के तपाईं शौचालय जाँदा मोबाइल फोन बोक्नुहुन्छ ? सम्भवत यसको जवाफ ‘बोक्छु’ भन्ने आउन सक्छ । किनभने शौचालय जाँदा मोबाइल बोक्ने आम प्रचलन जस्तै भइसकेको छ। यस्तो लाग्छ, मानौं मोबाइल भएन भने शौच नै हुँदैन । यसरी शौचालयमा मोबाइल लिएर बस्दा के-के हुन्छ ? यसले जनस्वास्थ्यमा पार्ने प्रभावबारे एक अध्ययन भएको छ ।
हालैको सर्वेक्षण अनुसार एक सातामा मान्छेले 3 घण्टा समय बिताउँछन् । यो सर्वेक्षण बेलायतमा भएको हो । जब कि शौचालयमा दैनिक धेरैमा १० देखि पन्ध्र मिनेट बिताउनुपर्ने विज्ञहरूको सुझाव छ । यता अमेरिकामा ७५ प्रतिशत भन्दा बढी मान्छे मोबाइल नलगी शौच गर्न जाँदैनन् । अमेरिका र बेलायतमा मात्र होइन, मोबाइलको सहज पहुँच भएका सबै देशको हालत उस्तै छ ।
मोबाइल लिएर शौचालयमा लामो समय बस्दा के के हुन्छ ?
१. किटाणुका लागि फोन मैदान जस्तै हो
हानिकारक किटाणु र जीवाणुका लागि फोन मैदानजत्तिकै सहज स्थान बन्न सक्छ । फोनमा पहिला बस्छन्, जसबाट हातमा सर्छन् । हातबाट गोप्य अंगसम्म किटाणु फैलिन्छन्।
फोनले शौचालयको जुनसुकै कुनाको किटाणु पनि बोक्न सक्छ । चाहे त्यो हात धुँदा होस् वा फल्स गर्दा, साइडमा राख्दा होस् । हात र अनुहारमार्फत शरीरमा प्रवेश गर्न सक्छन्, जसले संक्रमणको जोखिम बढाउँछ।
अध्ययनहरूले के देखाएको छ भने-सुपरबग एमआरएसए (एन्टीबायोटिक रेजिस्टेन्स स्टाफाइलोकोकुस)लाई बोक्ने माध्यम मोबाइल नै हो ।यसको मतलब शौचालय मोबाइल चलाउने व्यक्ति पटक-पटक बिरामी भइरहन सक्छन् ।
२. पायल्स जस्ता मलद्धार सम्बन्धी समस्या हुनसक्छ
शौचालयमा १५ मिनेट बस्नु सामान्य हो । यद्यपि, अनावश्यक अत्याधिक समय मोबाइल चलाउँदै शौच गर्दा मलद्धार सम्बन्धी समस्या हुनसक्छ । किनकी, मोबाइल हेरेको सुरमा जोर लगाएर शौचका लागि बल गर्दा मलद्धारको मासु च्यातिन सक्छ । पायल्स हुनुमा मुख्य कारण बाथरुमको सिटमा बस्ने समय बढेको कारणलाई मानिन्छ ।
३. आराम वास्तवमै पाइँदैन
शौचालय भनेको पेटको विकार हटाएर आनन्द लिने ठाउँ पनि हो। ट्वाइलेटजस्तो ठाउँमा पनि मोबाइल चलाउँदा दिमागले विश्राम लिन पाउँदैन। सामाजिक सञ्जाल वा अन्य कुरामा अल्झिँदा तनाव वा चिन्ता बढ्न सक्छ।
मोबाइल हेरिरहँदा मस्तिष्कलाई तनावजोनमा मात्र लग्दैन। यसले अन्य क्रियाकलाप वा काममा लाग्नबाट पनि अल्मल्याउँछ। यदि शरीरलाई आराम दिन चाहनुहुन्छ भने मोबाइल नलिई शौचालय जानुहोस् । यसले शरीर सुचारु हुन्छ । जसले दिमागलाई पनि केही कुराको बिनाअवरोध सक्रिय पार्न मद्दत गर्छ ।
४. समयको बर्बादी
मोबाइल बोकेर ट्वाइलेटमा बस्दा मानिसहरूले आवश्यकभन्दा बढी समय बिताउँछन्, जुन अनुत्पादक हुन्छ । यसले दैनिक कामको तालिकामा पनि असर पार्न सक्छ। फ्लोरिडा विश्वविद्यालयले गरेको अध्ययन अनुसार व्यक्तिको दिनको ९० मिनेट समय मोबाइल स्क्रोलिङ गरेर मात्र बित्छ।
त्यो समय भनेको जीवनको ३.९ वर्ष हो । यसको मतलब फोनले हामीलाई हाम्रो काम र दैनिक क्रियाकलापबाट टाढा लगिरहेको छ ।अध्ययन अनुसार कामदारहरूको साताको ५ घण्टा फोनले त्यसै तानिरहेको छ ।
५. लत बस्छ
यसरी शौचालयमा समेत फोन लाने बानी बसेमा लत लाग्छ । एकछिन मोबाइल हातमा भएन भने एन्जाइटी नै बनाउन सक्छ । कयौं लत डोपामाइन हर्मोन स्राबसँग सम्बन्धित छन् । फोनको लत पनि त्यस्तै लत मध्ये एक हो । मोबाइल प्रयोगकर्ता यसबाटै अरुसँग अन्तक्रिया गर्दा रमाउँछ ।
यसमै रमाउन पाए अरु आवश्यक कामलाई वास्ता गर्दैन । मोबाइलको लतले एन्जाइटी, डिप्रेसन र आत्मबल कमजोर बनाउँछ ।
६. उपकरणको हानि
मोबाइल शौचालय लाने बानीले गर्दा त्यो लामो समय नटिक्ने डर हुन्छ। ट्वाइलेटमा खस्ने वा पानीले भिज्ने सम्भावना हुन्छ, जसले उपकरणलाई नै क्षति पुर्याउन सक्छ।