पक्षघातको उपचारमा प्रयोग हुने औषधि अस्पतालमा पठाउने प्रक्रिया सुरू

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०८१, बिहीबार

काठमाडौंः पक्षघातको उपचारमा प्रयोग हुने औषधि अस्पतालमा पठाउने प्रक्रिया सुरू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत माघ ३ गते पक्षघातको उपचारमा प्रयोग हुने औषधि निस्शुल्क उपलब्ध गराउने निर्णय गरेका थिए।

मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा सहयोगी संस्था डाइरेक्ट रिलिफका तर्फबाट प्राप्त औषधि वन हार्ट वल्र्डवाइडका प्रतिनिधिले हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधि सहयोग प्राप्त गरेर उपलब्ध गराउन लागेको बताए।

‘महँगो औषधि किनेर दिन गाह्रो परेको थियो। कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं, अहिले औषधि उपलब्ध भएको छ’- उनले भने।

मन्त्री पौडेलले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधि उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने बताए। मन्त्रालयले तीनवटा संघीय अस्पतालमार्फत ती औषधि उपलब्ध गराउनेछ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधि उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा। पवनजंग रायमाझीले जानकारी दिए।

यस्तो औषधिको बजार मूल्य झण्डै दुई लाख पर्छ तर आर्थिक अभावमा महँगो औषधि खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपांगताको समस्या देखिने गरेको छ।

रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ।

महँगो तथा पाउनसमेत गाह्रो हुने पक्षघातको औषधीको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले लामो समयदेखि थालेको पहलस्वरुप अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ तयार भएको उनको सचिवालयको दाबी छ।

मन्त्रालयसँग च्यारिटीले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधि सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।

  • ६ चैत्र २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech