नेपालगन्ज: चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)का विभिन्न विषयमा गत वर्षको तुलनामा २३१ सिट थप गरेको छ ।
सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेजमा गरेर स्नातकोत्तर तहका विभिन्न विषयमा २३१ सिट थप भएसँगै कुल १ हजार २६ सिट पाएको आयोगले जनाएको छ । गत वर्ष यी संस्थाहरूमा ७९५ सिट थियो ।
प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७ औँ बैठकले १४ वटा संस्थामा सिट संख्या थप गर्ने र चार वटामा घटाउने निर्णय गरेको हो ।
आयोगका एक उच्च अधिकारीले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा धेरै सिट राष्ट्रिय प्रतिष्ठान न्याम्समा ११८ सिट थप भएको छ । थप भएको सिटसहित न्याम्समा पीजीका विषयको सिट २५० पुगेको छ ।
त्यसपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० सिट थप भएको छ । बीपीमा अब पीजीमा सिट संख्या २०४ पुगेको छ छ ।
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानामा थप २४ सिट संख्या थपभएसँगै पिजीमा ९४ सिट पुगेको छ ।
कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीमा १७ सिट थपिएको छ । यसभन्दा अगाडी कर्णालीले पीजीमा ७ सिट पाएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत आर्थिक वर्षमा ३४ सिट पाएको थियो । यसवर्ष थप ११ सिट बढेसँगै पीजीको सिट संख्या ४२ पुगेको छ ।
स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेसले ८ सिट थप भएको छ । यो वर्ष साइन्सेसले ५० पीजी सिट पाएको छ ।
आयोगले हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सिट दिने निर्णय गरेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीको सिट ७९ पुगेको छ । यो वर्ष ५ सिट थप भएको आयोगले जनाएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेसमा पीजीको ९ सिट घटेको छ । गत वर्ष साइन्सेसले २० सिट पाएको थियो ।
यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पसले गत वर्ष १२३ सिट पाएको थियो । तर यसवर्ष ७ सिट घट्दा ११६ सिट मात्रै पढाउन पाउने भएको छ ।