गर्मीयाममा ठेउलाले सताउन सक्छ, कसरी बच्ने ?

    • डा. शेरबहादुर पुन /सरुवारोग विशेषज्ञ

  • ११ चैत्र २०८१, मंगलवार

गर्मीयामसँगै पछिल्लो समय ठेउलाको संक्रमण बढ्न थालेको छ । खासगरी ठेउलाले साना बालबालिकालाई दुःख दिन्छ । त्यसबाहेक वृद्धवृद्धा र शरीर कमजोर भएका वयस्कलाई पनि यसले सताउँछ । परिवारको कोही सदस्यमा ठेउला देखिएमा अरुलाई सर्ने सम्भावना उच्च हुन्छ । त्यसैले ठेउलाको संक्रमण भएमा विशेष सावधानी अपनाउनुपर्छ ।

ठेउला कस्तो रोग ?

ठेउला एक प्रकारको संक्रामक रोग हो । भेरिसेला जोस्टर भाइरस नामको जीवाणुको संक्रमणबाट ठेउला देखिन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकोले यसलाई अत्यधिक संक्रामक रोग गरिन्छ । सुरुमा छालामा मसिना बिबिरा देखिन्छ र बिस्तारै शरीरका सबै भागमा फैलिने गर्छ । र, ठेउला आएको व्यक्तिबाट अर्को व्यक्तिमा वरपरको हावा, लत्ताकपडा, हाछ्युँ  र खोकीको माध्यमबाट सजिलै सर्न सक्ने हुँदा उनीहरु आइसोलेसन बस्नु पर्छ ।

गर्मी मौसममा भेरिसेला जोस्टर भाइरस सक्रिय हुन्छ । यस समय तातो हावापानी, अन्य समयभन्दा मानिसको जमघट बढी हुने भएकाले ठेउलाको संक्रमण बढी देखिन्छ ।

कारण

रोगप्रतिरोधात्मक क्षमता कम हुने व्यक्ति ठेउलाबाट बढी प्रभावित हुन्छन् । प्रायःजसो १० वर्षमुनिका बालबालिकामा यो रोग देखिने गर्छ । त्यसबाहेक गर्भवती महिला र उमेर बढ्दै गएपछि वृद्धहरुमा पनि देखिने सम्भावना हुन्छ ।

ठेउलाका लक्षण

छाती, ढाड हुँदै शरीरको पूरै भागमा पानी फोकाजस्तो स्वरूप भएको बिबिरा फैलिनु, बिमिरा निस्किएको ठाउँमा चिलाउनु, पोल्नु र बिस्तारै फुटेर स–साना घाउ बन्नुजस्ता लक्षण देखिन्छ । त्यसैगरी सामान्य ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्नु, जीउ भारी हुनु, भोक नलाग्नु पनि यसको लक्षण देखा पर्छ । ठेउला भएको १० देखि २१ दिनभित्र यसका लक्षण अत्यधिक रुपमा देखा पर्छन् ।

जटिलता

ठेउला जति छिटो उपचार त्यति छिटो निको हुन सक्ने रोग हो । उपचार ढिला हुँदा थुप्रै जटिलता देखिन सक्छ । जस्तै, यसले निमोनिया, स्नायु प्रणालीमा संक्रमण गराउने, सेप्सिसको समस्या गराउने गर्छ । त्यस्तै, बिमिरा निस्किएको छालामा जीवाणुको संक्रमण पनि गराउन सक्छ ।

उपचार

यदि बालबालिकामा देखिए बालरोग विशेषज्ञ, वयस्क र वृद्धमा देखिए जनरल फिजिसियनलाई देखाउनु उपयुक्त हुन्छ । यसको लागि विशेष उपचार हुँदैन । चिकित्सकको सल्लाहमा झोलिलो खानेकुरा सेवन गर्ने, लक्षणअनुसार अवस्था हेरेर एन्टिभाइरल औषधि प्रयोग गर्नुपर्छ । पर्याप्त आराम गर्ने, सरसफाइमा ध्यान दिने, ठेउला भएको व्यक्ति केही दिन आइसोलेसनमा बस्ने गर्नुपर्छ । ताकि सजिलै सर्ने यो रोगले सार्वजनिक स्थलमा जाँदा अरुलाई सर्न नसकोस् । त्यस्तै फोका आएको भागमा चलाउन सक्छ, त्यसको लागि चिकित्सकको निर्देशनअनुसार औषधि लगाउने गर्न सकिन्छ ।

कसरी बच्ने ?

सरसफाइमा ध्यान दिने, प्रतिरोधात्मक क्षमता बलियो बनाउन पौष्टिक आहार खाने, ठेउलाविरुद्ध खोप लगाउने गरे ठेउलाबाट बच्न सकिन्छ ।

  • ११ चैत्र २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech