नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल आज नेपालगन्ज आउँदैछन् । नेपाल चिकित्सक संघ भेरी शाखाको आयोजनामा नेपालगन्जमा आयोजना गरिएको प्रातःकालीन हिँडाइ अर्थात वाकाथनमा सहभागि हुन उनी बेलुका नेपालगन्ज आउन लागेका हुन् ।
‘स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ’ भन्ने मूल नारासहित भोलि शनिवार नेपालगन्जमा वाकाथन हुन लागेको कार्यक्रम संयोजक डा.किशोर खत्रीले जानकारी दिए ।
विहान साढे ६ बजे गणेशमान चोक नजिकै रहेको नेपाल चिकित्सक संघ, भेरी शाखाबाट सुरु हुने वाकाथन विरेन्द्र चोक पुगेर पुनः गणेशमान चोकमा आएर समापन हुने उनले बताए ।
‘स्वास्थ्य सचेतना विस्तार गर्ने तथा नेपालगन्जको पर्यटकीय स्थलहरुको प्रवर्धन गर्ने र आम नेपाली दाजुभाई, दिदिवहिनीहरुलाई एकताको मालामा गास्ने उद्देश्यले वाकाथनको आयोजना गरिएको हो’–उनले भने । बालरोग विशेषज्ञ डा.खत्री वाकाथानलाई अभियानकै रुपमा लिएर हिडेका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री पौडेलले भोलि विहान साढे ८ बजे पार्टी कार्यालयमा कार्यकर्तासँग पनि भेटभाट गर्ने कार्यक्रम रहेको काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले जानकारी दिए ।