नेपालगन्जः फेरिदो जीवनशैलीका कारण मानव स्वास्थ्यमा पनि त्यसको नकारात्मक प्रभाव पर्न थालेको छ । अस्वस्थ खानपान, विलासी जीवन पद्धति लगायतका कारण पछिल्लो समय नसर्ने रोगको प्रभाव बढ्दै जाँदा मानिसहरु अकालमा मृत्युवरण गरिरहेको तथ्यप्रति सरोकारवाला चिन्तामा छन् । स्वास्थ्यप्रतिको चेतना अभावले पनि मानिसहरु अस्वस्थताको भूमरीमा रुमलिरहेका छन् ।
मिर्गौला रोग विशेषज्ञ डा.सौरभ सिंह हमाल पछिल्लो समय नसर्ने रोगको प्रभावभित्र मिर्गौला फेल भएर मृत्युवरण गर्नेको संख्या समेत बढ्दै गएको बताउँछन् । उनै मिर्गौला रोग विशेषज्ञलाई राखेर नेपालगन्जस्थित शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरले अभिमुखिकरण कार्यक्रम गरेको छ । भेरी अस्पतालमा कार्यरत नेफ्रोलोजिष्ट डा. हमालले मिर्गौला रोगबाट प्रभावित भई डायलाइसिस गरिरहेका बिरामीहरूलाई स्वस्थ जीवनशैली अपनाउने उपायहरूबारे महत्वपूर्ण जानकारी प्रदान गरेका थिए ।
‘सकेसम्म रोगनै लाग्न नदिने उपाय खोज्ने हो यदी लागिसक्यो भने अपनाउनु पर्ने सावधानीमा अत्यन्तै होसियारी हुन आवश्यक छ’- उनी भन्छन् । डायलाइसिसमा रहेका बिरामीहरूले स्वस्थ रहनका लागि उचित खानपान, व्यायाम, औषधि सेवन र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिन उनले जोड दिए ।
मिर्गौला रोगीहरूलाई एकैथलोमा राखेर विशेषज्ञ चिकित्सकबाट सही जानकारी प्रदान गर्दा उनीहरूमा थप उर्जा प्राप्त हुने र सहज जीवनयापनका लागि सकारात्मक सन्देश मिल्ने भएकाले कार्यक्रम गरिएको शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरले जनाएको छ । उक्त अभिमुखिकरण कार्यक्रममा मिर्गौला रोगीहरूका साथै उनीहरुका आफन्तजन तथा स्वास्थ्यकर्मीहरू सहभागी थिए । सहभागीहरूले कार्यक्रमबाट उपयोगी जानकारी प्राप्त भएको भन्दै खुसी व्यक्त गरे ।