नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का गर्भवती र सुत्केरी आमालाई प्रोत्साहन सामाग्री प्रदान गरिउको छ । राप्तीसोनारी ६ आधारभूत स्वास्थ्य सेवा केन्द्र कमैयाडाँडाको आयोजना तथा राप्तीसोनारी गाउँपालिका वडा नं. ६ को सहयोगमा वडामा रहेका १४३ जना गर्भवती र ८६ जना सुत्केरी आमालाई प्रोत्साहन सामाग्री प्रदान गरिएको छ ।
गर्भवतीहरुलाई १ क्यारेट अन्डा, नुन, ब्रस मन्जन, साबुन वितरण गरिएको हो । यस्तै ८६ जना सुत्केरी आमालाई १/१ थान सुपानेट झुल बितरण गरिएको छ । गर्भ अवस्थामा सरसफाइ, पौष्टिक तत्व जस्ता कुरामा ख्याल राख्न, नियमित गर्भ जाँचको दर बढाउन प्रोत्साहन सामाग्री प्रदान गरिएकोे आधारभूत स्वास्थ्य सेवा केन्द्रले जनाएको छ । सुत्केरी अवस्थामा नवजात शिशु र आमालाई विभिन्न किट्जन्य रोगबाट बचाउन झुल बितरण गरिएको हो ।
राप्तीसोनारी वडा न. ६ का सदस्य लक्ष्मी थारुले गर्भवती र सुत्केरीका लागि वितरण गरिएको प्रोत्साहन सामाग्रीले आमा तथा बच्चाको स्वास्थ्यमा फाइदा पुर्याउने बताइन् । उनले सरसफाईका सामाग्रीहरुबाट विभिन्न किसिमको रोगहरुबाट बचाउन मद्दत पुर्याउने पनि धारणा राखिन् ।
‘स्वास्थ्य संस्थामा गर्भ जाँच तथा सुत्केरी हुने आमालाई प्रोत्साहन गर्न विगत तीन वर्षदेखि वडा कार्यालयले उक्त सामाग्रीहरु वितरण गर्दै आएको छ उनले भनिन्–‘यस्ता कार्यक्रमले आमा तथा नवजात शिशु मृत्युदरलाई समेत घटाउने छ ।’ आगामी दिनमा पनि गर्भवती तथा सुत्केरी आमाका लागि प्रभावकारी योजना ल्याउने तयारीमा आफुहरु रहेको उनले बताइन् ।