ्यकर्मीको टोली बझाङको थलारा पुगेको उनले बताए । बझाङमा १०५ जना क्षयरोगी नियमित उपचारमा रहेका छन् । क्षयरोगको औषधी नियमित सेवन गरे निको हुने बताइएको छ । यद्यपि स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरि १३ जनाको मृत्यु भएको छ ।
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमख तिर्थराज भट्टले बताए। क्षयरोग पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली गाउँमा परिचालन भए सबै मौसमी रोजगारीका लागि भारत गएका मानिस खोजपड्तालको दायरामा आउन नसकेको उनले बताए।
उनले भने “लक्षण देखिएका बिरामी आफै पनि स्वास्थ्य संस्थामा आउन अपिल गरेका छौं । दुई हप्तासम्म लगातार खोकी लाग्नु, छाती दुखेर स्वाश फेर्न गाह्रो हुनु, तौल घट्नु वा थकाइ लाग्नु, रगतसहित वा रहित खकार खोक्नु, साँझ पख हल्का ज्वरो र पसिना आउनु जस्ता लक्षणदेखिएमा क्षयरोग हुन् ।” एक जना क्षयरोगीले घरपरिवार र समुदायलाई सङ्क्रमित बनाउन सक्ने भएकाले रोगी पत्ता लगाउन ठुलो उपलब्धि मानिने उनले बताए ।