स्वास्थ्य मन्त्रालयद्वारा अव हरेक साताको शुक्रबार दिउँसो १ः३० बजे मिडिया ब्रिफिङ !

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिडिया ब्रिफिङ सुरु गरेको छ । शुक्रबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले यसबारे जानकारी दिए ।

उनले मिडिया ब्रिफ्रिङमा मन्त्रालयले गरेका विविध नीतिगत निर्णय तथा स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारी दिने बताए। उनले नेपालको संविधानले मौलिक हकको रूपमा सूचनाको हकलाई प्रत्याभूत गरेकाले सर्वसाधारणमा सहजरूपम सूचना पुर्‍याउन ब्रिफिङ सुरु गरेको बताए । ब्रिफिङ हरेक साताको शुक्रबार दिउँसो १ः३० बजे हुने उनको भनाइ छ ।

‘‘नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गत एक हप्तामा भएका नीतिगत निर्णय, प्रमुख कार्यहरू तथा स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण सूचना तथा जानकारीहरू सर्वसाधारणमा सहजरूपमा प्राप्त होस् भन्ने उद्देश्यले साप्ताहिकरूपमा ब्रिफिङ गर्ने निर्णय गरिएको छ ।

मनेपालको संविधानले मौलिक हकको रूपमा सूचनाको हक प्रत्याभुत गरेको हुनाले आम नागरिकलाई यस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका निर्णयहरू चाहे त्यो नीतिगत होस् चाहे कार्यगत रूपमा होस् ती चिजहरू पनि आमनागरिकलाई जानकारी दिने यस मिडिया ब्रिफिङको प्रमुख उद्देश्य रहेको जानकारी गराउन चाहन्छु ।,’’ उनले भने, ‘‘स्वास्थ्य मन्त्रालयको परामर्शमा सुरु भएको मिडिया ब्रिफिङ हरेक शुक्रबार दिउँसो १ः३० बजे सञ्चालन हुने छ । बढीमा आधा घण्टा र नभए १५ मिनेट मिडिया ब्रिफिङ रहने यहाँहरूलाई जानकारी गराउँछु ।’’

प्रवक्ता डा। बुढाथोकीले सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरको निवारण गर्ने लक्ष्य राखेकाले समयमै उपचार गर्न सकियो भने पाठेघरको मुखको क्यान्सर निको हुन्छ भने अभियान सञ्चालन गरेको बताए। हालसम्म विभिन्न विधिबाट ९२ हजार २७३ महिलाले पाठेघरको मुखको क्यान्सर स्किनिङ गरेको उनको भनाइ छ । उनले ३० देखि ४९ वर्षका महिलाहरूले पाठेघरको मुखको क्यान्सरबाट बच्न स्किनिङ गराउन आग्रह गरे । पाठेघरको मुखको क्यान्सरको स्किनिङ देशभर सञ्चालन भई रहेको उनको भनाइ छ ।

‘‘नेपाल सरकारले सन् २०३० सम्ममा पाठ्यघरको मुखको क्यान्सरलाई निवारण गर्ने लक्ष्य पनि लिएको छ । यही लक्ष्य अनुसार नेपाल सरकारले एचपिभी खोपसँग देशभरका ३० देखि ४९ वर्षसम्मका महिलाहरूका पाठेघरको मुखको क्यान्सर स्किनिङ कार्य एकसाथ देशभर सञ्चालन गरेको छ ।,’’ उनले भने, ‘‘यसआर्थिक वर्षको मध्यसम्ममा भिआइए विधिबाट ६० हजार नौ सय ३७ एपिबी डिएनए विधिबाट नौ हजार नौ सय २७ र प्याफ विधिबाट २१ हजार चार सय नौ गरी जम्मा ९२ हजार २७३ जना महिलाहरूले पाठेघरको मुखको क्यान्सरको स्किनिङ गराउनुभएको जानकारी गराउन चाहन्छु । यदि तपाई वा तपाईंको परिवारमा पनि ३० देखि ४९ वर्षसम्मका महिला हुनुहुन्छ भने पाठेघरको मुखको क्यान्सरको स्किनिङ गराई यस रोगबाट बच्न र बचाउन र नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न सहयोग गर्नुहुन अनुरोध गर्दछु ।’’

प्रवक्ता डा. बुढाथोकीले नसर्ने रोगका पहिचानका लागि फागुन महिनाभर एक महिने अभियान सञ्चालन भई रहेकाले मधुमेह, उच्च रक्तचाप, मिर्गौलारोगलगायत प्राणघात रोगबारे नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अर्धवार्षिक प्रगति समीक्षाअनुसार स्वास्थ्य मन्त्रालय ८१.८ अङ्कसहित तेस्रो स्थानमा रहेको जानकारी दिए।

  • ९ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech