नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ स्थित दुर्गा भवानी माविमा जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्धन कार्यक्रम गरिएको छ । राप्तीसोनारी गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाको आयोजनामा भएको कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गरिएको शाखा प्रमुख अन्जना थारुले जानकारी दिइन् ।
जेष्ठ नागरिकहरुको उच्च रक्तचाप र मधुमेहको अवस्था के कस्तो छ भनेर समेत चेकजाँच गरिएको शाखा प्रमुख थारुले बताइन् । उनका अनुसार तीमध्ये ७९ जनालाई शक्तीप्रवर्धक औषधी वितरण गरिएको थियो । वडा नं.२ का कार्यवाहक वडा अध्यक्ष दुर्गा दिर्घ बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले स्वास्थ्य संस्थाको पहुँच भन्दा बाहिर रहेका नागरिकहरुलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउन आयुर्वेद शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जानकारी दिइन् ।
उनले बुढ्यौंली उमेरका कारण जेष्ठ नागरिकहरु कमजोर हुने भएकाले उनीहरुको स्वास्थ्य चेकजाँचपछि आवश्यकता आधारमा निशुल्क शक्तीप्रवर्धक औषधी समेत वितरण गर्ने गरिएकोब ताइन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एरी, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका डा.गिता रेग्मी, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रकै वरिष्ठ बैद्य सिताराम चौधरी, नरैनापुर गाउँपालिका आयुर्वेद शाखाका प्रमुख रोशन शर्मा, राप्तीसोनारी आयुर्वेद शाखाका वैद्य कविता खत्री लगायतको समेत सहभागिता रहेको थियो ।