राप्तीसोनारीका १६ वर्षीय युवकमा रेविज भाइरस संक्रमण पुष्टि, कसरी हुन्छ रेविज ?

    • प्रियास्मृति ढकाल

  • २ चैत्र २०८१, आईतवार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.८ शम्शेरगन्जमा एक जना युवकलाई रेविज भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ती युवकमा रेविज पुष्टि गरेको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । एक हप्ता अघि ती युवकलाई भेरी अस्पतालमा लगिएको थियो । पानी निल्न गाह्रो हुने, होस गुमाउने, हावादेखि डराउने, टोकेको ठाउँमा दुख्ने लगायत रेविज भाइरसको संक्रमणसँग मिल्दाजुल्दा लक्षण चिन्ह देखिएपछि उनलाई भेरी अस्पताल नेपालगन्जमा लगिएको थियो ।

तर त्यहाँका चिकित्सकहरुले रेविज भाइरसको संक्रमण सम्भावना औल्याएपछि राप्तीसोनारी गाउँपालिकाले आफैले एम्वुलेन्सको व्यवस्थापन गरेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं पठाएको थियो । दुई वर्ष अघि ती युवक रोजगारीको शिलशिलामा भारतमा गएका थिए । उनी एक महिना अघिमात्रै घर फर्किएका थिए । उनको परिवार आर्थिक रुपमा कमजोर भएकाले पालिकाले उपचार व्यवस्थापनमा सहजीकरण गरेको छ । उनलाई उतै रेविज भाइरसको संक्रमण भएको अनुमान छ । तर लक्षण चिन्ह भने एक साता अघिदेखि मात्रै देखिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।

युवकमा रेविजको संक्रमणको पुष्टि भएपछि सर्ने डरले परिवार तथा स्थानीयबासी त्रसित भएका छन् । उनीहरुका परिवार तथा स्थानीयलाई रेविज भाइरसको संक्रमणबारे आइतवार जानकारी प्रदान गरिएको केसीले बताए । राप्तीसोनारी अस्पतालका मेडिकल अधिकृत डा.मग्नीराम चौधरी र स्वास्थ्य शाखा प्रमुख केसीले परिवार तथा समाजका कुनै एउटा व्यक्तिमा रेविज भाइरस संक्रमण पुष्टि भए अन्यमा पनि सरिहाल्यो की भनेर आत्तिहाल्नु पर्ने अवस्था नहुने बताएका थिए । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ ।

कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रो विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्ने र मानिसमा रेबिज रोग लाग्ने उनको भनाइ छ । रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्ने जोखिम हुने डा. पुनको भनाइ छ ।

रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने । जतिसक्दो चाँडो अस्पताल पुर्‍याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ । उनी भन्छन्–‘कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन । कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाइहाल्नु पर्छ ।’

  • २ चैत्र २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech