एचपीभी खोप अभियानको सार्थकता

यो खोपले बाँझोपना गराउने, परीक्षणका लागि ल्याइएको, स्वीकृति नभएको जस्ता अनेकन भ्रम फैलाइएका छन्, जुन मिथ्या हुन् ।


    • डा. प्रकाश बुढाथोकी

  • २३ फाल्गुन २०८१, शुक्रबार

तस्वीरः फाइल

विश्वमा महिलामा पाठेघरको मुखको क्यान्सर चौथो स्थानमा छ भने नेपालमा संख्यामा दोस्रो र मृत्यु दरमा पहिलो स्थानमा रहेको छ । विश्वमा वार्षिक ५ लाख ७५ हजारभन्दा बढी यसका नयाँ बिरामी देखिन्छन् । ३ लाख ११ हजार महिलाको यसै रोगका कारण बर्सेनि मृत्यु भइरहेको छ । सन् २०३० सम्ममा मृत्युदरको संख्या बढेर ७ लाखसम्म पुग्ने विश्व स्वास्थ्य संगठनको आकलन छ ।

सन् २०२० मा पाठेघरको मुखको क्यान्सरका कारण ६ लाख ४ हजार नयाँ बिरामी थपिए । तिनमा मृत्यु हुनेको संख्या ३ लाख ४२ हजार रह्यो । जसमा ९० प्रतिशत निम्न तथा मध्यम आय भएका देशका महिला थिए । नेपालमा हरेक वर्ष २ हजार २ सय ४४ नयाँ बिरामी थपिने र १ हजार ४ सय ९३ महिलाको पाठेघरको मुखको क्यान्सरकै कारण मृत्यु हुने गरेको छ ।

वास्तवमा यस्तो भयावह रोगको निदानका लागि खोपको आविष्कार हुनु ठूलो उपलब्धि हो । सन् २००५ मा मात्र विकास गरिएको र सन् २००६ को जुन ८ मा अमेरिकी खाद्य तथा अनुसन्धान प्रयोगशालाले गार्डसिल खोपलाई मान्यता दिएपछि युरोप र अमेरिकाका सबैजसो देशमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १२ वर्षका किशोरीलाई यो खोप दिन थालिएको हो । विश्व स्वास्थ्य संगठनले मान्यता दिएका एचपीभी खोपहरूमा सर्भरिक्स, गार्डसिल, गार्डसिल ९ र सिकोलिन ब्रान्डका ४ वटा खोप रहेका छन् । एचपीभी खोपमा बाइभ्यालेन्ट खोप–२ एचपीभी, क्वाड्रिभ्यालेन्ट–४ एचपीभी र न्यानोभ्यालेन्ट खोप–९ एचपीभी मुख्य मानिन्छन् ।

धेरै जनालाई खोप लगाउन सकिने विश्वासका साथ विश्व स्वास्थ्य संगठनले सन् २०२२ को अप्रिलमा गरेको एक अध्ययनमा एक मात्राको खोप पनि उत्तिकै प्रभावकारी हुने देखाएको छ । खोपले शरीरमा एचपीभीविरुद्ध एन्टिबडी निर्माण गर्छ । यो खोपले गर्भाशय मुखको भेजिनल र भल्भर क्यान्सर बनाउनेलगायतका एचपीभी संक्रमण नियन्त्रण गर्छ । खोप हेरी मात्रा र पटक फरक–फरक छन् ।

क्यान्सर हुनेमा ९५ प्रतिशत ४० वर्षमाथिको उमेर समूहमा पाइएको छ र सबैभन्दा बढी ४०—५० वर्ष उमेर समूहमा देखिने गरेको छ । ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर शारीरिक वा यौन सम्पर्कमा छालामार्फत एकअर्कामा सर्ने भाइरस एचपीभीसँग सम्बन्धित छ । यौन कार्यमा सक्रिय ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एक पटक एचपीभी भाइरस संक्रमित हुन्छ । २ सय प्रजातिका एचपीभीमा १३ प्रकारले मात्र क्यान्सर निम्त्याउँछन्, जसमा एचपीभी १६ र १८ ले ७० प्रतिशतसम्म क्यान्सरको जोखिम बढाउँछन् ।

सुरुको अवस्थामा कुनै पनि लक्षण देखिँदैन । असामान्य रूपमा तथा महिनावारी सुकिसकेका महिलामा योनिबाट रक्तस्राव हुनु ९० प्रतिशतमा क्यान्सर हुनु हो । सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्न तथा जनस्वास्थ्य समस्याबाट हटाउन ९०—९०—९० को लक्ष्य लिई रणनीति तथा कार्यनीति बनाइएको छ ।

जबकि, विश्व स्वास्थ्य संगठनले ९०—७०—९० को लक्ष्य लिएको छ । पहिलो ९० भनेको १० देखि १४ वर्ष उमेरभित्रका किशोरीलाई खोप दिने, दोस्रो ९० भनेको ३० देखि ४९ वर्ष उमेरका महिलाको क्यान्सरको स्क्रिनिङ वा परीक्षण हो भने तेस्रो ९० भनेको निदान भएका महिलामध्ये ९० प्रतिशतको उपचार गर्ने हो । लक्ष्य पूरा गर्न सके सन् २०३० सम्ममा यस क्यान्सरबाट हुने मृत्युदर ३३.९ प्रतिशत प्रतिएक लाख महिलामा घटाउन सकिन्छ । त्यस्तै सन् २१२० सम्ममा ९९ प्रतिशतले घटाउन सकिन्छ ।

हालै नेपाल सरकारले क्यान्सर नियन्त्रण रणनीति र पाठेघरको मुखको क्यान्सर रोकथाम निर्देशिका जारी गरेको छ, जसमा प्राथमिक रोकथाममा किशोरीलाई एचपीभी खोप सेवा प्रदान गर्नेछ । जनस्वास्थ्यको समस्याका रूपमा नरहेको र निवारण गर्नका लागि प्रतिएक लाख महिलामा क्यान्सर प्रतिवर्ष ४ जनाभन्दा कममा हुनुपर्छ तथापि हाल यो संख्या १६ रहेको छ ।

खोप अभियानबारे अफवाह र भ्रमहरू पनि उत्तिकै छन् । यो खोपले बाँझोपना गराउने, परीक्षणका लागि ल्याइएको, स्वीकृति नभएको जस्ता अनेकन भ्रम फैलाइएका छन् । जुन मिथ्या हुन् । खोप गाभीको सहयोगमा युनिसेफबाट आपूर्ति गरिएको हो । खोपको खेप (लट रिलिज) प्रमाण उक्त खोप उत्पादन गर्ने देशको नियामक निकायबाट जारी छ ।

औषधि ऐन, २०३५, खोप ऐन, २०७२ तथा खोप नियमावली, २०७४ अनुसार नेपालमा एचपीभी खोप आपूर्ति र प्रयोग भएको हो । खोपहरूको लट नम्बर र म्याद गुज्रिने मितिसमेत हरेक खोप भायलको लेबलमा लेखिएको हुन्छ । खोप लगाएपछि हुन सक्ने कुनै किसिमको घटनाको अनुसन्धान गर्न विज्ञहरू सम्मिलित स्वतन्त्र अनुसन्धान समिति कार्यरत छ ।

त्यसैले, नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रममार्फत प्रदान गरिने खोप विश्वासिलो, सुरक्षित र प्रभावकारी हुन्छन् । विगतमा एचपीभी खोप लगाइसकेका, विद्यालय नजाने १० वर्षमुनिका र १४ वर्षमाथिका किशोरी, गर्भवती, सक्रिय बिरामी ज्वरो, पहिला कुनै खोप लगाउँदा एलर्जी भएकालाई खोप लगाउन हुँदैन ।

त्यसो त नेपाल सरकारले आव २०७९/०८० को वार्षिक बजेटमै खोप कार्यक्रम सुरुआत घोषणा गरेको थियो तर त्यो घोषणामै सीमित भयो । आव २०८०/८१ को बजेटमा पनि क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिने थियो । समय–समयमा सानो मात्रामा नेपाल सरकार तथा विभिन्न संघसंस्थाले एचपीभी खोप लगाउने काम गरिसकेका छन् ।

विश्व स्वास्थ्य संगठनद्वारा प्रमाणित खोप विश्वमा १४५ देशले प्रयोग गरिरहेका तथा ६१ देशमा सञ्चालित एक मात्रा खोप सेकोलिन हो । नेपालमा औषधि व्यवस्था विभागले स्वीकृति दिएको छ । विश्वमा ७७ देशमा विद्यालयमा र ७६ देशमा पुरुषमा पनि खोप लगाइरहेका छन् । राष्ट्रिय खोप सल्लाहकार समितिको २०८१ असोज २३ को बैठकले मन्त्रालयलाई सिफारिस गरेको थियो, जसका आधारमा यहाँ खोप दिने निर्णय भएको हो ।

सरकारले विद्यालयबाहिरका १० देखि १४ वर्ष उमेरका तथा कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन पहिलो चरणमा खोप अभियान चलाएको थियो । ७३ जिल्लाका १५ लाख ६० हजार ८ किशोरीलाई फागुन ६ गतेसम्म एचपीभी खोप दिने लक्ष्य राखिएकामा लक्ष्यको ९२ प्रतिशत अर्थात् १४ लाख ३५ हजार ७ सय ८९ किशोरीले खोप लगाएका छन् ।

(डा. बुढाथोकी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् ।)

  • २३ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech