बढ्दो क्यान्सर रोगको प्रकोप: क्यान्सर उपचारको अवस्था र भविष्य

    • डा रमिला शिल्पकार / क्यान्सर रोग विशेषज्ञ

  • ९ फाल्गुन २०८१, शुक्रबार

विश्वव्यापी रूपमा बढ्दो क्यान्सर रोगको प्रकोपसँग नेपाल पनि अछुतो छैन । हरेक वर्ष बिरामीको संख्या बढ्दो छ । प्रारम्भिक पहिचान नहुनु, सीमित उपचार सुविधा, आर्थिक अभाव र समाजमा विद्यमान क्यान्सरसम्बन्धी डर तथा जनचेतनाको अभावले हजारौं बिरामीको मृत्युको कारण बनेको छ, क्यान्सर । तैपनि पछिल्लो समय भएका नयाँ स्वास्थ्य सेवा पूर्वाधारको प्रगति, विभिन्न उपचार प्रविधि, जनचेतना एवं स्वास्थ्य नीतिले क्यान्सर उपचारले भविष्यमा फड्को मार्ने निश्चित देखिन्छ ।

नेपालमा क्यान्सर नसर्ने रोगबाट हुने मृत्युको तेस्रो स्थानमा छ । फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तनको क्यान्सर र आन्द्रा तथा पेटको क्यान्सर नेपालमा विद्यमान प्रमुख क्यान्सर हुन् । चुरोट, गुट्काको सेवन, वातावरणीय प्रदूषण, खानपानमा परिवर्तन, स्वस्थ जीवनशैलीको अभाव एवं आनुवांशिक कारण क्यान्सरको जोखिम बढ्दो छ । हाल क्यान्सरको उपचार सरकारी एवं निजी स्वास्थ्य संस्थाबाट भइरहेको छ । क्यान्सर विशिष्टीकृत अस्पतालको संख्या अझै सीमित छ । सरकारले हरेक प्रदेशमा विशिष्टीकृत क्यान्सर अस्पताल बनाउने लक्ष्य लिएको छ, जुन अपरिहार्य हो ।

अहिले क्यान्सरको उपचार सेवा नेपालकै जेठो अस्पताल वीर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला मेमोरियल क्यान्सर अस्पताल, टिचिङ अस्पताल, सिभिल अस्पताललगायत सरकारी एवं सार्वजनिक अस्पताल तथा विभिन्न निजी अस्पतालले प्रदान गर्दै आएका छन् । क्यान्सर उपचारमा मूलतः क्यान्सर रोकथाम, प्रारम्भिक पहिचान, स्क्रिनिङ, क्यान्सर उपचारसहित ‘प्यालेटिभ केयर’ हुन्छ ।

क्यान्सर रोकथाममा हामीले सबैभन्दा धेरै ध्यान दिन जरुरी छ । क्यान्सर लाग्नै नदिन सुर्तीजन्य पदार्थको बिक्रीमा न्यूनीकरणका उपाय कडाइका साथ लागू गर्नुपर्छ । खोपबाट जोगाउन सकिने क्यान्सरका लागि एचपीभी खोप, हेपाटाइटिस ‘बी’ लाई सुदृढ गर्नुपर्छ । पछिल्लो समय नेपाल सरकारले सुरु गरेको एपीभी खोप अभियान एकदम स्वागतयोग्य छ । विशेषगरी वायु प्रदूषण कम गर्न उचित उपाय अपनाउन जरुरी देखिन्छ । खाद्यान्नको गुणस्तर, अनुगमन, विषादीका परिमाण परीक्षण नियमित गरिनु अपरिहार्य छ । क्यान्सरको प्रारम्भिक चरणमा पहिचान भएमा र आवश्यक उपचारद्वारा पूर्ण रूपमा निको हुन्छ । त्यसकारण समाजमा विद्यमान क्यान्सर रोगप्रतिको नकारात्मक डरलाई हटाउन सचेतना र सही सूचनाको प्रवाह आजको प्रमुख आवश्यकता हो ।

क्यान्सरको उपचारले पछिल्लो दशक संसारमा निकै ठूलो फड्को लिएको छ । आधुनिक उपचार शैलीले कुनै बेला ‘मृत्युदण्ड’ का रूपमा रहेको क्यान्सर अहिले एक निर्मूल हुने दीर्घकालीन रोगका रूपमा परिवर्तन गरेको छ । क्यान्सरको उपचारका विभिन्न प्रविधि छन्, जुन सबैजसो नेपालमा उपलब्ध छन् । क्यान्सरका उपचार प्रविधिमा अपरेसन विधि, रेडियोथेरापी, औषधिबाट हुने उपचार जस्तैः किमोथेरापी, हारमोनल थेरापी, तारगेटेड थेरापी र इम्युनोथेरापी नेपालमै उपलब्ध छन् । क्यान्सर उपचारमा प्यालेटिभ केयरको पनि ठूलो भूमिका हुन्छ, जुन सेवा पनि नेपालमा उपलब्ध छ ।

