नेपालगन्जः नेपाल पत्रकार महासंघ बाँकेले आफ्नो स्थापना दिवसका अवसरमा भोलि नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गरेको छ । महासंघ यही चैत १६ गते ७० औँ वर्षमा प्रवेश गर्दै छ ।
महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्थापना दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर प्रालिको सहयोगमा शिविर आयोजना गरिएको बताए ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्तर्गत देशभरी नसर्ने रोग सम्बन्धी शिविर आयोजना गर्न लागिएको छ । बाँके शाखाले पनि केन्द्रकै सर्कुलरअनुसार कार्यक्रम गर्न लागेको हो । भोलि विहान साढे ७ बजेदेखि १० बजेसम्म नेपालगन्ज उपमहानगरपालिकामा चल्ने स्वास्थ्य शिविरमा बीएमआई, उच्च रक्तचाप, मधुमेह, मिर्गौला लगायतको परीक्षण हुनेछ ।
पछिल्लो समय नसर्ने रोगको प्रभाव बढ्न थालेपछि त्यसबारेमा सचेतना फैलाउन र स्वयम पत्रकारहरुको स्वास्थ्य अवस्थाको समेत परीक्षण गर्न शिविर आयोजना गरिएको पत्रकार महासंघले जनाएको छ । नेपाल सरकारले पनि गएको फागुन महिनालाई नसर्ने रोगबारे सचेतना फैलाउन अभियानै रुपमा चेकजाँच तथा स्क्रिनिङ लगायतका कार्यक्रमहरु गरेको थियो ।