नेपालगन्जः नेपाल चिकित्सक संघ भेरी शाखाको आयोजनामा नेपालगन्जमा प्रातःकालीन हिँडाइ अर्थात वाकाथन हुने भएको छ । स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ भन्ने मूल नारासहित वाकाथन हुन लागेको कार्यक्रम संयोजक डा.किशोर खत्रीले जानकारी दिए । बुधवार नेपालगन्ज उपमहानगरपालिकामा जनप्रतिनिधि र संचारकर्मीसँगको भेटघाटमा उनले स्वास्थ्य सचेतना विस्तार गर्ने उद्देश्यसहित वाकाथन आयोजना गरिएको बताए ।
बालरोग विशेषज्ञ डा.खत्री वाकाथानलाई अभियानकै रुपमा लिएर हिडेका छन् । हिड्नु स्वास्थ्यका लागि स्वस्थ हुने पहिलो आधार हो भन्ने गरेका उनले आफुले यसलाई अभियानको रुपमा अगाडि बढाएको बताए । ‘पूर्व राजा ज्ञानेन्द्र शाहदेखि पार्टीका उच्च पदाधिकारीहरुसँग विहानी प्रहरको हिँडाइमा सहभागि भइसकेको जानकारी दिँदै उनले भने–‘अव नेपालगन्जबासीसँग सँगै हिँडेर यसको महत्व बुझाउनु छ ।’
यही चैत ९ गते शनिवार नेपालगन्जमा वाकाथन आयोजना गरिएको छ । गणेशमान चोक नजिकै रहेको नेपाल चिकित्सक संघ, भेरी शाखाबाट सुरु हुने वाकाथन विरेन्द्र चोक पुगेर पुनः गणेशमान चोकमा आएर समापन हुने उनले बताए । ‘स्वास्थ्य सचेतना विस्तार गर्ने तथा नेपालगन्जको पर्यटकीय स्थलहरुको प्रवर्धन गर्ने र आम नेपाली दाजुभाई, दिदिवहिनीहरुलाई एकताको मालामा गास्ने उद्देश्य पनि यो वाकाथनको हो’–उनले भने ।
त्यसक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले स्वस्थ शरीरका लागि प्रत्येक दिन विहान हिड्नु पर्ने आवश्यकता रहेको बताए । ‘आफुपनि दैनिक विहान ८/१० किलोमिटर हिड्ने गरेको सम्झदै उनले–‘हिड्दा शरीरलाई आनन्द अनुभूति हुन्छ । तनाव समेत हुँदैन । त्यो महसुस मलाई छ ।’ उनले वाकाथन एउटा अभियान भएपनि नियमित हिँड्नु स्वास्थ्यका लागि अत्यन्तै आवश्यक रहेको नगर प्रमुख विष्टको भनाइ छ ।
उनले वाकाथनमा स्थानीय सरकारको प्रतिवद्धता जनाउँदै सहयोगको विश्वास समेत दिलाए । उक्त वाकाथनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा.विकास देवकोटा समेत सहभागि हुने कार्यक्रम संयोजक डा.खत्रीले जानकारी दिए ।