२ हजार बढी आवासीय चिकित्सक सेतो कोट लगाएर सडकमा

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०८१, मंगलवार

नेपालगन्जः देशभरका करीव २ हजार बढी आवासीय चिकित्सक सेतो कोट लगाएर आन्दोलनमा उत्रिएका छन् । निर्वाह भत्ता कार्यान्वयनको माग गर्दै उनीहरु सडकमा आएका हुन् । काठमाडौंको किष्ट र नेपाल कलेजका चिकित्सक माइतीघर मण्डलमा आन्दोलतरत छन् भने चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्स चितवन,नेपालगञ्ज मेडिकल कलेज र लुम्बिनी लगायतका मेडिकल कलेजका चिकित्सक आफ्नै अस्पताल अगाडि धर्ना र र्‍याली गरेर आन्दोलन चर्काएका छन् । सरकारले निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।

तर, चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले गरेको उक्त निर्णय दुई महिना बितिसक्दा पनि निजी मेडिकल सञ्चालक मान्न तयार भएका छैनन् । बरु उल्टै निजी मेडिकल सञ्चालकले चिकित्सकलाई डर, धम्कीको भाषा प्रयोग गर्दै निर्वाह भत्ताको विषयलाई लिएर कलेज विरुद्ध बोल्यौं भने सिधै फेल गराइदिन्छौं भन्दै धम्की दिने गरेको आवासीय चिकित्सकहरुको गुनासो छ । निजी मेडिकल कलेजको धम्की, त्रासको घेरालाई तोड्दै देशभरिका १७ वटा मेडिकल कलेजका आवासीय चिकित्सक सडक आन्दोलनमा उत्रिएका छन् ।

निर्णय भएको दुई महिना बित्तिसक्दा पनि कार्यावन्यन नभएको भन्दै देशभरिका करिब २ हजार आवासीय चिकित्सक सेतो कोट लगाएर सम्पूर्ण सेवा बहिष्कार गर्दै माइतीघर मण्डल, चिकित्सा शिक्षा आयोग र मेडिकल कलेज बाहिर धर्ना दिएर आन्दोलनमा शसक्त बनाउँदै लगेका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता उपलब्ध नगराउँदा सम्म आन्दोलनलाई सशक्त बनाउँदै लैजाने उनीहरुको चेतावनी छ । यतिबेला आवासीय चिकित्सकको लडाइँ नै निजी मेडिकल विरुद्धको हो ।

डाक्टरको करिअरमा रेसिडेन्सी नै सबैभन्दा गाह्रो समय हो । एमबीबीएस पास गरेर एक वर्ष इन्टर्न गरेका डाक्टरले पोस्ट ग्र्याजुएट (पीजी) गर्न सक्छन् । विधाअनुसार ३ देखि ७ वर्ष अवधि हुन्छ । चिकित्साशास्त्रमा स्नातकोत्तरको पढाइ आफैंमा प्रयोगात्मक हुन्छ । पूर्णकालीन चिकित्सकलेझैं बिरामीको उपचार गर्दै अध्ययन गरिन्छ । आवश्यकताअनुसार सिनियर चिकित्सकको निगरानीमा पनि सिकाइने गरिन्छ ।

सरकारको निर्णय कुल्चिँदै निजी मेडिकल कलेज, पीजी नपढाउने चेतावनी चिकित्सा शिक्षाको स्नातकोत्तर तह अध्ययन गरिरहेका आवासीय चिकित्सकले अस्पताल भर्ना भएका र आकस्मिक उपचारका लागि आएका बिरामीको स्वास्थ्य जाँच गर्ने, भर्ना गर्ने, विभिन्न वार्डमा जिम्मेवारी लिएर काम गर्नुपर्ने, डिस्चार्ज गर्ने लगायत काममा निरन्तर खटिनुपर्छ । बिरामी भर्ना गरेर राख्नुपर्ने इन प्यासेन्ट वार्ड र सर्जरी सेवा विभागहरूमा कार्यरत आवासीय चिकित्सकले बढी समय ड्युटी गर्नुपर्छ ।

  • २५ चैत्र २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech