मातृ मृत्युदर रोक्न नियमित गर्भ चेकजाँचमा जोड

    • स्वास्थ्य पेज

  • २२ फाल्गुन २०८१, बिहीबार

कोहलपुरः बाँकेको कोहलपुरमा चालु आर्थिक वर्षको हालसम्म चार जना आमाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीका अनुसार चालु आर्थिक वर्षको हालसम्म चार जना आमाको मृत्यु भएको हो ।

वडा नं.९ मा दुई, वडा नं.१ र १० मा एक/एक जना आमाको मृत्यु भएको हो । उनीहरुको भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज, कोहलपुर मेडिकल कलेज र एचसीआरसी नेपालगन्जमा मृत्यु भएको ठकुरीले बताए । गतवर्ष एक जना आमाको मृत्यु भएको थियो ।

कोहलपुर नगरपालिकामा विहीबार आयोजना गरिएको समुदायमा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम निरन्तरता र विस्तार सम्वन्धी गोष्ठिमा बढ्दो मातृ मृत्युदर रोक्न प्रभावकारी स्वास्थ्य सचेतना र स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँचबारे गर्भवतीलाई जानकारी गराउन आवश्यक रहेको औल्याइयो । नगर उपप्रमुख संगिता सुवेदीले जनचेतनाको अभावका कारण पनि मातृ मृत्युदर रोक्न चुनौतिपूर्ण रहेको बताइन् ।

सहरी क्षेत्रमै मातृ मृत्युदर बढ्नु दुखद पक्ष भएको भन्दै उनले स्वास्थ्यकर्मीहरुलाई त्यसलाई कम गर्नेतर्फ केन्द्रीत भएर कामहरु गर्न निर्देशन दिइन् । स्वास्थ्य कार्यालय बाँकेकका पब्लिक नर्स अधिकृत विष्णु श्रेष्ठले अन्तिम अवस्थामा अस्पताल पुग्ने गरेका कारण पनि आमाहरु असुरक्षित हुने गरेको बताइन् । उनले नियमित गर्भ जाँच गराउन सुझाव दिइन् ।

वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु समेत सहभागि उक्त गोष्ठिमा जिल्ला समन्वय समितिका उपप्रमुख सिता कार्की, सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्मा लगायतले बढ्दो मातृ मृत्युदर कमका लागि स्वास्थ्य स्वमसेविकाहरुलाई समुदायस्तरमा प्रभावकारी परिचालनमा जोड दिएका थिए ।

  • २२ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech