नेपालगन्जः राष्ट्रिय आविष्कार केन्द्रबाट खटिएको स्वास्थ्य विज्ञ प्राविधिकको टोलिले भेरी अस्पतालमा बिग्रिएर थन्किएका २८ वटा मेसिन मर्मत गरि पुनः प्रयोग गर्न मिल्ने बनाइदिएको छ । भदौ ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका उपकरण मर्मतको सम्झौता गरेसँगै एक हप्ता अघि राष्ट्रिय आविष्कार केन्द्रको टोलि भेरी अस्पतालमा आएको थियो ।
टोलिले एक हप्तामा २८ वटा मेसिन मर्मत गरी पुनः प्रयोग गर्न मिल्ने बनाइदिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताए । आविष्कार केन्द्रबाट खटिएका इन्जिनियरहरु अविष्कार अधिकारी, अभिनव आनन्द दत्त र देवेन्द्र कुमार साहले आइसीयू, मेडिकल वार्ड, ल्याब्रोटरी, एनआइसीयू, अप्रेसन थिएटर, रेडियोलोजी, पेडियाट्रिक, ओपिडी वार्ड लगायतका विग्रीएर थन्किएका मेसिनहरु मर्मत गरिदिएका हुन् ।
भेन्टिलेटर, नेवुलाइजर, अटोक्लेव, एनेस्थेसिया भेन्टिलेटर, सिटि स्क्यान, ओटी लाइट, डिइएक्सए स्क्यान लगायत २८ वटा उपकरण मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने बनाइदिएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदी बताउँछन् । राष्ट्रिय आविष्कार केन्द्रको टोलिले ५६ वटा मेसिनको अध्ययन गरेको थियो । तीमध्ये २८ वटा मर्मत गरेपनि बाँकी मेसिन मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रको माथिल्लो तहसंग समन्वय भइरहेको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताए । १८ वटा मेसिन भने विक्रेता कम्पनीसँगको परामर्शमा मर्मत गर्न सकिने निष्कर्ष राष्ट्रिय आविष्कार केन्द्रको इन्जिनियर टिमले निकालेको छ ।
‘भेरी अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका लाखौं मुल्यका मेसिनहरु केन्द्रबाट आउनु भएका प्राविधिकको टिमले मर्मत गरी पुनः प्रयोगमा ल्याइदिनुभएको छ डा.सुवेदीले भने–‘अत्यन्तै छोटो समयमा उहाँहरुले लोभलाग्दो गरी काम गर्नुभयो ।’ भेरी अस्पतालले करिव डेढ सय मेसिन मर्मतको लागि सिफारिस गरेको थियो । तथापि आविष्कार केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकले ५६ वटा बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेको थियो । केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकको टोलि भोलिदेखि सुशिल कोइराला क्यान्सर अस्पताल खजुरामा खटिनेछ ।