गुल्मी अस्पताल निर्माणको काम अत्यन्तै सुस्त

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०८१, मंगलवार

तम्घासः गुल्मी अस्पतालको भवन निर्माण कार्य दुई वर्षमा सक्नुपर्नेमा चार वर्ष हुँदासमेत सम्पन्न हुन सकेको छैन । दुई वर्षमा निर्माण कार्य सक्नुपर्ने सम्झौता भए पनि करिब चार वर्ष बित्न लाग्दा ८४ प्रतिशत मात्रै काम सम्पन्न भएको निर्माण व्यवसायीको भनाइ छ ।

पुनर्निर्माण प्राधिकरण र स्वच्छन्द–बानियाँ जेभी हेटौँडा मकवानपुरबिच २०७८ साल असार १८ गते सम्झौता भई २०८० साल असार १७ गतेसम्म २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँको लागतमा सम्पन्न गर्ने उल्लेख थियो ।

सुविधासम्पन्न साढे पाँच तलाको भवन २०८२ असार मसान्तसम्म सक्ने गरी समयावधि थप भएकाले सोही समय अवधिमै कार्य सम्पन्न गर्ने गरी लागेको निर्माण व्यवसायीको भनाइ छ ।

भवनको सबै तलाको ढलान सकेर अहिले फिनिसिङ र वायरिङलगायतका काम भइरहेका छन् । चिसो मौसम, पानी परिरहने, सुरुमा कोभिड लहर, निर्वाचनको समयमा डन्डीको उच्च मूल्यवृद्धि र केही समय गिट्टी बालुवाको अभावका कारण समयमै काम सम्पन्न गर्न नसकिएको निर्माण व्यवसायीका इन्जिनियर आदित्य नारायण ठाकुरले जानकारी दिए। अबको दुई महिनाभित्रमा भवन निर्माणको कार्य गर्ने गरी आफूहरू लागेको उनको दाबी छ ।

गुल्मी अस्पतालमा रहेका भवन साना र सेवाग्राहीमैत्री नहुँदा समस्या हुँदै आएको छ । भवनलाई जति सक्यो छिटो सम्पन्न गर्न नियमित खबरदारी गर्दै आएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताए ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न गर्न नसकिएको उनको भनाइ छ । गुल्मी अस्पताल तम्घास २०७१ सालमा ५० शय्यामा स्तरवृद्धि भएको थियो । भौतिक संरचनाको अभावमा पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।

  • १८ चैत्र २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech