राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानः ‘अयोग्य’ हरूको ‘भर्ती केन्द्र’

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०८१, मंगलवार

घोराही: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने अहिले राष्ट्रिय सतर्कता केन्द्रको छानबिनमा छन् । उपकुलपतिका लागि दाबी गरिएको उनको ‘अयोग्यता’ उपर सतर्कता केन्द्रले छानबिन गरिरहेको छ । डा. लामिछानेसँग उनको योग्यताको राय सुझाव माग गरेको सतर्कता केन्द्रले राय सुझाव उपर अध्ययन गर्न बाँकी रहेको जनाएको छ । ‘हामीले उहाँ(लामिछाने) को योग्यता बारे अध्ययनका लागि राय सुझाव माग गरेका थियौँ,’ सतर्कता केन्द्रका सूचना अधिकारी हिरामणी सुवेदीले भने ‘सतर्कता केन्द्रले अहिले यो बिषयमा अध्ययन गरिरहेको छ, निष्कर्ष आइसकेको छैन ।’

प्रतिष्ठानको नियमावली मिचेर नियुक्त भएको भन्दै डा.लामिछाने विरुद्ध परेको उजुरी केन्द्रले आफ्नो अध्ययनलाई जारी राखेको छ। केन्द्रका सूचना अधिकारी सुवेदीका अनुसार उपकुलपतिको अयोग्यता बारे एउटा मात्रै हैन, पटक पटक उनको अयोग्यता माथि प्रश्न उठाउँदै धेरै उजुरीहरू निरन्तर सतर्कता केन्द्रमा परिरहेका छन् । ‘उहाँ( उपकुलपति) को योग्यता बारे पटक पटक उजुरीहरू आइरहेका छन्,’ केन्द्रका सूचना अधिकारी सुवेदीले भने ‘अहिले सम्म उहाँका बिषयमा दुई तीन वटा फरक फरक उजुरी आइसकेका छन् ।’ पटक पटक आइरहेका उजुरीहरूलाई एकै साथ अध्ययन गरेर निष्कर्ष निकाल्ने तयारीमा सतर्कता केन्द्र छ ।

‘उजुरीहरू फरक फरक भएपनि विषय भने एउटै छ, यसर्थ सबै उजुरीहरूलाई एकै साथ राखेर अध्ययन गर्ने काम भइरहेको छ,’ सूचना अधिकारी सुवेदीले भने ‘सबै उजुरी उपर छानबिन सकेर सतर्कता केन्द्रले आफ्नो निष्कर्ष निकाल्ने छ ।’ उनी विरुद्धका सबै उजुरीमा दाबी गरिए अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावलीले तोकेको योग्यता लामिछानेको पुग्दैन । प्रतिष्ठानको नियमावली अनुसार ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा शास्त्र बिषयमा कम्तीमा स्नातकोत्तर (एमडि, एमएस, पिएचडी) उपाधि प्राप्त गरी प्राध्यापक पदमा नियुक्त भई कम्तीमा ५ बर्ष अनुभव हासिल गरेको व्यक्ति उपकुलपति नियुक्त हुनेछ’ भन्ने स्पष्ट व्यवस्था छ ।

लामिछाने एमडी, एमएस, पीएचडि उपाधि हासिल नभई त्रिवि शिक्षण अस्पतालमा एमबिबिएस अध्ययन पछि अमेरिका जोह्न अप्कीन्स युनिभर्सिटमा ११ महिने एमपिएच तालिम मात्रै लिएको देखिएको छ । तर एमपिएच तालिम लिएपछि कम्तीमा ३ बर्ष अध्ययन गरेर मात्रै पीएचडि उपाधिको मान्यता हुने स्पष्ट व्यवस्था छ । लामिछानेले पीएचडी उपाधि हासिल गर्न कम्तीमा तीन बर्ष थप अध्ययन गर्नुपर्ने दाबी उजुरीमा छ । यसर्थ उनी अहिले (एमडि, एमएस, पिएचडी) उपाधि पाइसकेका व्यक्ति नभएकाले उनी उपकुलपति बन्न अयोग्य रहेको दाबी गरिएको छ ।

२०७८ फागुन १० मा नियुक्त लामिछानेको अयोग्यता सम्बन्धीको अहिलेको मुद्दा मात्रै हैन, यो प्रतिष्ठान ‘अयोग्यहरूको भर्ती केन्द्र’ जस्तै बन्दै आएको देखिन्छ । यसअघि पनि तीन जना अयोग्य पदाधिकारीले पदबाट राजीनामा दिइसकेका छन् । प्रतिष्ठानका तत्कालीन शिक्षाध्यक्षडा. बसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा र डेपुटि रजिष्ट्रार झन्कार लामिछाने अनुसन्धानमा तानिएपछि राजीनामा दिएका हुन् । यी तीन पदाधिकारीहरू विरुद्ध पनि सतर्कता केन्द्रमा उजुरी परेको थियो । कारबाही पर्ने डरले तीनै जना पदाधिकारीले छानबिन पुरा नहुँदै राजीनामा दिएका थिए । सतर्कता केन्द्रको छानबिनमा तीनै जना अयोग्य साबित भएका थिए ।

‘यसअघि पनि तीन जना पदाधिकारीहरू विरुद्ध उनीहरूको योग्यता माथि प्रश्न उठाउँदै उजुरी परेको थियो,’ केन्द्रका एक अधिकारीले भने ‘सतर्कता केन्द्रको अध्ययनमा उनीहरू तिनै जना गलत बाटोबाट नियुक्त भएको प्रमाणित भएको थियो, तर उनीहरूले केन्द्रको छानबिन नसकिँदै राजीनामा दिइसकेका थिए ।’ केन्द्रले आफ्नो अध्ययन पुरा गरेर कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रलाई कारबाहीका लागि २०८० साउनमा सिफारिस गरेको थियो ।

शिक्षा अध्यक्षमा नियुक्त डा. बसन्त लामिछानेलाई सतर्कता केन्द्रले प्रतिष्ठानको नियमावली अनुरूपको योग्यता नपुग्ने भन्दै उनको नियुक्तिलाई गलत रहेको निष्कर्ष निकालेको थियो । प्रतिष्ठानको नियमावली अनुसार शिक्षाध्यक्ष हुन चिकित्सा शास्त्र उत्तिण गरी प्राध्यापक रहेको हुनुपर्ने प्रावधान छ । तर २०७६ साउन २४ मा सहप्राध्यापक रहेका डा. लामिछानेलाई २०७८ असार २२ गते गरिएको कोषाध्यक्ष नियुक्ती गलत रहेको सतर्कता केन्द्रले पुष्टि गरेको थियो । यसै गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा अधिकृत प्रकाश थापा यो प्रतिष्ठानमा बेतलवी बिदा बसी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रारको जागिर खान दाङ आइपुगेका थिए ।

पाटनमा चार बर्षे बेतवली बिदा लिएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार पदमा जागिर खान दाङ झरेका थापाको बेतलवी बिदा नै पाटन प्रतिष्ठानको नियमावली विपरीत थियो । यो प्रतिष्ठानको नियमावलीले एक पटकमा एक बर्ष नबढाई र सेवा अवधि भर तीन वर्षमा नबढाई बेतलबी बिदा लिन पाउने व्यवस्था गरेको छ । तर एकै पटक चार वर्षको बेतलबी बिदा बसेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रारको नियुक्ती खाएका थापाको नियुक्तिलाई पनि सतर्कता केन्द्रले गलत भनेको थियो ।

यसै गरी बेतलबी बिदा लिनका लागि १० बर्षे सेवा अवधि पुरा गरेको हुनुपर्ने भएपनि थापा स्थायी भएको ५ बर्ष तीन महिनामै बेतलबी बिदा बसेका थिए । यही गलत नियुक्तिका कारण सतर्कता केन्द्रले थापालाई कारबाहीका लागि अख्तियारमा सिफारिस गरेको थियो । थापा र लामिछानेलाई तत्कालीन शिक्षा मन्त्री तथा प्रतिष्ठानका सहकुलपति कृष्णगोपाल श्रेष्ठले नियुक्ती दिएका थिए । यसै गरी राजीनामा दिएका झन्कार लामिछानेलाई नियुक्ती दिन डेपुटि रजिष्ट्रार पद नै सिर्जना गरिएको थियो । उनी २०७७ मंसिर ७ गते नयाँ पदको सिर्जना गरेर जागिरे बनेका थिए । लामिछानेलाई प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. संगिता भण्डारीले नयाँ पद सिर्जना गरेर नियुक्त गरेकी थिइन् ।

  • २० फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech