सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा ३० वर्षीय युवकको हिप जोर्नीको सफल प्रत्यारोपण

    • स्वास्थ्य पेज

  • ३ फाल्गुन २०८१, शनिबार

नेपालगन्जः सुदूर पहाडमै पहिलो पटक अछामको बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ बयालपाटाका ३० वर्षीय युवक निरोज भुलको सफलतापूर्वक शल्यक्रिया भएको हो ।

अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकको टिमले सफलतापूर्वक शल्यक्रिया गरेको हो । एमआरआई हेर्दा निरोजको बाँया खुट्टाको हिपको पूर्ण रुपमा मरेको थियो,’ डाक्टर मन्दिपले भने, ‘उनको पुरै हिप रिप्लेसमेन्ट (खुट्टाको कम्मरमा रहेको गेडीे) को प्रत्यारोपण गर्नुपर्ने थियो। हामीले निरोजको हिप रिप्लेमेन्ट गर्ने गरी शल्यक्रियाको तयारी गर्‍यौँ। उनको बायाँ खुट्टाको हिप रिप्लेसमेन्ट गर्न सफल भयौँ।’

डा मन्दिपको नेतृत्वमा भएको यस शल्यक्रियामा वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर भाष्कर राज पन्त, अर्थोपेडिक सर्जन डाक्टर सन्दिप भण्डारी समेत संलग्न थिए। सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा भएको यस शल्यक्रियामा साथ दिन डा पन्त र डा भण्डारी शुक्रबार मात्रै काठमाडौंबाट अछाम पुगेका थिए।

बिरामीलाई अर्ध बहोस गराई भित्र बिग्रिएको, खिइएको, हिँड्दा अप्ठेरो भएको, छोटो भएको खुट्टाको हिप जोर्नीको हड्डी (गेडी) काटेर त्यसलाई झिकेर त्यसको ठाँउमा कृत्रिम गेडी राखिएको र त्यसमा गोलीगाँठो चल्ने घर (ठाँउ) समेत कृत्रिम बनाइएको डा पन्तले जानकारी दिए।

दुर्गम ठाँउमा पहिलो पटक भएको यो शल्यक्रियामा जोखिम हुन सक्ने र स्रोत साधनले समेत अप्ठ्यारो हुन सक्ने सम्भावनाका बिच डा. मन्दिप नेतृत्वको टिमले सफल शल्यक्रिया गरेपछि अस्पताल परिवार खुसी भएका छन्।

शल्यक्रियामा संलग्न डाक्टर भाष्कर राज पन्तका अनुसार निरोजलाई १ दिन मात्रै अस्पतालमा राखेर दोस्रो दिन शनिबार हिँड्न लगाएर आइतबार घर फर्काउने तयारी छ। निरोजको पूर्ण हिप जोर्नी प्रत्यारोपणका लागि बयालपाटा अस्पताल पुगेका अर्थोपेडिक सर्जन डाक्टर पन्तका अनुसार सुदूरपहाड मै पहिलो पटक यस्तो खालको शल्यक्रिया बयालपाटा अस्पतालमा भएको बताए।

शल्यक्रियाका लागि आवश्यक पर्ने उपकरण र प्रविधि काठमाडौंबाट नै लगिएको थियो। ४ घण्टा लगाएर भएको खुट्टाको शल्यक्रियापश्चात निरोजको मुहारमा खुसी छाएको छ।

  • ३ फाल्गुन २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech