नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकालाई लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले चौंबिस घन्टा नबित्दै जवाफ दिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सोमवार लर्डबुद्धलाई पत्र लेख्दै संजिवनी संचालनको अनुमति प्राप्त भए नभएको बारे लिखित जवाफ माग्दै टाँसिएको वोर्ड हटाउन निर्देशन दिएका थिए । लर्डबुद्धले त्यसको जवाफ दिँदै बिधि र प्रकिया अनुसार संजिवनीको वोर्ड राखिएको हो भनेको छ ।
लर्डबुद्धले गैरकानूनी एवम् अवैधानिक रुपमा अस्पताल संचालन नगरे र वैधानिक रुपमा दर्ता भएको संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले आफ्नो अस्पतालमा कार्यालय संचालन प्रयोजनार्थ बोर्ड लगाएको स्पष्ट पारेको छ । लर्डबुद्धले भनेको छ–‘हाल लर्डबुद्ध एजुकेशनल लिमिटेडले नै प्रचलित काूनन बमोजिम अस्पताल संचालन गरी राखेको छ । उक्त अस्पतालको बोर्ड समेत यथावत नै रहेको छ । संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले उक्त अस्पताल संचालन गर्न कानूनी प्रक्रियामा रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
२०८१ साउन १० गते नेपालगन्ज हस्पिटल रिसर्च एण्ड ट्रेनिङ सेन्टर प्रालि र संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि मर्ज भएका थिए । त्यसअघि नेपालगन्ज हस्पिटल रिसर्च एण्ड ट्रेनिङ सेन्टर प्रालिसँग लिजमा लिएर लर्डबुद्धले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल संचालन गर्दै आएको थियो । लर्डबुद्धले अव कोहलपुर र चिसापानीमा मात्रै अस्पताल र कलेज संचालन गर्नेछ ।
नेपालगन्ज मेडिकल कलेजका सम्पूर्ण संरचनाहरु भने संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिका हुन् । ती संरचनाहरु संजिवनीलाई हस्तान्तरण गर्नका निमित्त कानूनी प्रक्रियाहरु पूरा गर्नेक्रम चलिरहेको छ । गएको साउन १० गते नेपालगन्ज हस्पिटल रिसर्च एण्ड ट्रेनिङ सेन्टर प्रालिको नाम परिवर्तन भइ संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिलाई कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति प्राप्त भइसकेको छ ।
कम्पनी ऐन २०६३ को दफा १८४ मा नेपालको संबिधान र प्रचलित कानून बमोजिम वैधानिक रुपमा दर्ता रहेको कम्पनीले आफ्नो रजिष्टर्ड कार्यालयको बाहिर सबैले देख्ने गरी कम्पनीको नाम, ठेगाना नेपालीमा लेखिएको साइनवोर्ड राख्नुपर्ने उल्लेख छ । सोहीअनुरुप संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको वोर्ड राखिएको लर्डबुद्ध एजुकेशल एकेडेमीका उपनिर्देशक श्याम कुमार शर्मा बताउँछन् ।
गएको जेठ १ गते संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिबाट अस्पताल संचालनको स्वीकृतिका लागि अनुरोध गरिए बमोजिम लुम्विनी प्रदेश स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति नियमावली २०८० को नियम ६(२) र (३) वमोजिम स्थलगत अनुगमन टोलिबाट प्राप्त प्रतिवेदन र सोसँग सम्वन्धीत कागजातसहितको फायल गएको असोज १८ गते स्वास्थ्य कार्यालयमा पेश गरिएको र स्वास्थ्य कार्यालयबाट लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयमा सिफारिस सहित पत्रचार गरिएको पनि शर्माले बताए ।
संजिवनीले गएको माघ २९ गते स्वास्थ्य कार्यालय बाँकेलाई अस्पताल नवीकरणका लागि सिफारिस पत्र प्रदान गर्न निवेदन दिइएको थियो । स्वास्थ्य कार्यालयले फागुन २ गते लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयलाई अस्पताल नवीकरणका लागि सिफारिस पत्र पठाएको छ । अहिले अस्पताल नवीकरण स्वीकृति सम्वन्धी प्रक्रिया विचारधीन अवस्थामा रहेको पनि शर्माले स्पष्ट पारेका छन् ।
संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले हस्पिटल तथा मेडिकल शैक्षिक कार्यक्रम संचालन गर्न पाउने गरी नेपालगन्ज उपमहानगरपालिकाबाट गएको माघ १३ गते स्वीकृति प्राप्त गरेको छ ।