नेपालगन्जः आज विश्व क्षयरोग दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने मुल नाराका साथ बाँकेमा पनि दिवस मनाइँदैछ । दिवसको अवसरमा स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, क्षयरोग विरुद्ध क्रियाशील अन्य संघसंस्थाहरुले दिउँसो नेपालगन्जमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
बाँकेमा क्षयरोगीको संख्या बढ्दै गएको तथ्यांकका बीच यसको जोखिम घटाउन सकिने उपायको खोजीमा सरोकारवालाहरु जुट्न लागेका हुन् । क्षयरोगीको पहिचान गर्ने कुरा त छदै छ पहिचान भएका बिरामीले नियमित औषधी नखाइदिने गरेका कारण स्वास्थ्यकर्मीहरुलाई अर्को चुनौति बन्दै आएको छ । बाँकेमा चालु आर्थिक वर्षको हालसम्म ५९० जना क्षयरोगीका बिरामी फेला परिसकेका छन् । यो माघ महिनासम्मको तथ्यांक हो ।
तीमध्ये महिला २४३ जना र पुरुष ३४७ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र साहले जानकारी दिए । उनका अनुसार १४ वर्ष मुनिका ११६ जना छन् भने बाँकी ४७४ जना १५ वर्षमाथिका हुन् । क्षयरोगी पुष्टि भएकाहरुको एचआभी समेत परीक्षण गर्ने गरिएको उनले बताए । क्षयरोग पुष्टि भएकामध्ये ५४८ जनाको एचआइभी परीक्षण गर्दा ८ जनामा पोजेटिभ रिपोर्ट आएको छ । उनीहरुले एआरटी सेवा लिन सुरु गरिसकेको पनि उनले बताए ।
आर्थिक वर्ष २०८०।०८१ मा जिल्लामा १ हजार १८२ जना क्षयरोगीका बिरामी फेला परेका थिए । तीमध्ये ४९६ जना महिला र ६८६ जना पुरुष थिए । १४ वर्ष मुनिका २६८ जना थिए भने ९१४ जना १५ वर्षमाथिका थिए । क्षयरोग पुष्टि भएकामध्ये १ हजार १४० जनाको एचआइभी परीक्षण गर्दा ९ जनामा एचआइभी पोजेटिभ देखिएको थियो । यस्तै आर्थिक वर्ष २०७९।०८० मा १ हजार १०२ जना क्षयरोगीका बिरामी फेला परेका थिए ।
तीमध्ये ४५३ जना महिला र ६४९ जना पुरुष रहेका थिए । १४ वर्ष मुनिका २३३ जना बालबालिकामा क्षयरोग देखा परेको थियो भने ८६९ जना १५ वर्षमाथिका थिए । ९४९ जनामा एचआइभी परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखिएको थियो । स्वास्थ्यकर्मीहरुको सक्रियता बढेसँगै समाजमा क्षयरोगीका बिरामीहरु फेला पर्ने क्रम बढेको साह बताउँछन् । यो रोगको परीक्षण र उपचार निः शुल्क हुने गरेको छ ।
क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक किटाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो । संक्रमित व्यक्तिले खोक्दा, हाच्छियु गर्दा हास्दा नजिक बस्ने व्यक्तिलाई सर्ने गर्दछ । यो खकारको परीक्षण गर्दा संक्रमण भएको नभएको पत्ता लगाउन सकिन्छ ।