आवासीय चिकित्सकका माग सम्बोधन गर्ने प्रधामन्त्रीको आश्वासन

    • स्वास्थ्य पेज

  • २४ माघ २०८१, बिहीबार

काठमाडौं: सरकारी चिकित्सक सरह सेवासुविधा माग गर्दै आन्दोलन गरिरहेका आवासीय चिकित्सकका माग सुनुवाइ गर्न सरकार सकारात्मक भएको छ। बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने आश्वासन दिएका छन्।

छलफलमा प्रधानमन्त्री ओलीका साथै  शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, केही वरिष्ठ चिकित्सक र आवासीय चिकित्सकका प्रतिनिधिहरु रहेका  थिए। आवासीय चिकित्सकको पारिश्रमिक आठौं तहका सरकारी कर्मचारी सरह ४८ हजार ७ सय रुपैयाँको माग गरिरहेका छन्।

छलफलमा सहभागीमध्येका एक स्वास्थ्यकर्मीहरुका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा शेषराज घिमिरेले छलफल सकारात्मक रहेको बताए। उनले भने,  ‘प्रधानमन्त्रीज्यूले हाम्रो मागप्रति सकारात्मक रहेको र चाँडै सम्बोधन हुने बताउनुभएको छ।’

सरकारले थप छलफल गरेर त्यसअनुसारको निर्णय दिने बताएको छ। उक्त छलफलमा निजी मेडिकल कलेजका प्रतिनिधि भने थिएनन्। अहिले आश्वासन मात्रै प्राप्त भएकाले आफ्नो आन्दोलनका कार्यक्रम निरन्तर रहने डा घिमिरेले बताए।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गर्दै पहिलो वर्षमा २५ हजार, दोस्रोमा ३० हजार र तेस्रो वर्षमा ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेका थिए। उक्त निर्णयमाआन्दोलनरत चिकित्सकहरुले असहमति जनाउँदै आन्दोलन निरन्तर जारी राखेका थिए।

  • २४ माघ २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech