नगरबासीको गुनासो बोकेर नेपालगन्ज उपमहानगरको टोली पुग्यो संजिवनी

    • स्वास्थ्य पेज

  • १५ फाल्गुन २०८१, बिहीबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज (हाल संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि)का विषयमा स्थानीय नगरबासीहरुले विभिन्न खाले गुनासो, चासो र चिन्ता व्यक्त गर्न थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले आज अनुगमन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दको नेतृत्वमा गएको उपमहानगरको टोलिले स्थानीय नगरबासीको चासोबारे अस्पताल व्यवस्थापन पक्षसँग छलफल गरेको छ ।

१५ वेडका अस्पतालहरुको मात्रै अनुगमन गर्ने जिम्मेवारी पाएको स्थानीय सरकारले स्थानीयको चासो, चिन्ता र गुनासो व्यक्त हुनेक्रम बढेपछि संजिवनी कलेजको पनि अनुगमन गरेको हो । त्यसक्रममा अस्पताल व्यवस्थापन पक्षले संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले अस्पताल संचालन गर्न कानूनी प्रक्रियामा रहेको जानकारी दिएको थियो । स्वास्थ्य संस्था संचालन तथा स्तरोन्नति मापदण्ड २०७२ अनुसार १०० बेडको अस्पताल संचालनका लागि प्रदेशबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

संजिवनीले गएको माघ २९ गते स्वास्थ्य कार्यालय बाँकेलाई अस्पताल नवीकरणका लागि सिफारिस पत्र प्रदान गर्न निवेदन दिइएको थियो । स्वास्थ्य कार्यालयले फागुन २ गते लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयलाई अस्पताल नवीकरणका लागि सिफारिस पत्र पठाएको छ । अहिले अस्पताल नवीकरण स्वीकृति सम्वन्धी प्रक्रिया विचारधीन अवस्थामा रहेको संजिवनीको व्यवस्थापन पक्षले बताएका थिए । त्यसक्रममा नेपालगन्ज उपमहानगरपालिकाको टोलिले स्थानीय नगरबासीले उठाएका चासो र चिन्तालाई सम्वोधन गर्दै भएका कमीकमजोरीहरुलाई सुधार्न निर्देशन दिएको महाशाखा प्रमुख चन्दले स्वास्थ्य पेजलाई जानकारी दिए ।

संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले हस्पिटल तथा मेडिकल शैक्षिक कार्यक्रम (व्यवसाय) संचालन गर्न पाउने गरी नेपालगन्ज उपमहानगरपालिकाबाट गएको माघ १३ गते नै स्वीकृति प्राप्त गरेको छ । २०८१ साउन १० गते नेपालगन्ज हस्पिटल रिसर्च एण्ड ट्रेनिङ सेन्टर प्रालि र संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि मर्ज भएका थिए । त्यसअघि नेपालगन्ज हस्पिटल रिसर्च एण्ड ट्रेनिङ सेन्टर प्रालिसँग लिजमा लिएर लर्डबुद्धले १०० बेडको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल संचालन गर्दै आएको थियो । लर्डबुद्धले अव कोहलपुर र चिसापानीमा मात्रै अस्पताल र कलेज संचालन गर्नेछ ।

नेपालगन्ज मेडिकल कलेजका सम्पूर्ण संरचनाहरु भने संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिका हुन् । ती संरचनाहरु संजिवनीलाई हस्तान्तरण गर्नका निमित्त कानूनी प्रक्रियाहरु पूरा गर्नेक्रम चलिरहेको छ । गएको साउन १० गते नेपालगन्ज हस्पिटल रिसर्च एण्ड ट्रेनिङ सेन्टर प्रालिको नाम परिवर्तन भइ संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिलाई कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति प्राप्त भइसकेको छ ।

कम्पनी ऐन २०६३ को दफा १८४ मा नेपालको संबिधान र प्रचलित कानून बमोजिम वैधानिक रुपमा दर्ता रहेको कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालयको बाहिर सबैले देख्ने गरी कम्पनीको नाम, ठेगाना नेपालीमा लेखिएको साइनवोर्ड राख्नुपर्ने उल्लेख छ । सोहीअनुरुप संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको वोर्ड राखिएको संजिवनी कलेजले जनाएको छ ।

  • १५ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech