युवा अवस्थामा सुगर रोग (मधुमेह) हुनेको संख्या बढ्दै गएको देखिएको छ। यसो हुनुका विभिन्न कारण छन्। पहिलो कारण वंशानुगत हो। अर्को कारण नकारात्मक अटो–इम्युन (स्वप्रतिरक्षा) हो। धेरै तनाव र दुर्व्यसनले पनि सुगर रोग हुन्छ। अस्वस्थकर खानपिन पनि अर्को कारण हो।
तनावपूर्ण जीवनशैलीमा निद्रा कम हुन्छ र इन्सुलिनले राम्ररी काम गर्न सक्दैन। यसो भयो भने युवा अवस्थामै मधुमेह हुन सक्छ। अहिले युवाहरूमा यस्तै अवस्था देखिन थालेको छ।
आजकाल मधुमेहप्रति जनचेतना निकै बढेको छ। यससँगै परीक्षण गराउने र रोग पत्ता लाग्ने क्रम पनि बढेको छ। परिवारमा कसैलाई सुगर रोग भएको छ भने अन्य सदस्यलाई पनि युवावस्थामै हुन सक्छ।
मधुमेह केही समय हुने र हराउने रोग होइन। एकपटक देखिएपछि कोषिकाभित्र बसिरहने एक किसिमको समस्या हो। यो समस्यालाई एउटा साथीका रूपमा मानेर नियन्त्रणमा राख्नुपर्ने हुन्छ। मधुमेह नियन्त्रणका लागि विभिन्न उपाय अपनाउन सकिन्छ।
रगत परीक्षण गरेर सुगर (चिनी) को मात्र थाहा पाउनुपर्छ। आवश्यकभन्दा धेरै चिनी छ भने चिकित्सकको सल्लाहमा औषधि खानुपर्छ। समयमै उपचार भएन भने शरीरका अंगहरूले काम नगर्ने हुन सक्छ। मधुमेह देखिनासाथ उपचार सुरू गर्नुपर्छ। खानपिन सुधार गरेर पनि नियन्त्रण गर्न सकिन्छ।
शरीरमा सुगर नियन्त्रण भएपछि व्यायामबाट र खानपिन सुधार गरेर औषधि छोड्न सकिन्छ।
सामान्यतया १६ देखि ४० वर्षसम्म युवा अवस्था मान्दा यो उमेर समूहमा पनि सुगर रोग देखिन थालेको छ। मैले आठ वर्ष उमेरको बालकको पनि उपचार गरेको छु। उनलाई वंशानुगत कारणले मधुमेह भएको थियो।
अस्वस्थकर खानपिन र मोटोपनका कारणले३५ वर्षकै उमेरमा ‘टाइप–टू’ मधुमेह हुन थालेको छ। शरीरमा इन्सुलिन रस नबनेका कारणले भएको मधुमेह ‘टाइप–वान’ हो। शरीरमा इन्सुलिन बनेर पनि काम गरेन भने टाइप–टू मधुमेह हुन्छ।
कसैलाई मधुमेहको लक्षण छ र परिवारको अर्को कोही सदस्यलाई पनि भएको छ भने १० वर्षकै उमेरमा परीक्षण सुरू गर्नुपर्छ। तपाईं तन्दुरूस्त हुनुहुन्छ, खानपिन स्वस्थकर छ र धेरै तनावमा हुनुहुन्न भने ३० वर्ष कटेपछि वर्षमा एक पटक परीक्षण गराउनुपर्छ।
आफू मधुमेहको जोखिममा रहेको वा नरहेको आफै पनि थाहा पाउन सकिन्छ। धेरैपटक पिसाब लाग्ने, पिसाब फेरेको ठाउँमा कमिला आउने, पिसाबमा संक्रमण हुने र छालामा पनि संक्रमण हुने समस्या छ भने तपाईंलाई मधुमेहको लक्षण देखिएको मान्नुपर्छ। यस्तो अवस्थामा कम्तीमा तीन–तीन महिनामा परीक्षण गराउनुपर्छ।
मधुमेह भएपछि अब सबै सकियो भनेर सोच्नु हुँदैन। खानामा ध्यान पुर्याउनुपर्छ। व्यायाम गर्नुपर्छ। एउटै औषधिले पनि नियन्त्रण गर्न सकिन्छ। कहिलेकाहीँ व्यायाम र खानपिन सुधारले मात्र पनि नियन्त्रण गर्न सकिन्छ।
घरपरिवारको साथ र सहयोग हुनेले खानपिन र उपचारमा सहयोग पाउँछन्। यस्ता व्यक्तिको मधुमेह नियन्त्रण गर्न अलिक सजिलो हुन्छ। घरपरिवारको सहयोग नपाउने वा एक्लै हुनेलाई समस्या पर्न सक्छ।
मुख्य कुरा, अनुशासित जीवनशैलीका साथ सुगर रोगलाई साथ लिएर हिँड्न सकियो नियन्त्रण गर्न सकिन्छ। दैनिक २० मिनेट साधारण कसरत गर्न सक्दा मधुमेहले धेरै दुःख दिँदैन।