कुन उमेरमा बच्चाले बोल्न थाल्छन् ?

    • डा. बाबुराम पाण्डे / बालरोग विशेषज्ञ

  • १९ माघ २०८१, शनिबार

बच्चाको विकास आमाको गर्भबाटै सुरु हुन्छ । गर्भावस्थाको पहिलो तीन महिनामा बच्चाको छिटो विकास हुन्छ । जब बच्चा जन्मन्छ, त्यसपछि पनि धेरै क्षमता विकास हुन्छन् । यी क्षमताहरूमा बोल्ने क्षमता पनि समावेश हुन्छ । कतिपय बालबालिकाले छिट्टै बोल्न सिक्छन् भने कतिपयलाई निश्चित उमेरमा पनि कम बोल्ने वा बोल्न अलि ढिलो हुने हुन्छ । निश्चित समय भन्दा केही ढिलो बोल्नु सामान्य हुनसक्छ । तर केही बच्चामा यसो हुनुको पछाडि सामान्यदेखि गम्भीर कारण हुनसक्छन् ।

कुन उमेरमा बच्चाले बोल्न थाल्छन् ?

बच्चाले ६ महिनाबाट नै मा बा जस्ता शब्द (एक अक्षरको) बोल्न सुरु गर्छन् । नौ महिनामा ममा, बाबा जस्ता शब्द (दुई  अक्षरको) बोल्न थाल्छन् । एक वर्षको उमेरबाट भने आमा, बाबा जस्ता एउटा पूरा शब्द बोल्न थाल्छन् । १८ महिनाबाट भने पाँचदेखि १० शब्द बोल्न सक्छन् । दुई वर्षमा ५० वटा शब्द बोल्न सक्छन् । तीन वर्षमा भने बच्चाले एउटा पूरा वाक्य नै बोल्न सक्छन् । बच्चाले १८ महिनासम्म पनि एउटा शब्द बोलेन भने बच्चाले बोल्नमा ढिला भयो भनेर बुझिन्छ ।

केही बालबालिका किन ढिलो बोल्छन् ?

टङ्गटाइ’ जिब्रो टाँसियो भने

यो समस्यामा बच्चाको जिब्रो जन्मदेखि नै सानो वा टाँसिएको  हुन्छ, जसकारण जिब्रो चलाउन गाह्रो हुन्छ । यसले गर्दा बच्चाको खानपानदेखि बोलीसम्मलाई असर गर्छ ।

समयपूर्व जन्म हुनु

९ महिना नपुग्दै जन्मिएका बालबालिकाले ढिलो बोल्न सुरु गर्न सक्छन् । समयपूर्व जन्मिएका बच्चालाई बोल्न मात्रै समस्या हुँदैन, उनीहरूमा ढिलो सुन्ने र अन्य सीप पनि ढिलो विकास हुन्छ । यस्तो अवस्थामा धेरै चिन्ता लिनु पर्दैन । यस अवस्थामा बच्चालाई समय-समयमा जाँच गर्नुपर्छ ।

कानको संक्रमण

कतिपय बालबालिका जन्मेपछि कानको संक्रमणबाट पीडित हुन्छन् । यस्ता बालबालिकाको बोल्ने क्षमतामा ठूलो असर पर्छ । यस कारणले गर्दा बच्चा ढिलो बोल्न सक्छ । यदि बच्चाले बारम्बार आफ्नो कान नजिक औंला लैजान्छ भने चिलाएर हुनसक्छ । यस्तोमा उसको कान जाँच गर्नुपर्छ ताकि उसको बोल्ने क्षमता विकास होस् ।

श्रवण क्षमता कमजोर

कतिपय बालबालिकालाई जन्मदेखि नै कतिपय कुरा बुझ्न र सुन्नमा कठिनाइ हुन्छ, जसकारण उनीहरू ढिलो बोल्न सक्छन् । किनभने उनीहरूले बोलेको बुझ्दैनन् र प्रतिक्रिया दिन सक्दैनन् ।

बढी स्क्रिन टाइम

आजभोलि अभिभावकहरूले खाना खुवाउने बेलामा तथा आफू व्यस्त भएको बेला बच्चालाई स्क्रिनमा भुलाउने चलन छ । यसरी बच्चाले लामो समय स्क्रिनमा बिताउँछ भने एकोहोरो भएर पनि उनीहरूले उचित समयमा बोल्न सक्दैनन् ।

न्युरोलोजिकल समस्या

यदि बच्चा उचित उमेरमा बोलेको छैन भन्ने लाग्छ, ढिलो भयो भन्ने लाग्छ भने अस्पताल गएर परीक्षण गर्नुपर्छ । कहिलेकाहीं यो समस्याको कारण न्युरोलोजिकल अक्षमता हुनसक्छ । यस्तो अवस्थामा तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ ।

अटिजम

कहिलेकाहीं बच्चा ढिलो बोल्नुको कारण अटिजम पनि हुनसक्छ । यस अवस्थाबाट पीडित बालबालिकालाई आफ्नो भाषा बोल्न, बुझ्न र बुझाउन गाह्रो हुन्छ । अटिजम डिसअर्डरबाट पीडित बालबालिकालाई राम्रो हेरचाह चाहिन्छ ।

अभिभावले ध्यान दिनुपर्ने कुरा

यदि बच्चाले आमाबुबासँग आँखा जुधाउँदैन, बोलाउँदा प्रतिक्रिया दिंदैन र बच्चाले १८ महिनासम्म एउटा शब्द पनि बोलेन भने उसको जिब्रो टाँसिएको छ कि भनेर हेर्नुपर्छ । अटिजमको लक्षण देखिएको छ कि भनेर पनि ध्यान दिनुपर्छ । यस्ता लक्षण देखिए अस्पताल गएर परीक्षण गर्नुपर्छ । परीक्षण गर्दा केही समस्या पत्ता लागे चिकित्सकको सल्लाहअनुसार त्यो समस्याको उपचार गरेपछि बच्चाले बोल्न थाल्छ । जस्तो जिब्रो टाँसिएको छ भने त्यसको शल्यक्रिया गरिन्छ । कानमा संक्रमण भएको छ भने त्यसको उपचार गरिन्छ ।

  • १९ माघ २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech