पुरुष बन्ध्याकरण सम्बन्धी फैलिएका केही भ्रम र त्यसको सत्यता

    • स्वास्थ्य पेज

  • १४ चैत्र २०८१, शुक्रबार

पुरुषमा स्थायी रुपले गरिने गर्भनिरोधक प्रक्रियालाई भ्यासेक्टोमी भनिन्छ । सन्तानको चाहना पूरा भइसकेपछि पुनः सन्तान नहोस् भन्ने उद्देश्यका लागि भ्यासेक्टोमी उपचार विधि तुलनात्मक रुपमा गर्भनिरोधकको राम्रो विकल्प हो । जसलाई बोलीचालीको भाषामा पुरुष बन्ध्याकरण पनि भन्ने गरिन्छ ।

यो सामान्य र सुरक्षित उपचार प्रक्रिया हो । तर सरल प्रक्रिया हुँदाहुँदै पनि धेरैजसो पुरुषमा यसबारे फैलाइएको गलत भ्रमका कारण बन्ध्याकरण गर्न संकोच मान्छन्, कतिले गर्दैनन् पनि ।

जस्तो कि, बन्ध्याकरण गरेपछि यौन दुर्बलता आउँछ, पुरुषको कार्यक्षमता घट्छ ।

पुरुष बन्ध्याकरण सम्बन्धी फैलिएका केही भ्रम र त्यसको सत्यता

भ्रम : पुरुष बन्ध्याकरण गरेपछि यौन हर्मोन टेस्टोस्टेरोनको स्तर कम हुन्छ ।

– टेस्टोस्टेरोनको स्तर बन्ध्याकरण गराएपछि कम हुँदैन । शल्यक्रिया र शरीरको यौन हर्मोन टेस्टोस्टेरोनको उत्पादन गर्ने क्षमतासँग यसको कुनै प्रत्यक्ष सम्बन्ध छैन ।

बन्ध्याकरण मात्र १० मिनेटको प्रक्रिया हो । जसमा पुरुषको अण्डकोष थैलीमा एउटा सानो प्वाल पारी त्यहींबाट शुक्रकीटबाहिनी नली काटेर बाँधिन्छ । यसको मुख्य काम भनेको यौन सम्पर्कको बेला योनीमा स्खलन हुने वीर्यमा शुक्रकीट हुन नदिनु मात्र हो ।

भ्रम : बन्ध्याकरण गरेपछि पुरुषमा उत्तेजना आउँदैन वा कम हुन्छ ।

– टेस्टोस्टेरोन हर्मोन नै हो, जो पुरुषमा यौन उत्तेजना जगाउँछ । टेस्टोस्टेरोनको उत्पादनमा नै कुनै असर नगर्ने भएपछि ‘सेक्स ड्राइभ’मा कुनै प्रभाव पार्दैन । बन्ध्याकरणपछि पनि वीर्यको उत्पादन र निष्कासन उत्तिकै मात्रामा हुन्छ । मात्र वीर्यमा शुक्रकीट भने मिसिन पाउँदैन ।

भ्रम : बन्ध्याकरण गरेको केही दिनमै यौन सम्पर्क गर्दा बच्चा बस्दैन ।

– बन्ध्याकरण गरेको केही महिनासम्म पनि वीर्यमा शुक्रकीट बाँकी रहन सक्ने हुँदा बन्ध्याकरण गरेको एक महिनासम्म पनि गर्भ रहने जोखिम हुन्छ । यस्तोमा यदि शारीरिक सम्बन्ध राख्नु परेमा अन्य अस्थायी गर्भनिरोधक साधन (कण्डम) प्रयोग गर्नुपर्ने हुन्छ ।

भ्रम : बन्ध्याकरण एकपटक गरेपछि त्यसलाई उल्टाउन सकिदैन ।

– बन्ध्याकरण एकपटक गरेपछि सन्तानको चाहना भएमा पुन: उल्टाउन त सकिन्छ ।  तर, बन्ध्याकरण गरेको जति कम समयको अन्तर हुन्छ। त्यति नै गर्भ बस्न सक्ने सम्भावना बढी हुन्छ। जति ढिला भयो त्यति सफल नतिजा भने नआउन सक्छ ।

भ्रम : बन्ध्याकरणले यौनाङ्गलाई क्षति गर्न सक्छ ।

– बन्ध्याकरण सुरक्षित उपचार विधि हो । यो प्रक्रियामा लिङ्ग, अण्डकोष वा यौन क्षमतामा असर पार्ने कुनै अङ्ग वा कोषमा क्षति पुग्दैन । तर शल्यक्रिया गरेको केही दिन काटिएको ठाउँ सुन्निने र हल्का दुखाइ हुने हुनसक्छ । जो बिस्तारै निको हुँदै आउँछ । यौन क्षमता पनि पहिलाकै अवस्थामा आउँछ ।

भ्रम : बन्ध्याकरण गरेमा प्रोस्टेट क्यान्सरको जोखिम बढ्छ ।

– अर्को, भ्रम के छ भने बन्ध्याकरण गरेपछि प्रोस्टेट क्यान्सरको जोखिम बढ्छ । प्रोस्टेट क्यान्सरको एक कारण नै यही हो भन्ने पनि भ्रम छ । जसमा कुनै सत्यता छैन । अहिलेसम्म कुनै अध्ययनले पनि बन्ध्याकरण र प्रोस्टेट क्यान्सरसँग प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको छैन ।

यदि यस्तो द्विविधा छ भने चिकित्सकसँग परामर्श गर्न सकिन्छ । प्रोस्टेट क्यान्सरको कारक जीवनशैली र वंशाणुगत मुख्य हुन् ।

भ्रम : स्थायी गर्भनिरोधकका लागि बन्ध्याकरण सुरक्षित विकल्प होइन ।

– स्थायी गर्भनिरोधकका लागि बन्ध्याकरण दम्पतीको लागि सबैभन्दा सुरक्षित विकल्प हो । यो प्रक्रियामा जहाँसम्म हुने शल्यक्रियाको घाउ छ, त्यो घाउ सानो हुन्छ । जुन छिट्टै निको हुन्छ । बन्ध्याकरण गर्न चाहनेले मूत्ररोग विशेषज्ञसँग परामर्श लिन सक्छन् ।

भ्रम : बन्ध्याकरण गर्दा दुखाइ अत्यधिक हुन्छ ।

– प्रजनन् क्षेत्र संवेदनशील हुन्छ । यस्तोमा धेरैलाई लाग्न सक्छ, यो शल्यक्रिया गर्दा दुखाइ बढी हुन्छ । तर सोचे जति दुखाइको अनुभव हुँदैन । यो प्रक्रिया सुरु गर्दा हल्का घोचेको अनुभव हुन सक्छ र दश मिनेट जति लाग्ने यो प्रक्रियामा खासै दुखाइको अनुभव हुँदैन ।

भ्रम : बन्ध्याकरण गरेपछि वीर्य शरीरभित्र फैलिन्छ ।

– बन्ध्याकरणले मात्र शुक्रकीटलाई वीर्यमा जान रोक्छ । यसको अर्थ वीर्य निस्किंदै ननिस्किने होइन । त्यसकारण वीर्यको तरल पदार्थ शरीरभर फैलिने कुरामा कुनै सत्यता छैन ।

  • १४ चैत्र २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech