हामी मध्ये धेरैको कतिपय औषधिलाई टुक्र्याएर खाने बानी हुन्छ । कहिलेकाहीँ औषधिको डोज घटाउन वा सजिलोसँग खान यो तरिका अपनाइन्छ। कुनै बेला यदि औषधिको आवश्यक परेको छैन तर हल्का समस्या भइरहेको छ भने औषधि कम खाँदा जोखिम कम हुने सोचले औषधि भाँचेर खाने बानी हुनसक्छ ।
तर, यसरी आफुखुसी औषधिलाई टुक्रा बनाएर खान कति सुरक्षित हुन्छ, हामीले सोच्ने गरेका छौँ त ? यदि औषधि भाँचेर खान मिल्छ भनेर लेखिएको छ भने खान सकिन्छ । औषधिको बीच भागमा रेखा खिचिएको छ भने पनि खान मिल्छ । तर, यस्तो कुनै पनि निर्देशन दिइएको छैन भने खान हुँदैन । यसको बाबजुद पनि दुविधा भइरहेको छ भने चिकित्सककै परामर्श लिएर मात्र औषधि टुक्र्याउनुपर्छ।
यी औषधि टुक्र्याएर खान मिल्दैन
जिब्रोमा सहजै घुलिने औषधि, क्याप्सुल, कोटेड गरिएको औषधि, केमोथेरापीका औषधि र गर्भनिरोधक औषधि टुक्र्याएर खान हुँदैन । केही औषधिको असर विस्तारै-विस्तारै हुन्छ । यस्ता औषधि टुक्र्याएर खानु जोखिमपूर्ण हुनसक्छ । यसरी खाँदा औषधिको असर कम हुन्छ ।
कतिपय औषधिको बाह्य भाग कोटिङ गरिएको छ । त्यो औषधिलाई भाँच्दा भाँचिएको साइड हावाको सम्पर्कमा आएर बिग्रिन्छ । अर्को कुरा के हो भने औषधि भाँच्दा जति नै सिपालु भएपनि ठिक आधा नै भाचिँन्छ भन्ने हुँदैन।
कहिले आधा भागभन्दा बढी र कहिले कम पनि हुनसक्छ। त्यस्तै, भाँचेर राखेको औषधिलाई भण्डारण गर्न पनि कठिन हुन्छ । कतिपय त हावाको सम्पर्कमा आउँदा गुणस्तरको कमी हुन्छ ।
यस्तोमा औषधिको सन्तुलन बिग्रिन्छ । चिकित्सकले सुझाएअनुसार औषधि नलिँदा स्वास्थ्यमा सकारात्मक प्रभाव नहुनसक्छ ।
औषधि भाँचेर खाँदा प्रभाव घट्छ ?
एफडीएका अनुसार कुनै औषधिको आधा वा पूरा भागमा उत्तिनै मात्रामा औषधि हुन्छ । मात्राकै हिसाबमा काम गर्छ भन्ने कुनै मापदण्ड बनेको छैन ।
यद्यपि, कुनै औषधि हजार एमजी (मिलिग्राम) को छ। र, ५ सय एमजीको मात्र खानुपर्छ भने भाँचेर आधा खान सकिन्छ ।
आधा औषधि खाँदैमा त्यस्तो औषधिले असर गरिहाल्दैन । त्यस्तै, भाँचेर खाँदा हुन्छ भनेर लेखिएको औषधि पनि खाँदा यसको प्रभावमा कमी आउँदैन ।
तर, आधा राखेर राम्रोसँग प्याक गरेर भण्डारण गरिएको छैन भने त्यस्तो औषधिमा खराबी आउनसक्छ ।
बच्चालाई औषधि टुक्रा पारेर दिनु कति उचित ?
ठूलो मान्छेले खाने कुनै औषधि छ र त्यो बच्चालाई खुवाउनु पर्ने अवस्था भयो भने टुक्रा पारेर खुवाउने गरेको धेरै देखिन्छ । जुन गलत हो । प्राय औषधिको एमजी बढी हुन्छ भनेर यसो गरेको पाइन्छ। औषधिको टुक्राले कहिलेकाहीँ थप समस्या ल्याउन सक्छ। बरु, कम मात्रा भएको औषधि दिनु उपयुक्त हुन्छ । सबैभन्दा संवेदनशील स्वास्थ्य भनेको बच्चाको हुन्छ । त्यसैले, उनीहरुलाई दिइने कुनैपनि औषधि ‘ओभर द काउन्टर’ लिनु हुँदैन । चिकित्सकको सिफारिसमा भनेको जति मात्रा खुवाउनुपर्छ ।
औषधि प्रयोग गर्दा कस्ता सावधानी अपनाउने ?
-औषधि खाएको आधा घण्टासम्म अन्य खानेकुरा नखानु उचित हुन्छ ।
-औषधि सेवन गर्दा पानी सकेसम्म थोरै खानुपर्छ । प्यास लागेको खण्डमा त्यसको १५ मिनेटपछि खानु उपयुक्त हुन्छ ।
-औषधि प्याकेटबाट झिकेर हातमा राखिरहनु हुँदैन। औषधि खोल्नेबित्तिकै खाइहाल्नुपर्छ ।
-औषधि एउटा निकाल्दा अर्को पनि निस्किएमा त्यो खान योग्य हुँदैन। त्यसलाई जोगाएर अर्कोपटकका लागि साँच्न हुँदैन ।
-खाली पेटमा खानु भनिएको औषधि सोही अनुसार खानुपर्छ । खानापछि भनिएको औषधि पनि खाना खाइसकेपछि मात्र खानुपर्छ ।
-औषधिलाई हावा नछिर्ने बट्टामा राख्न मिल्छ । तर, खुल्लै छोड्न भने मिल्दैन ।
-सामान्य ज्वरो होस् की जटिल अवस्थाको औषधि जथाभावी किन्नुसट्टा अनिवार्य एकपटक चिकित्सकलाई देखाएर प्रयोग गर्नु उचित हुन्छ ।
-चिकित्सकले दिएको अवधिभन्दा अगाडि औषधि छोड्न हुँदैन। जस्तोकी, खोकीको औषधि ठिक भयो भनेर बीचमै छोड्न हुँदैन । सिफारिस भइसकेको अवधिसम्म लिनुपर्छ ।