मानव शरीरमा विभिन्न प्रकारका रोग लाग्न सक्छन्, जसमा क्यान्सरलाई सबैभन्दा घातक मानिन्छ । क्यान्सरका विभिन्न प्रकारमध्ये पित्तथैलीको क्यान्सर दुर्लभ भए पनि अत्यन्तै खतरनाक मानिन्छ । यो रोग प्रारम्भिक चरणमा प्रायः लक्षणविहीन रहन्छ, जसले गर्दा समयमा पत्ता लगाउन गाह्रो हुन्छ ।
पित्तथैलीको क्यान्सर के हो ? यसको लक्षणहरू कस्ता हुन्छन् ? कुन प्रकारका गलत जीवनशैली र बानीव्यवहारले यो रोग निम्त्याउन सक्छ ? प्रस्तुत छ, यिनै प्रश्न केन्द्रित रहेर क्यान्सर रोग विशेषज्ञ डा. समीम अख्तरसँगको कुराकानी :
के हो पित्तथैलीको क्यान्सर ?
पित्तथैलीको क्यान्सर एक प्रकारको क्यान्सर हो, जुन पित्तथैलीमा सुरु हुन्छ । कलेजोमुनि रहेको सानो अंग जसले हामीले खाएको खानेकुरा पचाउन तथा तरल पदार्थ भण्डार गर्न मद्दत गर्छ ।
जब पित्तथैलीमा क्यान्सर सुरु हुन्छ तब पित्तथैलीमा कोशिकाहरू अनियन्त्रितरूपमा बढ्न थाल्छन् । जसकारण पित्तथैली सुन्निने वा ब्लक हुन सक्छ । समयमै पहिचान गरी उपचार गरिएन भने क्यान्सरले मानिसको ज्यानै समेत लिन सक्छ ।
पित्तथैलीको क्यान्सरका लक्षण कस्ता हुन्छन् ?
पित्तथैलीको क्यान्सरको लक्षण सुरुवाती अवस्थामै नदेखिएर रोग फैलिँदै जाँदा देखिन थाल्छ । सम्भावित लक्षणमा पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, कमलपित्त देखिने, पेटमा डल्लो भेटिने, खान मन नलाग्ने, दुब्लाउने आदि हुन सक्छन् । तर, यी लक्षण अन्य रोगमा पनि देखिन्छ । त्यसैले यी लक्षण देखिँदैमा क्यान्सर हुन्छ भन्ने हुँदैन । क्यान्सर भए नभएको स्वास्थ्य परीक्षणबाट थाहा हुन्छ ।
पित्तथैलीको क्यान्सर हुने कारण के हुन् ?
पित्तथैलीको क्यान्सर पित्तमा ढुंगा, टाइफाइड, मोटोपनले यसको जोखिम बढाउँछ । मोटोपनले पित्तथैलीमा ढुंगाको सम्भावना बढाउँछ र ढुंगाले पित्तथैलीमा घाउ बनाउँदा क्यान्सरको सम्भावना अधिक भएर जान्छ ।
टाइफाइड भएका बिरामीमध्ये केहीको पित्तथैलीमा टाइफाइड गराउने जीवाणु लामो समयसम्म रहनसक्छ । टाइफाइडबाट संक्रमित व्यक्तिलाई संक्रमण नभएकालाई भन्दा पित्तथैलीको क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यसैले पहिले टाइफाइडकै उचित र पूर्ण उपचार गर्नुपर्छ ।
पित्तथैलीको क्यान्सरको पहिचान कसरी हुन्छ ?
ढुंगा निकाल्न पित्तथैलीको अपरेसन गरेपछि बायोप्सीमा वा पेटको भिडियो एक्स–रे गर्दा पित्तथैलीमा ट्युमर देखियो भने पित्तथैलीको क्यान्सर भएको शंका गर्न सकिन्छ ।
पित्तथैली क्यान्सरको शंका भए अन्य जाँच गर्नुपर्छ । मुख्यतः सिटिस्क्यान, एमआरआई गरेपछि रोग कति फैलिएको छ भन्ने अन्दाज गर्न सकिन्छ । यूएसजी अथवा सिटीस्क्यानद्वारा हेर्दै ट्युमर भएको ठाउँमा सियो पसाएर कोषिकाको परीक्षण पनि गर्न सकिन्छ । यसरी पित्तथैलीको क्यान्सर भए/नभएको थाहा पाउन सकिन्छ ।
पित्तथैली क्यान्सरको उपचार कसरी गरिन्छ ?
चेकजाँचपछि शल्यक्रिया गर्न मिल्ने वा नमिल्ने यकिन गरिन्छ । यसको मुख्य उपचार शल्यक्रिया भएपनि केही बिरामीलाई सिधै शल्यक्रिया गर्न सकिन्छ भने केहीको रगतमा भएको धेरै पित्त निकालेर मात्रै गर्न सकिन्छ ।
शल्यक्रिया गर्नै नमिल्ने बिरामीलाई दुखाइ भए कम गर्ने र पित्त धेरै भए कम गर्न आन्द्राबाट पाइप राखी निष्काशन गराइन्छ । केही बिरामीलाई आवश्यकता हेरी किमोथेरापी, रेडियो थेरापी वा दुवै दिएर उपचार गरिन्छ ।