धनगढीः सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ । सोमबार बिहान करिब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
भट्टमाथि आक्रमण गर्ने धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय कृष्ण रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
उनका अनुसार राना अस्पतालमा रक्तचापसम्बन्धी बिरामी भएका बुवा रमतर रानाका कुुरुवा बसेका थिए । उनको बुजाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
सोमबार बिहान डाक्टरले आईसीयूमा चेकजाँच गरेर फर्किने क्रममा रानाले आक्रमण गरेका हुन् ।
उनको आक्रमणबाट डाक्टरको चस्मा फुुटेको छ भने मुखमा सामान्य चोट लागेको छ । राना मानसिक रुपमा अस्वस्थ भएको बुझिएको प्रहरीले जनाएको छ ।