के हो हड्डीको क्यान्सर ? लक्षण र उपचार

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०८१, आईतवार

हड्डीमा रहेका कोषको असामान्य वृद्धिलाई परम्परागत रूपमा गैरक्यान्सर (चिकित्सा भाषामा बिनाइन) र क्यान्सर खाले (चिकित्सा  भाषामा मेलिग्नेन्ट) गरी दुई वर्गमा विभाजित गरिएको हुन्छ ।

यसै गरी हड्डी आफैँबाट पलाउने क्यान्सरलाई प्राथमिक कोटामा राखिन्छ । अन्यत्रबाट हड्डीमा फैलिएको क्यान्सरलाई द्वितीय कोटामा राखेर उपचार गरिन्छ । प्राथमिक प्रकारको हड्डीको क्यान्सरभन्दा सयौँ गुणा बढी द्वितीय प्रकारको हड्डीको क्यान्सर हुने गर्छ । अन्य क्षेत्रबाट फैलिएर हड्डीमा आउने क्यान्सरमा प्रायः फोक्सो, स्तन, थाइरोइड, मिर्गौला र प्रोस्टेट क्यान्सर पर्छन् ।

हड्डीको क्यान्सर लाग्दा गिर्खा आउने, पीडा (दुखाइ) हुने, हड्डीको सङ्कुचित स्थानमै ट्युमर पलाउने भएकाले ट्युमरको चापका कारण स्नायुजन्य लक्षण देखा पर्छन् । लक्षण प्रायः चापको असरले नै देखिने गर्दछ । पीडा (दुखाइ) पनि राति वा आरामका बेला बढी हुन्छ तर कसै कसैमा बिनाकारण वा सामान्य चोटबाटै एक्कासि हड्डी भाँचिन सक्छ । किनकि क्यान्सर प्रभावित हाड सानोतिनो चोटले सजिलै भाँचिने गर्छ ।

हड्डीको क्यान्सरका अरू लक्षणमा अन्य क्यान्सरमा जस्तै आलस्य लाग्ने, थकान हुने, ज्वरो आउने, तौल घट्दै जाने, रक्तअल्पता हुने, वाकवाकी लाग्ने हुन सक्छ । कतिपय बिरामीमा लक्षण खासै देखा पर्दैन तर अन्य रोग वा स्वास्थ्य समस्याको जाँच गर्दा यो क्यान्सर पत्ता लाग्छ ।

हड्डीको क्यान्सर सबैभन्दा बढ्ता घुँडाको जोर्नी वरिपरिको हड्डी अर्थात् तिघ्राको तल्लो भाग तथा गोडाको माथिल्लो भागको हड्डीमा हुने गर्छ । हड्डीको क्यान्सर शरीरका अन्य हड्डीमा पनि हुन सक्ने भएकाले यस क्यान्सरका लक्षण हड्डीको क्यान्सरको प्रकार र प्रभावित हड्डीको भाग अनुसार फरक फरक हुन सक्छ ।

हड्डीको क्यान्सरको निदान प्रायः सम्बन्धित भागको एक्सरे र अन्य रेडियोइमेजिङ परीक्षण (सिटी स्क्यान, एमआरआई), पेट स्क्यान, हड्डीको सिन्टीग्राफी, रगतको पूर्ण जाँच, सुजन सङ्केतको परीक्षण, रगत अर्थात् सिरमको इलेक्ट्रोफोरेसिस, पिएसए (प्रोस्टेट स्पेसिफिक एन्टिजेन) एवं मिर्गौलाको काम गराइ तथा कलेजोको काम गराइसम्बन्धी रगत जाँचबाट गरिन्छ ।

त्यसै गरी पिसाबमा बेन्स जोन्स नामक प्रोटिनको उपस्थिति छ छैन पनि हेरिन्छ । कतिपय हड्डीको क्यान्सरको निदानका लागि सिटी, एमआरआई नै प्रभावकारी हुन्छ । उदाहरणका लागि इविङ सार्कोमा । गामा स्क्यान सिन्टीग्राफी एक प्रकारको न्युक्यिर इमेजिङ प्रविधि हो । जसमा विकिरणका हिसाबले सक्रिय तत्व (रेडियोएक्टिभ सब्सट्यान्स) शरीरमा पठाई शरीर पूरैको एक्सरे जस्तै तस्बिर लिइन्छ । इलेक्ट्रोफोरेसिस भन्ने प्रविधिमा कुनै पनि शारीरिक कोषको आकार (साइज) एवं त्यसको इलेक्ट्रिक चार्जका आधारमा डिएनए, आरएनए वा प्रोटिन तत्व छुट्याइन्छ ।

सिन्टीग्राफी र इलेक्ट्रोफोरेसिस यी दुवै प्रविधि हड्डीको क्यान्सर पत्ता लगाउन उपयोग गरिन्छ । हड्डीको क्यान्सरको सुनिश्चितता भने क्यान्सर प्रभावित हड्डीको भागबाट लिएको बायोप्सीबाट गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको नयाँ वर्गीकरण अनुसार हड्डीको क्यान्सरलाई कार्टिलेज ट्युमर, ओस्टिओजेनिक ट्युमर, फाइब्रोजेनिक ट्युमर, हड्डीको भास्कुलर ट्युमर, ओस्टिओक्लास्टिक जायन्ट सेलयुक्त ट्युमरका साथै नोटोकर्डल ट्युमर, मेजेन्काइमल ट्युमर, हड्डीको हेमोपोइटिक नियोप्लाज्म भनी छुट्याइएको छ । यसमध्ये बिनाइन खालको हड्डीको ट्युमरमा ओस्टिओमा, ओस्टिओइड ओस्टिओमा, ओस्टिओकोन्ड्रोमा, जायन्ट सेल अफ बोन (हड्डी), एन्युरिज्मल बोन सिस्ट पर्छन् भने मेलिग्नेन्ट (अर्थात् क्यान्सर खालको) प्राथमिक हड्डीको क्यान्सरमा ओस्टिओसार्कोमा, कोन्ड्रोसार्कोमा, इविङ सार्कोमा, फाइब्रोसार्कोमा पर्छन् ।

त्यसो त मल्टिपल माइलोमा भनिने रक्तक्यान्सर हड्डीभित्रको रगतमासीबाट सुरु हुन्छ र यसैसँग सम्बन्धित रहन्छ । जायन्ट सेल ट्युमर (टेराटोमासहित) कम्मरको हड्डी, मेरुदण्डको तल्लो चुच्चो वा दुवैमा हुन सक्छ । बिरलै मात्र प्राथमिक खालको हड्डीको क्यान्सर (मेलिग्नेन्ट) अन्यत्र फैलिन्छ ।

हड्डीको क्यान्सर सम्भवतः ज्यादै पुरानो रोग हो किनकि दक्षिण अफ्रिकाको गुफामा भेटिएको शवको क्यान्सर प्रभावित खुट्टा करिब २० लाख वर्षअगावैको अनुमान गरिएको छ । सबैभन्दा बढ्ता हुने हड्डीको क्यान्सर फाइब्रोमा हो भने सबैभन्दा सुरुमा पत्ता लागेको चाहिँ ओस्टिओसार्कोमा क्यान्सर हो । हड्डी आफैँबाट क्यान्सर विकसित बिरलै मात्र हुन्छ । सबैखाले ट्युमरमध्ये केवल ०.२ प्रतिशत मात्रै हड्डीको ट्युमर (क्यान्सर) हुने गरेको छ । मानिसका अतिरिक्त कुकुर र बिरालोमा पनि हड्डीको क्यान्सर हुने गरेको छ ।

उपचारको हकमा त्यो ट्युमरको प्रकारमा निर्भर हुन्छ । समग्रमा हड्डीको क्यान्सरको उपचारका लागि हाडजोर्नी शल्यचिकित्सकका साथै रेडियोलोजिस्ट, प्याथोलोजिस्ट, अङ्को विशेषज्ञ सम्मिलित बहुविधागत उपचार चाहिन्छ । हड्डीको क्यान्सरकै हकमा पनि कतिपय बेला शल्यक्रिया गरी प्रभावित भाग निकाल्ने उपाय काफी हुन्छ भने कतिपयलाई केमो औषधि चाहिने हुन सक्छ । नशाद्वारा हड्डीमा औषधि पु¥याउन सक्ने सम्भावना रहेन भने शल्यक्रिया नै उपयुक्त हुन्छ ।

क्यान्सरले प्रभावित भाग निकालेर बोन ग्राफ्ट गरेर राख्ने पनि गरिन्छ । बोन ग्राफ्ट भन्नाले कलमी गरे जस्तै अर्कै स्वस्थ ठाउँको हड्डी टुक्रा निकालेर राखिन्छ वा कृत्रिम हड्डी जोडिन्छ । माथिल्लो खुट्टाका लागि कृत्रिम खुट्टा (प्रोस्थेसिस) पाइन्छ । हाल केमोथेरापीमा आधारित भएर प्रभावित भागको कोषलाई डढाएर गरिने उपचार लोकप्रिय हुँदै आएको छ । हड्डीको ट्युमरमा हड्डीको घनत्व र हड्डीको क्षति मुख्य सरोकारको विषय हो ।

उपचारको सफलता ट्युमरको प्रकार र कुन चरणमा पुगिसक्यो त्यसमा निर्भर हुन्छ । फैलिनसकेको मेलिग्नेन्ट खालको हड्डीको क्यान्सरको उपचार परिणाम पनि राम्रो नै हुने भए पनि उपचार दर क्यान्सर वा ट्युमरको प्रकार, प्रभावित भाग र आकारमा भर पर्दछ ।

 –युवामञ्च

  • १६ चैत्र २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech