मौसमी फ्लु र मौसम योसँगै तीन वटा कुरा बुझ्नुपर्ने हुन्छ। एउटा एजेन्ट अर्थात् रोग लगाउने एजेन्टको कुरा हुन्छ। त्यसपछि त्यो रोग लिने होस्ट को हो भन्ने हुन्छ। र अर्को वातावरण हो। वातावरणमा ‘माइक्रो इभारमेन्ट’ र ‘म्याक्रो इन्भारमेन्ट’ भन्ने हुन्छ।
फ्लु एक किसिमको भाइरसले गर्दा हुन्छ। यदि तपाईंको शरीरमा फ्लुको भाइरस बस्नको लागि उपयुक्त ठाउँ भयो भने त्यो माइक्रो इनभार्मेन्ट भयो। ‘म्याक्रो इन्भार्मेन्ट’ अन्तरगत बाहिरको विषय पर्छ। यो अन्तर्गत तीन सिजनको कुरा आउँछ। एउटा ठ्याक्कै चिसो लाग्न सुरू गर्दा अनि अर्को ठ्याक्कै तातो लाग्न सुरू गर्दा हुन्छ। त्यस्तै अर्को आद्रता भन्ने हुन्छ। यो विशेष गरेर चिसो मौसममा हुन्छ। जस्तो कुहिरो लाग्दा हुनसक्छ।
फ्लु लागिरहनुको एउटा कारण हामी आफै किन हो भने हामीले कुनै उपचार पूर्ण रूपमा गर्दैनौं। अहिले हामीसँग खोप पनि छ। त्यसैले बच्चा, जेष्ठ नागरिक रोगसँग लड्ने क्षमता कम भएकाहरूलाई खोप लगाउन सकिन्छ। तर त्यसतर्फ धेरैको ध्यान गएको पाइँदैन।
अहिले हाम्रो जनसंख्या ३ करोड छ भने झण्डै डेढ करोड बाहिर निस्किन्छन्। जति धेरै मान्छेसँग भेट भयो, त्यति धेरै श्वासप्रश्वासका रोगहरू बढ्छन्।
कसरी जोगिने?
फ्लुबाट जोगिने भनेको यसको चेन भत्काएरै हो। यसको लागि पहिला एजेन्टको पहिचान गर्ने नै हो। भाइरसमा हामीले बुझ्ने भनेको इनफ्लुएन्जा हो। त्यति मात्र होइन भारत र चीनमा देखिएको ‘ह्युमन मेटा न्यूमोभाइरस’ बारे हामीकहाँ अध्ययन भएन। अर्को कुरा फ्लु कहिले एच वान, एन वान बनेर अनि कहिले एच थ्री, एन टु बनेर आउँछ भने कहिलेकाहीँ जनावारबाट पनि सर्ने फ्लु हुन्छ।
हामीले त्यसको किटान गर्न सकियो भने जोगिन सकिन्छ। कुनै भाइरसबाट जोगिन व्यक्तिगत हेरचाह महत्वपूर्ण हुन्छ। जस्तो: मास्क लगाउने, हात धुने कुरा महत्वपूर्ण हुन्छ। एक जना मान्छेले कम्तीमा दिनमा २ सय चोटि हात नाकमा लैजान्छ होला। तर हात कति पटक धुन्छ भन्ने महत्वपूर्ण प्रश्न हो। त्यस्तै, वातावरणको प्रदुषणलाई नीतिगत तहबाटै कम गराउन पहल हुनुपर्छ।
फ्लु लागिहाल्यो भने के गर्ने?
फ्लु लागिसकेपछि सबभन्दा पहिला खतराको संकेत पहिचान गर्नुपर्छ। गम्भीर खतराको संकेत पहिचान गर्ने भनेको यदि तपाईं हेर्दैमा चिसो, पिरो देखिनुहुन्छ, हातमा रूमाल बोकिरहनुभएको छ अनि तारन्तार हाच्छियुँ गरिरहनुभएको छ भने होसियारी अपनाउनु पर्छ। योसँगै उच्च ज्वरो छ, निल्न सक्नुहुन्न छिटो/छिटो सास फेरिरहनुभएको छ र त्यसको कारणले तपाईंको रक्तचाप कम हुँदै गयो भने यो खतराको संकेत हो भनेर बुझ्नुपर्छ। यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिन जरूरी छ।
अन्य अवस्थामा सुत्ने आराम गर्ने हो। अरू बेला ५ घण्टा सुत्ने हो भने यो बेलामा ८ घण्टा आराम गर्नुपर्छ। अनि पानी पर्याप्त पिउनुपर्छ। पानी, दाल, झोलिलो खाना प्रशस्त खाने अनि टाउको नदुख्न प्यारासिटामोल खानुपर्छ। तर ब्रुफिन लगायतका औषधि खान हुँदैन।
सामान्यत भाइरस आउन ३ दिन अनि बस्न ३ दिन र छोड्न ३ दिन गरेर ९ दिन रहन्छ। यसलाई ४ दिनमा घटाउन सकियो भने फाइदा हुन्छ। यसो भनिरहँदा कुनै खतराको संकेत देखियो भने चिकित्सकसँग परामर्श लिनुपर्छ।
डेंगीपनि जहिले सधैं देखिन थाल्यो
पहिला पहिला एउटा सिजनमा मात्र देखिने डेंगी अहिले बाह्रै महिना जस्तो देखिन थालेको छ। यो जलवायु परिवर्तनको प्रभाव हो। हामीले स्वीटर लगाएर हिँड्ने समय ३/४ महिना मात्र भयो। जसले गर्दा लामखुट्टेका लागि उपयुक्त वातावरण थपियो। तातोपनासँगै लामखुट्टेको बस्न सक्ने क्षमता बढ्न थाल्यो। अर्को कुरा परीक्षण पनि धेरै हुन थालेको छ। जसले गर्दा बिरामी संख्या बढेको हो।
लामखुट्टेको लार्भाको प्रक्रिया रोक्न सकिएन भने डेंगीको प्रकोप रोक्न कठिन हुन्छ। योसँगै व्यक्तिगत रूपमा अपनाउने सचेतता छँदैछ। पहिला २ सय मिटरभन्दा माथि नसक्ने लामखुट्टे अहिले २/३ तलामाथि समेत जान सक्ने भएका छन्।
डेंगी र फ्लु कसरी छुट्याउने?
डेंगी र फ्लु उस्तै उस्तै लागे पनि यसको पहिचान गर्न खासै गाह्रो छैन। आँखाको गेडी धेरै दुख्यो, ढाड धेरै दुख्यो र चर्को ज्वरो आयो अनि सुख्खा देखियो भने त्यो डेंगी हुनसक्छ। अनि फ्लु भनेको सामान्यतया नाक रातो हुने, निल्न गाह्रो हुने लगायत हुन्छ। डेंगीमा जस्तो फ्लुमा चर्को ज्वरो आउँदैन।