महासंघको स्थापना दिवसमा पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण हुने

    • स्वास्थ्य पेज

  • १३ चैत्र २०८१, बिहीबार

काठमाडौं: नेपाल पत्रकार महासंघले आफ्नो आफ्नो स्थापना दिवसका अवसरमा केन्द्र, प्रदेश र शाखा समितिमा विभिन्न कार्यक्रम गर्ने भएको छ । महासंघ यही चैत १६ गते ७०औँ वर्षमा प्रवेश गर्दै छ ।

महासंघ अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले स्थापना दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा केन्द्र र उपत्यका बाहिरका जिल्ला शाखामा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट प्रतिबद्धता प्राप्त भए बमोजिम केन्द्रीय कार्यालयमा मन्त्रालयसँग र उपत्यका बाहिरका जिल्ला शाखामा सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा आवश्यक प्रबन्ध मिलाइएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी गराएका छन् ।

७०औँ स्थापना दिवसका अवसरमा केन्द्रीय समितिले यही चैत १६ गते शनिबार बिहान ७ बजे सिनामंगल चोकबाट सञ्चारग्रामसम्म प्रभातफेरी गर्ने र बिहान ९ बजेदेखि १ बजेसम्म महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण गर्ने तय भएको महासचिव दाहालले बताए ।

स्वास्थ्य परीक्षणमा बीएमआई, उच्च रक्तचाप, मधुमेह, मिर्गौला, पाठेघरको मुखको स्क्रिनिङलगायत हुनेछन् । यसअघि संघीय संसदका सांसदहरूको यस प्रकारको परीक्षण भएको थियो ।

केन्द्रीय कार्यालयमा हुने परीक्षणमा उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेश समितिका साथै काठमाडौं, ललितपुर र भक्तपुर शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थामा आबद्ध सदस्यले भाग लिन पाउनेछन् ।

उपत्यकाबाहिरका जिल्ला शाखामा हुने परीक्षणमा जिल्ला शाखाका साथै शााखाको जिल्लामा रहेका प्रदेश समितिमा आबद्ध पत्रकारको सहभागिता रहनेछ ।  यसका अतिरिक्त प्रदेश र शाखाले रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाउने तय भएको महासंघले जनाएको छ ।

  • १३ चैत्र २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech