कहिलेकाहीँ अचानक नाकबाट रगत बग्छ। त्यसरी रगत बग्नुलाई नाथ्री फुटेको भन्ने चलन छ। यो समस्यालाई मुख्यतयाः दुई भागमा हेर्न सकिन्छ।
पहिलो कारण नाकभित्रै हुन्छ। नाक कोट्याउने, नाक चलाइरहने र धेरै सिँसिँ गर्ने बानी छ भने रगत बग्न सक्छ। धेरैजसो बालबालिकामा नाक कोट्याउने र चलाइरहने, बल गरेर सिँसिँ गर्ने बानी हुन्छ। वयस्कहरूमै पनि यस्तो बानी छ भने रगत आउन सक्छ।
नाकमा चोट लाग्दा पनि रगत आउन सक्छ। नाकको पछाडिपट्टिको नसा फुटेर पनि रगत बग्न सक्छ। कहिलेकाहीँ त रगत बग्नुको कारण थाहा नहुन पनि सक्छ। नाकमा ट्युमर पलाएको छ भने पनि रगत आउँछ। यस्तोमा कहिलेकाहीँ निकै बढी रगत बग्न सक्छ। विशेष गरेर वयस्क व्यक्तिमा ट्युमर पलाएको हुन सक्छ।
दोस्रो, शरीरका अन्य अंगमा हुने कुनै समस्याका कारण नाकबाट रगत आउने हुन सक्छ। मिर्गौला र कलेजोमा कुनै समस्या हुँदा पनि नाकबाट रगत बग्न सक्छ।
त्यस्तै कुनै औषधिको प्रयोगले पनि यस्तो हुन सक्छ। रगत पातलो गराउने औषधि खाने व्यक्तिको नाकबाट रगत बग्ने समस्या हुन सक्छ। बुढेसकालमा खास कारणबिना पनि नाकबाट बग्न सक्छ। नाकमा धेरै रगत सञ्चालन हुने र नसा पनि धेरै हुने भएकाले अचानक कुनै नसा फटेर रगत बग्छ।
जुनसुकै करणले होस्, नाकबाट रगत बग्यो भने के गर्ने?
यसमा धेरैलाई अलमल हुन सक्छ। पहिलेपहिले यसरी रगत बग्दा नाक समातेर माथितिर फर्किने भन्थ्यौं। आजकाल त्यसो नगर्न भन्छौं। माथितिर फर्किने होइन, नाक समेतर तल निहुरिन भन्छौं। तल निहुरिँदा थोरै भए पनि रगत बग्न कम हुन्छ।
नाकबाट रगत बग्दा तत्कालै घरेलु उपचार पनि गर्न सकिन्छ। नाकको वरिपरि आइस (बरफ) लगाएर चिसो बनाउँदा रगत बग्न कम हुन्छ। नाकको प्वालमा कपास राखेर पनि रगत रोक्न सकिन्छ।
नाकबाट अचानक रगत बग्दा आत्तिने हुन सक्छ। नआत्तिईकन नाकको प्वाल थिचेर निहुरिनुपर्छ, यसो गर्दा रगत बग्न बिस्तारै कम हुन्छ। माथितिर फर्किँदा रगत मुखमा आउँछ। नाक बन्द गर्दा रगत मुखतिर जान सक्छ। मुखमा गयो भने पनि फरक पर्दैन, निलिएछ भने पनि केही हुन्न। बिस्तारै रगत बग्न कम हुन्छ तर पाँच मिनेटसम्ममा पनि बन्द भएन भने अस्पताल जानुपर्छ।
पिनास हुँदा नाकबाट रगत बग्छ भन्ने धारणा पनि छ तर पिनासका कारणले मात्र रगत बग्दैन। पिनास भएको छ भने कहिलेकाहीँ सिँगानमा रगतको ढिक्का आउन सक्छ, यो पनि सामान्य हो। पिनासका कारणले नाथ्री फुटेर रगत आउने होइन।
नाकमा रगत आउनुलाई टाउकाको समस्याका रूपमा बुझ्ने चलन पनि छ। कसैले टाउकाको कुनै नसा फुटेर नाकबाट रगत बगेको हो कि भन्ने शंका गर्छन्। टाउकामा ठूलो चोट लागेको अवस्थामा नाकबाट रगत बग्ने सम्भावना हुन्छ तर यस्तो घटना विरलै हुन्छ।
नाक आफैमा धेरै रगत सञ्चार हुने अंग भएकाले कहिलेकाहीँ अचानक रगत आउन सक्छ। यसमा आत्तिनु हुँदैन। घरेलु उपचारले वा चिकित्सकले गरेको साधारण उपचारले नाकबाट रगत बग्ने समस्या समाधान भएन भने सामान्यदेखि जटिल शल्यक्रिया गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ नाकको अगाडिको भागबाट रगत बगेको छ भने औषधि लगाएर निको हुन्छ।
रगत बग्नुको कारण चाँडै पत्ता लगाउन सकिएन भने नाकमा पट्टी लगाएर रोक्न सकिन्छ। सामान्यतया दुई दिन पट्टी लगाएपछि ठीक हुन्छ। अझै ठीक भएन भने अपरेसन नै गर्नुपर्ने हुन्छ।
नाकबाट रगत बग्नुमा जाडो र गर्मी मौसमको प्रभाव कस्तो हुन्छ भन्ने जिज्ञासा धेरैको हुने गरेको छ। धेरैजसोलाई गर्मीमा रगत बग्छ भन्ने लाग्छ तर त्यस्तो होइन, जाडोमा पनि बग्छ। जाडो मौसममा हिटर र आगो ताप्ने गर्दा नाक सुख्खा हुन्छ। यस कारणले पनि जाडोमा नाथ्री फुट्ने सम्भावना हुन्छ।
नाकबाट रगत बग्ने समस्या भएका व्यक्तिले नाक कोट्याउने र चलाइरहने गर्नु हुँदैन। नाक सफा गर्ने भनेर पनि चलाउनु हुँदैन। सामान्यतया नाक सफा गर्न आवश्यक नै पर्दैन। बल गरेर सिँसिँ गर्नु हुँदैन। धेरै गह्रौं चिज उचाल्नु हुँदैन। धेरै तातो र पिरो खानु हुँदैन।