मातृ शिशु मृत्युदर कम गर्न बाँके, पाल्पा र अर्घाखाँचीमा मोबाइलमार्फत पारिवारिक विवरण तयार गर्ने अभियान

    • स्वास्थ्य पेज

  • १४ चैत्र २०८१, शुक्रबार

पाल्पा: मातृ शिशु मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका पाल्पा, बाँके र अर्घाखाँची जिल्लामा मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्ने अभियान सुरु भएको छ । अभियानको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले पाल्पाबाट शुभारम्भ गरे ।

मन्त्री सारुले जटिल अवस्थाका गर्भावस्था (गर्भदेखि सुत्केरी भएको ४२ दिनसम्म), दुई वर्ष मुनिका बालबालिकाहरुको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन यो कार्यक्रम सुरु गरिएको बताए । प्रदेशका तीन जिल्लाको मातृ तथा बालमृत्युदर अत्यन्तै कमजोर भएकाले परिवार स्वास्थ्य विवरण तयार गर्न लागिएको उनले बताए । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने गर्नेको संख्या उच्च रहेको हुँदा पनि किशोरकिशोरीलाई लक्षित कार्यक्रमसमेत संचालन गरिएको उनले बताए ।

महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष अनुदान कार्यक्रम संचालन मार्गनिर्देशन अनुसार महिला, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य सुधार्ने अभियानसमेत संचालन गरिनेछ । विवरण तयार गर्न पाल्पामा ६५ हजार, अर्घाखाँचीका ४८ हजार र बँकेका ९४ हजार घरधुरीमा स्वास्थ्यकर्मी पुग्नेछन् ।

महिला बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको विभिन्न समयका सर्वेक्षण तथा अध्ययनले देखाएको छ । कमजोर स्वास्थ्य सुचकांक भएको बाँके, अर्घाखाँची र पाल्पाका गर्भवती महिलादेखि बच्चा जन्मेको २ वर्षसम्म नियमित निगरानीमार्फत् जटिल अवस्थाका गर्भवती महिलादेखि खोपबाट बञ्चित बालबालिका र पोषण बृद्धि अवस्थाको अनुगमन गरिनेछ ।

नियमित सेवामा ल्याउनका लागि हरेक परिवार घरधुरीमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ । उनीहरुले पारिवारिक स्वास्थ्य विवशरण तयार पार्न यो पाइलटिङ् कार्यक्रमको व्यवस्था गरिएको लुम्बिनी स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले बताए ।

  • १४ चैत्र २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech