पश्चिम नेपालमै पहिलोपटक नेपालगन्ज न्यूरो एंड जनरल हस्पिटलमा ‘स्ट्रोक मास्टरक्लास’

    • समिरमान श्रेष्ठ

  • २६ माघ २०८१, शनिबार

नेपालगन्ज: मस्तिष्कघात (स्ट्रोक) सम्बन्धी चिकित्सा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले नेपालगन्जमा‘स्ट्रोक मास्टरक्लास’ कार्यशाला गरिएको छ । नेपाल स्ट्रोक एसोसियन र नेपाल स्ट्रोक प्रोजेक्टको आयोजना, नेपालगन्ज न्यूरो एंड जनरल हस्पिटलको सहकार्यमा एकदिने कार्यशाला नेपालगन्ज न्यूरो एंड जनरल हस्पिटलमा भएको हो ।

पश्चिम नेपालमै नेपालगन्ज न्यूरो एंड जनरल हस्पिटल पहिलो न्यूरो डेडिकेटेड अस्पताल हो र यस्तो कार्यक्रम पनि पहिलो पटक नेपालगन्जमा भएको हो ।

कार्यक्रममा न्यूरोसँग सम्बन्धित चिकित्सकहरु , फिजिसियन, फिजियोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । सहभागीहरूले नयाँ अनुसन्धान, प्रभावकारी उपचार पद्धति र न्यूरोलोजी क्षेत्रमा भएका नवीनतम उपलब्धिहरूका बारेमा विज्ञ चिकित्सकहरुबाट विस्तृत जानकारी पाएका थिए ।

कार्यक्रममा न्यूरोलोजी तथा मस्तिष्क स्वास्थ्यमा काम गर्ने ७ जना प्रतिष्ठित चिकित्सक तथा अनुसन्धानकर्ताहरू, कन्सल्टेन्ट न्युरो फिजिसियन डा अभिषेक मान श्रेष्ठ, रेडियोलोजिस्ट डा प्रदेश घिमिरे, नेपाल स्ट्रोक एसोसियसनका प्रेसिडेन्ट कन्सलटेन्ट न्युरोलोजिस्ट डा राजु पौडेल, रेस-क्यु कि ग्लोबल म्यानेजर रुपल सेदानी, कन्सल्टेन्ट न्युरो सर्जन डा जोशन न्यौपाने, न्युरो फिजियोथेरापिस्ट बिस्वास श्रेष्ठ र सिनियर कन्सल्टेन्ट न्युरोलोजिस्ट डा लेखजंग थापाले स्ट्रोक सम्बन्धी सचेतना, स्ट्रोकको रोकथाम, प्रारम्भिक पहिचान, आधुनिक उपचार प्रविधिहरू र दीर्घकालीन पुनर्वासको विषयमा आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।

मस्तिष्कघात भएका विरामीहरुको उपचारमा चिकित्सकहरुको समन्वयको अत्यन्त आवश्यक पर्ने र गोल्डेन समय भित्रमा उसको उपचार एवं ब्यवस्थापन हुन सकेको खण्डमा विरामीहरुलाई धेरै क्षति हुनबाट जोगाउन सकिने कन्सल्टेन्ट न्युरो सर्जन डा जोशन न्यौपाने बताउँछन । कार्यक्रममा गहन छलफल, विशेषज्ञ विचारहरू तथा अन्तरक्रियात्मक सत्रहरू गरिरहेका  थिए । जसले सहभागीहरूलाई स्ट्रोक व्यवस्थापनका महत्वपूर्ण पक्षहरू बुझ्न सहयोग गरेको थियो ।

वक्ताहरूले प्रारम्भिक पहिचानदेखि नवीनतम चिकित्सा प्रविधिहरूसम्मका विषयहरू कभर गर्दै समयमा नै उपचार तथा उचित हेरचाहको महत्त्वलाई उजागर गरेका थिए ।

खासगरी मस्तिष्कघातको जोखिम, उपचारका निमित्त भैरहेका अभ्यास, नविनतम उपकरणको प्रयोग लगायतका बारेमा सिकाइ आदानप्रदान गर्न सन् २०१८ देखि देशका विभिन्न सहरमा ‘स्ट्रोक मास्टरक्लास’ सञ्चालन हुँदै आएको छ । नेपालगन्जमा आयोजना गरिएको यो छैठौं संस्करण हो ।

स्ट्रोक मस्तिष्कमा रक्तसञ्चार अवरुद्ध हुँदा हुने गम्भीर चिकित्सा अवस्था हो । जसले शरीरको कुनै एक भागलाई अचल बनाउने, बोली क्षमतामा असर गर्ने, स्मृतिभ्रम गराउने जस्ता समस्या निम्त्याउन सक्छ ।

विश्वको परिप्रेक्षमा हेर्दा हरेक वर्ष एक करोड तीस लाख मानिसलाई मष्तिष्कघात हुन्छ र यसले गर्द वर्षेनी ५५ लाख मानिसहरुलाई मृत्युको मुखमा पुर्‍याइरहेको छ । हरेक ६ सेकेन्डमा एकजनालाई मष्तिष्क घातले असर गर्दछ र हरेक ४ जनामा एक जनालाई मष्तिष्कको लक्षण देखिन्छ ।

संसारमा मष्तिष्कघात (स्ट्रोक) मुटुको रोग पछि दोस्रो ठूलो मृत्युको कारण हो । यो आँकडा हेर्दा मष्तिष्कघातको असर भयावह रुपमा देखिन्छ । खासगरी अल्पविकसीत र विकासोन्मुख देशमा सम्पूर्ण मष्तिष्कघात मध्ये ७०–८० % मष्तिष्कघातका बिरामीहरु भटिन्छन् ।

कार्यपत्र प्रस्तुत गर्ने विज्ञ चिकित्सकहरुलाई भेरी अस्पताल नेपालगन्जका मेडिसिन बिभाग प्रमुख तथा प्रमु कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले प्रमाणपत्र प्रदान गरेका थिए ।त्यसक्रममा डा पाण्डेले कार्यक्रम अत्यन्त फलदायी भएको बताए । उनले भेरी अस्पतालमा पनि स्ट्रोक उपचार युनिट संचालन गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

त्यस्तै नेशनल न्युरो सेन्टरकी सीइओ तथा नेपाल स्ट्रोक एसोसियसन प्रतिनिधी नुमा शर्माले एसोसियसनको बारेमा जानकारी गराएकी थिइन् भने कार्यक्रमको संचालन समिर मान श्रेष्ठले गरेका थिए ।

 

  • २६ माघ २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech