मानव संकलित नमूना परीक्षणका लागि भेरी अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

    • स्वास्थ्य पेज

  • ८ फाल्गुन २०८१, बिहीबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्ज र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं बीच मानव संकलित नमूनाको प्रयोगशाला परीक्षणका लागि सम्झौता भएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रञ्जन राज भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मानव शरीरमा रोग छ, छैन पुष्टि गर्ने, रोगको संवेदनशीलता निर्धारण गर्ने, उपचार तथा रोकथामपछि सुधार भए–नभएको मापन गर्ने र विभिन्न रोगको कारण पत्ता लगाउनका लागि नमूना परीक्षण गर्ने गरिन्छ । भेरी अस्पतालमा सबै नमूनाको परीक्षण सेवा छैन । त्यहीं भएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग सहकार्य गरिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदी बताउँछन् ।

‘भेरी अस्पतालमा परीक्षण सम्भव नभएका स्याम्पलहरु भेरीमै संकलन गरेर हामी टेकु पठाउँछौं सम्झौताको सहजता खुलाउँदै स्वास्थ्य पेजसँग डा.सुवेदी भन्छन्–‘यसले बिरामीलाई बाहिर जानुपर्ने र महंगो रकम खर्चनु पर्ने अवस्थाको अन्त्य भएको छ ।’

भेरी अस्पतालमा परीक्षण सम्भव नभएका स्याम्पलहरु निजीमा गर्दा बिरामीले आर्थिक भार खेप्नु परेको छ । स्याम्पलहरु भेरीमा संकलन गरेर टेकु काठमाडौं पठाउन चुनौति भएपनि त्यसको व्यवस्थापनका लागि हुलाक कार्यालय र एअरपोर्टसँग समन्वय भइरहेको उनले बताए ।

  • ८ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech