फार्मेसी संघले भन्यो-न्युट्रास्युटिकल्सको सिफारिस गर्ने डाक्टर, दोष फार्मेसी र औषधि पसललाई ?

    • स्वास्थ्य पेज

  • १७ माघ २०८१, बिहीबार

नेपालगन्जः नेपाल फार्मेसी संघले औषधि व्यवस्था विभागबाट जारी गरिएका विभिन्न सूचना र निर्देशनहरू फार्मेसी तथा खुद्रा औषधि पसलहरूलाई लक्षित गरिएको भन्दै आपत्ती जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको माघ १५ गते एउटा विज्ञप्ती निकाल्दै स्वास्थ्यका नियामक निकायमा दर्ता नभएका भिटामिन तथा खनिज जस्ता मिश्रित फर्मास्युटिकल बनावटहरु (ट्याब्लेट, क्याप्सुल, झोलहरु) न्युट्रास्युटिकल्सका नाममा औषधि पसलहरुबाट विक्री वितरण भएको तथा विभिन्न स्वास्थ्य संस्थाहरुले सामग्री तथा सेवाहरुको संचालन स्वीकृत नलिई आम नागरिकलाई आकर्षित गर्ने गरी गलत तथा भ्रामक विज्ञापनहरु प्रचारप्रसार भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै कारवाहीको चेतावनी दिएको थियो ।

माघ १५ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती ।

पछिल्लो समय विभागले न्युट्रास्युटिकल्स औषधीको विक्रि वितरणमा रोक लगाउन फार्मेसी तथा खुद्रा औषधि पसलहरूलाई लक्षित गरेर सूचना जारी गरेको नेपाल फार्मेसी संघको ठहर छ । संघका महासचिव युवराज भुसालद्धारा जारी विज्ञप्तीमा डाक्टरहरूको सिफारिसमा न्युट्रास्युटिकल्स औषधीय गुण भएका उत्पादन औषधिको रूपमा वितरण भइरहेपनि विभागले केवल फार्मेसी तथा खुद्रा औषधि पसलहरूलाई यसमा दोषी करार गर्ने गरी सूचना निकालेको उल्लेख गरिएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ-‘ न्युट्रास्युटिकल्स औषधीय गुण भएका उत्पादन हुन्, जसलाई आयात गर्दा खाद्य सामग्रीका रूपमा दर्ता गरिन्छ, तर बिक्री गर्दा डाक्टरहरूको सिफारिसमा औषधिको रूपमा वितरण गरिन्छ। यसरी बिरामीलाई भ्रममा पार्ने, अज्ञानताको फाइदा उठाउने र अनुचित मुनाफा कमाउने मुख्य जिम्मेवार आयातकर्ता र डाक्टरहरू नै हुन्। तर अहिले यस समस्याको दोष औषधि व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय, खुद्रा औषधि विक्रेता र फार्मासिस्टहरूलाई थोपर्न खोजिएको छ, जुन अन्यायपूर्ण छ। नेपाल फार्मेसी संघ यस्तो एकतर्फी निर्णय अस्वीकार गर्दछ।’

नेपाल फार्मेसी संघद्धारा आज जारी गरिएको विज्ञप्ती ।

‘डाक्टरहरू खुलेआम औषधि व्यवस्था विभागमा दर्ता नभएका उत्पादनहरू सिफारिस गरिरहँदा पनि मन्त्रालय तथा विभागले रोक्न नसकेको संघले आरोप लगाएको छ । डाक्टरहरू खुलेआम औषधि व्यवस्था विभागमा दर्ता नभएका उत्पादनहरू सिफारिस गरिरहेका छन्, तर मन्त्रालय र विभागले यसलाई रोक्न कुनै कदम चाल्न चाहिरहेको देखिँदैन। यदि औषधि ऐन, २०३५ सबैका लागि लागू हुन्छ भने, डाक्टरहरूलाई अपवाद किन बनाइएको छ ? मन्त्रालयले गैरकानुनी वस्तुहरूको प्रयोग रोक्न डाक्टरहरूलाई सचेत गराउनु पर्दैन ?’- विज्ञप्तीमा भनिएको छ ।

यस्ता उत्पादनहरू गैरकानुनी हुन् भने, डाक्टरहरूलाई सिफारिस गर्न नदिन पनि नेपाल फार्मेसी संघले स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । फार्मेसी व्यवसायीहरूलाई मात्र दण्डित गर्नु अन्याय हुने भन्दै आवश्यकता परे न्युट्रिस्युटिकल्स वस्तुहरूको र्‍याक खाली गरेर सरकारलाई प्रतिवेदन बुझाउन तयार रहेको पनि संघले भनेको छ । संघ सधैं गुणस्तरीय स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य सामग्रीप्रति सचेत र जिम्मेवार रहँदै आएको पनि उल्लेख गरेको छ ।

  • १७ माघ २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech