नेपालगन्जमा भयानक दुर्घटनाः पिकअप भ्यान घरमै पस्यो, बालकको मृत्यु, तीन जना घाइते

    • स्वास्थ्य पेज

  • १३ फाल्गुन २०८१, मंगलवार

नेपालगन्जः अनियन्त्रित भएर भ्यान घरभित्र छिर्दा नेपालगन्जमा एक जना बालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका– १२ बेलासपुर स्थित पार्किङमा रहेको भे १ च ३८९५ नम्वरको पिकअप भ्यान निकाल्नेक्रममा अनियन्त्रित भएर स्थानीय सञ्जय सिलवालको घरमा छिरेको थियो ।

त्यसक्रममा ६ वर्षीय बालक दृष्यसिंह बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनामा ४३ वर्षीय सञ्जय सिलवाल पनि घाइते भएका छन् । उनको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा उपचार भइरहेको छ । उनको खुट्टा भाँचिएको छ । यस्तै घाइते अन्य दुई जना ६ वर्षीया सृष्टि गौतम र ८ वर्षीय सन्जीप सिलवालको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले भ्यान चालक कोहलपुर नगरपालिका–२ बस्ने २३ वर्षीय सुरज थारु र नेपालगन्ज उपमहानगरपालिका–१३ बुलबुलिया बस्ने ३८ वर्षीय लियाकत अलिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटना आज दिउँसो १ बजेतिर भएको हो ।

  • १३ फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech