जलन अप्रत्यासित हुने घटना हो । खासगरी घरमै काम गरिरहेको बखत यस किसिमको दुर्घटना हुनसक्छ । हुन त दुर्घटना भइसकेपछि उपचार गर्नुभन्दा त्यसअघि नै आवश्यक सावधानी अपनाउनु राम्रो हुन्छ । तर भान्साकोठामा खाना पकाउँदा कहिलेकाहीं तातो तेलको छिटा उछिट्टिएर शरीरको भागमा पर्यो भने त्यस ठाउँको छालमा जलन हुने र फोका उठ्ने हुन्छ ।
यस किसिमको पोलाइका कारण जलन हुनुका साथै यो निकै पीडादायक समेत हुन्छ । साथै पोलेको वा डढेको भागमा पछिसम्म दाग रहने गर्छ ।
आगो वा तातो पानीले कति पोलेको छ ? कसरी पोलेको छ ? त्यो कति जटिल वा सामान्य छ ? यसअनुसार पनि उपचार फरक हुनसक्छ । यदि धेरै जटिल अवस्था छैन भने घरमै केही प्राथमिक उपचार गर्न सकिन्छ ।
तातो तेलले पोले के गर्ने ?
– पोलेको भागमा छाला रातो भएको छ, फोका उठेको छैन भने पोलेको भागमा तुरुन्तै चिसो पानी लगाइदिनुपर्छ । खासगरी धारो वा भाँडोबाट भएपनि धारा बनाएर पोलेको ठाउँमा लगाउनुपर्छ । दुखाइ वा पोल्ने क्रम कम नभएसम्म लगाइरहनुपर्छ ।
– घिउकुमारीको पात काटेर त्यसको तरल भाग निकालेर पोलेको ठाउँमा लगाउन सकिन्छ । एलोभेराको शीतलताले पोलेको ठाउँमा राहत प्रदान गर्छ ।
– पोलेको छालालाई संक्रमणबाट बचाउने । पोलेको ठाउँमा सफा कपडा अथवा नटाँसिने खालको ब्यान्डेज लगाउने । फोका उठेमा त्यसलाई नफुटाउने ।
– पोलेको ठाउँमा टी ब्यागको प्रयोग पनि गर्न सकिन्छ । ब्ल्याक वा ग्रिन टीको ब्यागमा ट्यानिक एसिड हुन्छ, जसले दुखाइ र जलन दुवै कम गर्छ । टी ब्यागलाई केही समयका लागि फ्रिजरमा राख्ने त्यसपछि बाहिर निकालेर आगो लागेको ठाउँमा राख्ने यसबाट तुरुन्त राहत मिल्छ ।
– तेलले पोलेको अवस्थामा आलुलाई काटेर प्रभावित ठाउँमा लगाउनाले वा यसको जुस लगाउनाले पनि राहत पाउन सकिन्छ ।
कस्तो अवस्थामा तुरुन्तै अस्पताल जाने ?
धेरै नै पोलेको छ, छाला पूरै नष्ट भएको वा गहिरो घाउ भएको छ भने कति पनि ढिला नगरी नजिकको स्वास्थ्य केन्द्र वा अस्पताल पुर्याउनुपर्छ । यसरी अस्पताल पुर्याउने क्रममा पनि पोलेको भागमा चिसो पानीले भने भिजाइरहनुपर्छ ।
कहिलेकाहीं आगो वा तातो पानीले पोलेर निकै जटिल अवस्थामा पुर्याउन सक्छ । शरीरको धेरै भाग जल्न वा पोल्न सक्छ । छालाको भित्री तहसम्म त्यसको असर हुनसक्छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो अस्पताल पुर्याउनुपर्छ ।