समानान्तर दुई कार्यसमिति रहेको नेपाल रेडक्रसलाई निलम्बनको चेतावनी

    • स्वास्थ्य पेज

  • २० माघ २०८१, आईतवार

नेपालगन्जः दुई समानान्तर कार्य समितिका कारण विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीलाई इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस (आइएफआरसी) ले आगामी अप्रिल (तीन महिना)सम्म विवाद समाधान नगरे निलम्बन गर्ने चेतावनी दिएको छ । आइएफआरसीअन्तर्गतको अनुपालन तथा मध्यस्थता समिति (सिएमसी)ले यस्तो चेतावनी दिएको हो ।

नेपाल रेडक्रसमा प्रा. सुदर्शन नेपाल र डा. विशाल भण्डारी नेतृत्वका छुट्टाछुट्टै कार्यसमिति क्रियाशील छन् । यी दुवैलाई सरकार र आइएफआरसीले मान्यता दिएका छैनन् । यो अवस्थामा रेडक्रसको न विधान संशोधन हुन सकेको छ, न आवधिक निर्वाचन नै हुन सकेको छ ।

एक कार्यसमितिका अध्यक्ष नेपालले सिएमसीले अप्रिलसम्ममा विवाद समाधान नगरे निलम्बन गर्ने चेतावनी दिएको स्वीकार गरे । उनले भने, ‘आइएफआरसीअन्तर्गत सिएमसी नामको एउटा समिति छ । त्यसले हामीलाई अप्रिलसम्ममा विवाद समाधान गर्न भनेको छ । नत्र सोसाइटी नै निलम्बन गर्ने भनेको छ । हामीसँग समस्या छन् । समाधान गर्न प्रयासरत छौँ । निलम्बन गर्ने हदसम्म चाहिँ नजाला ।’

त्यस्तै, अर्को कार्यसमितिका अध्यक्ष डा. भण्डारीले पनि सोसाइटीलाई आइएफआरसीले निलम्बन गर्न खोजेको जानकारी भएको बताउँछन् । उनले भने, ‘सामाजिक क्षेत्रमा रेडक्रसको ख्याति विश्वप्रशिद्ध छ । तर अहिले यो आफैं संक्रमणको चपेटामा परेको छ । चरम दलीयकरण र भ्रष्टाचार यसका कारण हुन् । यही कारण आइएफआरसीले निलम्बन गर्ने तयारी गरेको मैले पनि सुनेको छु । निलम्बनमा पर्‍यो भने करिब एक अर्ब रुपैयाँको सहायता प्रभावित हुन पुग्छ । तर, यो दु:खद् अवस्था नआओस् भनेर हामी समाधानको उपाय खोजिरहेका छौं ।’

आइएफआरसीमार्फत हाल नेपाल रेडक्रसलाई प्रत्येक वर्ष १ अर्ब रुपैयाँ मूल्यबराबरको विभिन्न सहयोग आइरहेका छन् । विशेष गरी प्राकृतिक प्रकोप, सामाजिक विकास र स्वास्थ्यका क्षेत्रमा आइएफआरसीको गुणात्मक सहयोग रहँदै आएको छ । निलम्बनमा परे उल्लेखित सहयोग रोकिन सक्छ । यस्तै, विवादपछि आइएफआरसीले हालै मात्र पेरुमा मातहतको रेडक्रस निलम्बन गरेको छ । त्यसअघि केन्या, बेलारुस र ग्रिसमा पनि रेडक्रसलाई निलम्बन गरेको नजिर छ ।

  • २० माघ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech