हुम्लाः ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूले चार महिनायता आफ्नो ग्रामीण अल्ट्रासाउन्ड हुन नपाएको गुनासो गरेका छन् । प्रत्येक दुई महिनामा गर्नु पर्ने सो कार्य गत पुस महिना पनि हुन नपाएको गुनासो गर्भवती महिलाको रहेको छ ।
सिमकोट गाउँपालिका– २ की गर्भवती महिला धनशोभा बोहराले चार महिनादेखि आफ्नो गर्भको अल्ट्रासाउन्ड गर्ने कार्य हुन नपाएको बताइन् । आफ्नो गर्भमा रहेको शिशुको अवस्था कस्तो छ भन्ने कुरा जानकारी पाउनका लागि यो कार्य विगतदेखि हुँदै आएकोमा यस पटक हुन नपाएकोमा चिन्ता लागेको उनले बताइन् । सिमकोट गाउँपालिकाले प्रत्येक दुई महिनामा ग्रामीण अल्ट्रासाउन्ड गर्ने जनाएको थियो ।
यता वडा नम्बर २ को बरगाउँ स्वास्थ्य चौकीमा दुई जना गर्भवती रहेको र उनीहरूको पनि ग्रामीण अल्ट्रासाउन्ड गर्ने कार्य हुन सकेको छैन । वडा नम्बर ७ को डाँडाफया स्वास्थ्य चौकीका प्रमुख सन्तोष बोहराले पनि आफ्नो क्षेत्रभित्र पर्ने गर्भवतीको अल्ट्रासाउन्ड गर्ने कार्य रोकिएको बताए। उनको स्वास्थ्य चौकी अन्तर्गत १८ जना गर्भवती महिलाहरू रहेको पनि बताए ।
अल्ट्रासाउन्ड गर्न प्रत्येक पटक जिल्लाबाट आउनु पर्ने बाध्यताबाट छुटकारा दिनका लागि अब स्वास्थ्य चौकीका नर्सिङ स्टाफलाई तालिम दिएर दक्ष बनाई यो काम सुचारु गर्नुपर्ने उनको भनाइ छ । यता वडा नम्बर ८ को स्याँडा स्वास्थ्य चौकीका प्रमुख लवी रावतले पनि यो काम नभएको बताउँदै गर्भवती महिलाबाट गुनासो आई रहेको बताए ।
गाउँ गाउँका स्वास्थ्य चौकीमा तालिम प्राप्त स्वास्थ्यकर्मी पुगेर गरिने अल्ट्रासाउन्ड कार्य कर्मचारीको अभावको कारण रोकिएको बताउँदै सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए । उनले जनशक्तिको व्यवस्था गर्ने कार्य भई रहेको र अब तत्काल रोकिएको अल्ट्रासाउन्ड पुन सुचारु गरिने बताए ।