आजबाट होली सुरुः होली खेल्दा के-के कुरामा ध्यान दिने ?

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०८१, बिहीबार

काठमाडौंः पछिल्लो समय होली पर्व धुमधामसँग मनाउने प्रचलन बढ्दो छ । आफ्न्त एकै ठाउँमा भेला भएर एक अर्कोलाई रङ लगाएर मिठोमिठो खाएर यो पर्व मनाउने गरिन्छ । फागु पूर्णिमाका दिन साना बालबालिकादेखि वृद्धवृद्धासम्म होलीको रङमा रङ्गिने गर्दछन् । पछिल्लो समय होली खेल्दा प्रयोग गरिने रङ रसायनयुक्त हुने हुँदा सचेत रहन चिकित्सकले सुझाव दिएका छन्।

छालारोग विशेषज्ञ डा प्रज्वल पुडासैनी होलीमा प्रयोग हुने रङमा विभिन्न किसिमका रसायनको प्रयोग हुने बताउँछन् । रसायनयुक्त रङले शरीरमा नकारात्मक असर पार्ने उनको भनाइ छ । उनका अनुसार होलीमा प्रयोग हुने रङले शरीरमा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने गर्छ । रसायनयुक्त रङले विशेषगरी छाला, कपाल, आँखा, श्वासप्रश्वास फोक्सो, मिर्गौला लगायतका विभिन्न अङ्गमा नकारात्मक असर पुर्‍याउने उनी बताउँछन् ।

रङमा कस्तो रसायन मिसाइन्छ

जति गाडा रङ त्यतिनै हानिकारक हुने डा पुडासैनीको तर्क छ । होलीमा प्रयोग हुने रातो, कालो, हरियो, निलो, गुलाबी, बैजनी, ग्लिटरयुक्त रङ, सेतो रङमा बढी रसायन मिसाइएको हुन्छ । होलीमा प्रयोग हुने सेतो, रातो, हरियो, निलो, कालो रङमा मर्करी, कपर, लिड जस्ता रसायन मिसाइएको हुने चिकित्सक बताउँछन् ।

छाला रोग विशेषज्ञ प्रा.डा. सविना भट्टराईका अनुसार रातो रङमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, निलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्त्व मिसाइएको हुन्छ । त्यस्तै टल्कने रङ अर्थात् ग्लिटरमा कतिपयमा सिसा लिड र टल्कने सिलिकाको प्रयोग गरेको पाइएको छ ।

केमिकलले स्वास्थ्यमा कस्तो असर गर्छ ?

रङमा मिसाइएका रसायनिक तत्त्वले छाला, आँखा, कान, फोक्सो, मिर्गौला लगायत शरीरका विभिन्न अङ्गमा नकारात्मक असर पुर्‍याउने डा.पुडासैनी बताउँछन्। होलीमा प्रयोग हुने रङले सामान्य एलर्जी हुनेदेखि छाला चिलाउने, पोल्ने, फोका आउने, दुख्ने, घाउ आउने, सेतो दुवी बढ्ने, कपाल टुक्रने जस्ता समस्या निम्त्याउने उहाँको भनाइ छ । होली लगतै छाला रातो हुने, चिलाउने, पोल्ने, रातो डाबर आउने, एलर्जी हुने जस्ता छाला सम्बन्धी समस्या लिएर बिरामी अस्पतालमा आउने उनी बताउँछन् ।

आँखामा रङ पसेमा आँखा चिलाउने, रातो हुने, पानी बग्ने जस्ता तत्कालीन समस्या देखिने उहाँले जानकारी दिनुभयो । त्यस्तै रङ कानमा पसेमा कान चिलाउने र पछि गएर कान पाक्ने उहाँ बताउनुहुन्छ । त्यो, बाहेक रसायनयुक्त रङले छालाको क्यान्सर, नसा सम्बन्धी समस्या, कलेजो फोक्सो, मिर्गौलामा दीर्घकालीन असर निम्त्याने उनले जानकारी दिए।

कसले होली नखेल्ने ?

दीर्घ रोगका बिरामीलाई होली नखेल्न चिकित्सक सुझाव दिन्छन् । मिर्गौला, दम, क्यान्सर, फोक्सोका बिरामीलाई रङका कर्णले असर गर्ने हुँदा सचेत हुनुपर्ने डा‍ पुडासैनीको भनाइ छ । छालामा घाउ भएका, गर्भवती, बालबालिलाई गाढा रङको प्रयोगबाट टाढै राख्नुपर्ने उहाँ बताउनुहुन्छ । यस्ता मानिसको छाला पातलो हुने हुँदा रङमा मिसाइएको रसायन छालाबाट भित्र पसेर शरीरका विभिन्न अङ्गमा असर गर्ने गर्छ ।

कस्तो रङ प्रयोग गर्ने ?

डा पुडासैनीका अनुसार झोल रङ निकै हानिकार हुन्छ। पाउडर रङमा केमिकल भए नभएको जाँच गर्न सकिने उनको भनाइ छ । उनी भन्छन् ,“पाउडर रङ किनेर पानीमा राम्रोसँग घुलियो भने केमिकल कम मिसाएको भन्ने मानिन्छ । रङ राम्रोसँग घोलिएन भने केमिकल मिसाएको हुन्छ ।” धेरै चम्किलो रङ, मट्टीतेल, मोबिलको गन्द आउने रङ प्रयोग सकेसम्म नगर्न उनको सुझाव छ । डा.पुडासैनीका अनुसार बास्नादार रङले छालामा गम्भीर प्रकारको एलर्जीदेखि क्यान्सर नित्याउन सक्छ । होलीमा सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नु उचित हुने उनको सुझाव छ । सयपत्री फूल पिसेर बनाइएको रङ, मेहन्दीको रङ, बेसार पनि होलीमा रङका रूपमा प्रयोग गर्न सकिने डा. पुडासैनी बताउँछन्।

होली खेल्दा ध्यान दिनुपर्ने कुरा

होलीको रङले बढी असर पार्ने टाउको, मुख, शरीरको अन्य भागमा विशेष ध्यान दिन चिकित्सकको आग्रह छ । सकेसम्म आँखा, कान तथा मुखमा रङ लाग्नबाट जोगाउनुपर्छ । होली खेल्नु भन्दा अगाडि टाउकोमा तेल लगाउने, अनुहारमा धेरै म्वाइस्चराइजर, सन बल्क क्रिम लगाउन चिकित्सकको सुझाव छ ।

छालामा एलर्जी भए होलीमा रङ नखेल्न चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार एलर्जी भएमा तुरून्त छाला सफा गर्नुपर्छ । रङ फालेर छाला सफा भएपछि तेल र म्वाइस्चराइजर क्रिम लगाउने गर्नुपर्छ । एलर्जीले धेरैनै गाह्रो भएमा चिकित्सकलाई देखाउनु पर्छ । होलीको रङ जबरजस्ती ननिकाल्न चिकित्सकको आग्रह छ । रङ जबरजस्ती माडेर निकाल्दा झन जटिल समस्या निम्तने हुन्छ । तेल क्रिम लगाएर होली खेलेमा होली खेलिसकेपछि रङ निकाल्न सजिलो हुने डा।पुडासैनीको तर्क छ ।

  • २९ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech