लमहीः दाङको गढवा गाउँपालिकामा आजदेखि निःशुल्क कान उपचार शिविर सुरु भएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जको प्राविधिक सहयोग तथा गढवा गाउँपालिकाको आयोजनामा तीन दिने शिविर सुरु भएको हो ।
आज पहिलो दिन गढवा स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा १५१ जनाको चेकजाँच गरिएको चेकजाँचमा संलग्न ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका आउट रिच इन्चार्ज भीषण कुमार थारुले जानकारी दिए ।
उनीसँगै कान सहायक चिकित्सक दामोदर चौधरीले बिरामीको कान चेकजाँच गरेका थिए । ६५ जना पुरुष र ८६ जना महिलाको कान चेकजाँच गर्दा २१ जनामा कान पाक्ने समस्या देखिएको छ । त्यसैगरी २६ जनामा काने गुजि भरिएको पाइएको पनि थारुले बताए । १८ जनामा कान कम सुन्ने समस्या देखिएको छ ।
यस्तै मंगलवार गोवरडिया आधारभूत स्वास्थ्य सेवा केन्द्र र बुधवार कालाकाटे सामुदायिक स्वास्थ्य इकाईमा शिविर राखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कैलाश चन्द्र चौधरीले जानकारी दिए ।