नेपालगन्ज: नेपालगन्ज न्यूरो एण्ड जनरल हस्पिटलले अन्तराष्ट्रिय छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले छारेरोगका बारेमा सबैमा जानकारी पु¥याउन विभिन्न बिधालयका विद्यार्थीमाझ सचेतनामुलक कार्यक्रम गरेको हो ।
समाजमा छारेरोगप्रतिको व्याप्त अन्धविश्वास हटाई समयमा नै उपचार गरे यो रोग निको हुन्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट न्यूरो सर्जन डा.जोशन न्यौपानेले कार्यक्रममा छारेरोगका बारेमा विविध जानकारी दिएका थिए । उनले छारेरोग बारे घर–घर, टोल टोलमा कुरा गर्न सबैमा आग्रह गरेका थिए ।
![](https://swasthyapage.com/wp-content/uploads/2025/02/DSC06445-scaled.jpg)
कन्सल्टेन्ट न्यूरो सर्जन डा.जोशन न्यौपाने
यो सरुवा रोग नभई समयमै उपचार गरे ठिक हुने भन्दै डा.न्यौपानेले यो समस्या भएका बिरामी देखे सम्बन्धित चिकित्सकसँग परामर्श लिन सुझाउन सबैमा आग्रह गरेका छन् । छारे रोगबारे हाम्रो समाजमा विभिध भ्रम छन्। तर, चिकित्सा विज्ञानका अनुसार यो (छारे रोग) मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ। पछिल्लो समय यस्ता रोगीको संख्या बढ्दै गएको डा.न्यौपाने बताउँछन् ।
अस्पतालले आयोजना गरेको सचेतनामुलक कार्यक्रममा नेपालगन्ज आसपासका करिब आधा दर्जन बढी बिधालयका विद्यार्थी,शिक्षक शिक्षिका र स्वास्थ्यकर्मी गरी सयभन्दा बढीको सहभागिता थियो । कार्यक्रमका सहभागीहरुले न्यूरोसर्जन डा.न्यौपाने र अस्पतालका सह–निर्देशक डा.सुनिल प्रधान सामुआफुलाई लागेको जिज्ञासा समेत राखेका थिए । डा.प्रधानले समेत छारेरोगका बारेमा सहभागीहरुमाझ विविध जानकारी प्रदान गरेका थिए ।
न्यूरो हस्पिटलले प्रत्येक वर्ष दिवसका अवसरमा सचेतनामुलक कार्यक्रम आयोजना गर्दै आएको छ । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत यसखाले कार्यक्रमहरुको आयोजना गर्ने गरेको अस्पतालका अध्यक्ष निशा हुमागाईले बताईन् । कार्यक्रमको सहजीकरण अस्पतालका फार्मेसी इन्चार्ज दिनेश विष्टले गरेका थिए ।