कहिलेकाहीँ एलर्जीले घाँटी दुख्छ। चिल्लो खानेकुराले असर गरेर दुख्छ । अत्याधिक चिच्याउँदा वा लामो समयसम्म बोलिरहँदा पनि दुख्छ । जुन केही समयपछि आफैँ ठिक हुन्छ । कहिलेकाहीँ टन्सिलाइटिस भएमा पनि घाँटीमा दुखाइ हुनसक्छ ।
जसलाई ठिक भइहाल्छ भनेर बेवास्ता गर्दा समस्या जटिल बन्न सक्छ । यस्तोमा सामान्य घाँटी दुखाइ र टन्सिलाइटिसबीचको फरक कसरी थाहा पाउने ? धेरैमा अन्यौलता हुनसक्छ ।
टन्सिलाइटिस के हो ?
टन्सिल एउटा ग्रन्थी हो । जुन जिब्रोको पछाडिकाे घाँटीकाे दायाँ र बायाँतर्फ रहेको हुन्छ । यसको काम भनेको रोग प्रतिरोधात्मक क्षमतालाई विकास गर्नु हो। यसले हाम्रो नाक र मुखबाट आउने रोगका जिवाणु (भाइरस, ब्याक्टेरिया)लाई शरीरभित्र जानबाट बचाउने, रक्षा गर्ने वा मार्ने काम पनि गर्छ ।
कुनै कारणवश सो ग्रन्थीमा संक्रमण वा सुन्निएमा घाँटी दुख्ने गर्छ । जसलाई टन्सिलाइटिस भन्ने गरिन्छ ।
टन्सिलाइटिसको कारण
ब्याक्टेरियल संक्रमण, भाइरस संक्रमण, एलर्जीले टन्सिल ग्रन्थीलाई प्रभावित पार्ने, पिप बनाउने, सुन्नाउने, आकार बढाउने र घाँटी दुखाउने अर्थात् समग्रमा टन्सिलाइटिस गराउँछ ।
कहिलेकाहीँ क्यान्सरका कारणले पनि टन्सिलाइटिस गराउँछ। टन्सिलाइटिस जुनसुकै मौसममा हुनसक्छ । तर, चिसो मौसममा रोगप्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा बढी सताउँछ ।
यस कारणले घाँटी अत्याधिक दुख्छ ।
अधिकांश बिरामीहरु सामान्य घाँटी दुखाइलाई पनि टन्सिल (टन्सिलाइटिस) भयो भन्ने गरेको पाइन्छ । जथाभावी औषधि खाएर अवस्था झन जटिल बनाएर अस्पताल आउने पनि धेरै भेटिन्छन् ।
तर, सबै घाँटी दुखाइ टन्सिलाइटिस भने हुँदैन । कहिलेकाहीँ सामान्य अवस्थामा पनि घाँटी दुख्छ ।
के फरक छ सामान्य घाँटी दुखाइ र टन्सिलाइटिसमा ?
चिसो खाएर एलर्जी भइ दुख्ने, रुघाखोकीको कारणले दुख्ने, ग्यास्ट्राईटिसले गर्दा कहिलेकाहीँ पेटबाट अम्लिय पानी घाँटीसम्म आएर दुख्ने, जाडोमा सुख्खा हावाले, बढी कराउँदा वा चिच्याउँदा घाँटी दुख्न सक्छ ।
जुन केही घण्टा वा केही दिनमा ठीक हुन्छ । घाँटी मात्र दुखाइ हो भने यसलाई सामान्य दुखाइ मान्न सकिन्छ । यसबाहेक कुनै लक्षण छैन भने यो कुनै रोगको कारक होइन भनेर बुझ्नुपर्छ ।
तर, घाँटी दुखाइका साथै अन्य लक्षण जस्तै, घाँटीमा थुक निल्दा दुख्छ । बोलीमा फरकपन आउँछ । ज्वरो आउँछ । मुखबाट श्वास गन्हाइरहेको छ भने टन्सिलाइटिसको शंका गर्नुपर्छ ।
घाँटीको तल्लो भाग टन्सिल भएको भाग सुन्निएको छ । घाँटीको बाहिरी भागमा छामेर हेर्दा दुईवटा मासुको भाग जस्तो देखिएको छ भने त्यसलाई टन्सिलाइटिस भएको मान्न सकिन्छ ।
यस्ता लक्षण देखिए परीक्षण गरी टन्सिलाइटिसको समस्या पत्ता लगाइन्छ ।
टन्सिलाइटिस कस्तो बेलामा घातक ?
कतिपय टन्सिलाइटिस केही दिनमा आफैँ ठिक हुन्छ । पहिलो पटक संक्रमण भई टन्सिल पाकेमा एन्टिबायोटिक औषधि र खानपानमा ध्यान दिएमा बच्न सकिन्छ ।
तर बारम्बार टन्सिल भइरहने र छिटो निको नहुने, ब्याक्टेरियल संक्रमण भई पिप बग्ने समस्या हुने, टन्सिलको आकार बढ्ने र आकार बढेमा श्वास फेर्न कठिन हुने, खाना निल्दा दुख्ने, ज्वरो आउँदा उपचार आउन सक्ने अवस्थामा उपचार गराउनुपर्छ ।
यी अवस्थाको गम्भीरता हेरेर एकदेखि चार श्रेणीमा राखिन्छ । जसमा चार श्रेणीमा रहेको टन्सिलाइटिस निकै घातक मानिन्छ । यो अवस्थामा टन्सिलाइटिस दुवै साइडमा टाँसिन्छ ।
यसरी टाँस्सिएमा श्वास फेर्ने बाटो बन्द वा अवरुद्ध भई जुनसुकै बेलामा श्वास फेर्न कठिन हुन्छ । जसलाई घातक भन्न सक्छौँ ।
त्यस्तै, टन्सिल बारम्बार पाकेर बसिरहयो भने त्यहाँको संक्रमण रगतको माध्यमबाट मिर्गौला र मुटुमा जानसक्छ । जसले मिर्गौलाको काममा बाधा गर्ने र मुटुको भल्भमा समस्या ल्याउँछ । मुटुको बाथ रोगसमेत गराउन सक्छ ।
उपचार के छ ?
पहिलोपटक टन्सिलाइटिस भएमा कारण पत्ता लगाई सोही अनुसारको औषधि खाँदा ठिक हुन्छ । जसमा घाँटी मनतातो पानी र नुनले कुल्ला गर्ने, एन्टिबायोटिक औषधि खाने र दुखाइ कम गर्ने औषधि खाँदा निको हुन्छ ।
औषधि उपचार भएर पनि लगातार महिनामा पटक-पटक टन्सिलाइटिस भइरहेमा टन्सिलको शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।
शल्यक्रिया गरेर दुवै टन्सिल निकाल्ने प्रक्रियालाई टन्सिलेक्टोमी भनिन्छ । यो शल्यक्रिया पूरै शरीर लठ्याएर बेहोस पारेर गर्ने गरिन्छ ।
त्यसका लागि केही दिन अस्पतालमा नै बस्नुपर्ने हुन्छ । शल्यक्रिया पछि यो समस्या सदाका लागि हटेर जान्छ ।
बारम्बार टन्सिल भइरहेमा स्वास्थ्यमा ध्यान दिनुपर्छ ।
-चिसो खानेकुरा कम खाने ।
-धुम्रपानबाट बच्ने ।
-पानी मनतातो पिउने ।
-चिसोबाट जोगिने ।
-मसालेदार खानेकुरा कम खाने ।
-घाँटीमा दुखाइ हुने वा अन्य लक्षण देखिए नाक, कान र घाँटी रोग विशेषज्ञलाई देखाउने ।