अहिले समयमै क्यान्सरसम्बन्धी विशेषज्ञ डाक्टरको कमी देखिन्छ । क्यान्सरको पहिचानमा जरुरी डायग्नोस्टिक सेवाहरू जस्तैः प्याथोलोजी सेवालाई सुदृढ गर्न आवश्यक छ । क्यान्सरको उपचार थोरै केन्द्रमा हुने कारण धेरैजसो बिरामी आफ्नो घर महिनौं छोडेर उपचारका लागि बस्नुपर्ने बाध्यता छ । त्यस्तै पेट स्क्यान सरकारीस्तरमा नहुनु, रगतसम्बन्धी क्यान्सरमा अपरिहार्य बोनम्यारो ट्रान्सप्लान्ट सिभिल अस्पतालमा मात्र हुनुले धेरै बिरामीले लामो पालो पर्खिनुपर्ने बाध्यता छ । क्यान्सर उपचारमा एकदमै जरुरी इम्युनोहिस्टो केमिस्ट्री एवं नेक्स जिन सिक्वेन्सिङ (एनजीएस) जस्ता डायग्नोस्टिक परीक्षण अझै पनि पूर्ण रूपमा नेपालमा उपलब्ध छैन । यसको सुधारमा सरकारले ध्यान दिन जरुरी देखिन्छ ।

क्यान्सर उपचारका लागि आवश्यक चिकित्सक (मेडिकल अंकोलोजिस्ट, रेडिएसन अंकोलोजिस्ट, हेमाटोलोजिस्ट, सर्जिकल अंकोलोजिस्ट, प्यालेटिभ केयर फिजिसियन, अंकोलोजी नर्स, मेडिकल फिजिस्ट, रेडिएसन टेक्नोलोजिस्टजस्ता दक्ष जनशक्ति निर्माणको पनि प्रमुख आवश्यकता देखिन्छ । देशको हरेक भागको नागरिकले सहज क्यान्सर उपचार पाउन यो अपरिहार्य छ ।

क्यान्सर उपचार सरकारका नीति एवं पहल सराहनीय छन् तर त्यसमा सुधार पनि आवश्यक छ । क्यान्सरको उपचारमा प्रयोग हुने धेरैजसो औषधि नेपालमा उपलब्ध छन् तर उपलब्ध गराउने प्रक्रिया अझै जटिल देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले क्यान्सरका लागि अपरिहार्य औषधिको प्रयोग अनुमति सहज गराउन सरकारी पहल एकदम जरुरी छ । थोरै रेडिएसन मेसिनका कारण सरकारी अस्पतालमा रेडिएसनका लागि महिनौं कुर्नुपर्ने बिरामीको बाध्यता छ ।

क्यान्सरको औषधि उत्पादन स्वदेशमा प्रवर्द्धन गर्न पनि निकै आवश्यक देखिन्छ । हालको अवस्थामा केही खाने चक्की मात्र नेपालमा उत्पादन हुन्छ भने अरू सबैजसो सुई, औषधि विशेष गरी भारत वा बंगलादेशबाट आयात हुन्छ । क्यान्सरको उपचार एक संवेदनशील पाटो भएकाले यसमा प्रयोग हुने औषधिको गुणस्तर मापन नियमित रूपमा हुनुपर्छ । रेडियोथेरापी मेसिनको अवस्थामा पनि हाम्रो देश अझै डब्लूएचओ मापदण्डभन्दा धेरै तल छ । रेडिएसन थेरापी क्यान्सर उपचारको अभिन्न अंग हो । यो सुविधा अहिले प्रमुख रूपमा राजधानी एवं केही ठूला सहरमा मात्र उपलब्ध छ । सरकारले यसबारे ध्यान दिन निकै आवश्यक देखिन्छ ।

त्यस्तै प्यालेटिभ केयर क्यान्सरका बिरामीलाई सहज बनाउने उपचार प्रविधि एवं औषधिहरू सबै ठाउँमा पुग्न सकेको छैन । उपचारको अभावका कारण धेरै बिरामी क्यान्सरको अन्तिम समयमा आफ्नो घरमा जान पाएका छैनन् र घर जाने बिरामीले सहज उपचार पाएका छैनन् । त्यसकारण प्यालेटिभ सेवालाई बढाउन आवश्यक पहल गरिनुपर्छ ।

क्यान्सरको उपचार एक खर्चिलो उपचार हो । यसका लागि नेपाल सरकारले धेरै राहतको पहल गरेको छ । जस्तैः क्यान्सर उपचारको एक लाखको सुविधा एवं मासिक उपचार खर्च स्वास्थ्य बिमा कार्यान्वयनका कारण गरिब बिरामीलाई थोरै भए पनि आर्थिक राहत पुगेको छ । तर अधिकांश गरिबीको रेखामुनि भएका नेपालीका लागि आवश्यक पहल गर्न सरकारी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्नुपर्छ ।

अहिले हामी क्यान्सर उपचारको रोचक एवम् आशावादी समयमा छौं । विश्वभरि क्यान्सर रोगको प्रकोप बढे पनि क्यान्सर उपचारमा भएका ठूला एवं अकल्पनीय विकासले यो रोगमाथिको विजय झन्–झन् बढ्दो छ । नेपालमा पनि हामी यस्ता विश्वस्तरीय उपचार दिन सक्षम छौं । सरकारको क्यान्सर नीतिमा सुधार, क्यान्सर उपचारका नवीनतम प्रविधिको स्वदेशमै विकास एवं जनचेतनामा सुधार गरेमा क्यान्सर रोगसम्बन्धी मृत्युदर घटाउन सक्छौं । स्वास्थ्य पूर्वाधारमा निरन्तर लगानी, प्रारम्भिक रोगको पहिचान गर्न सुदृढ स्वास्थ्य सेवा अनि देशअनुरूप नवीन उपचारको विकास गरे हामी सबैले क्यान्सर रोगलाई मिलेर जित्न सक्छौं ।

  • ९ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech